काठमाडौं । राष्ट्रिय गौरवको आयोजना काठमाडौँ तराई-मधेश द्रुतमार्ग (फास्ट ट्रयाक)को खोकना बाहेक अरु सबै खण्डको ठेक्का लगाइने भएको छ । आयोजना निर्माण गरिरहेको नेपाली सेनाले खोकना बाहेक ठेक्का लाग्न बाँकी ३ प्याकेजको ठेक्का आह्वान गरेको हो ।
कुल ७०.९७७ किलोमिटर लामो फास्ट ट्रयाकलाई ११ खण्डमा विभाजन गरी निर्माणको काम भइरहेको छ । सोमध्ये ७ प्याकेजको ठेक्का लागिसकेको छ । ठेक्का लाग्न बाँकी ४ प्याकेजमध्ये सेनाले ३ प्याकेजको ठेक्का आह्वान गरेको हो ।
नेपाल सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार प्याकेज नं. ८, ९ र १० को ठेक्का आह्वान गरिएको हो । जसमा प्याकेज नं. ८ र ९ लाई दुई/दुई खण्डमा विभाजन गरी र प्याकेज नं. १० को एउटै ठेक्का आह्वान गरिएको उनले बताए ।
‘हामीले ११ नम्बर प्याकेज खोकनामा बाहेक सबै खण्डको ठेक्का आह्वान गरिसकेका छौँ, यो आवभित्रै यी प्याकेजमा ठेक्का गाएर काम सुरू गर्नेछौँ,’ भण्डारीले चाण्कय पोष्टसँग भने ।
उनका अनुसार प्याकेज नं. ८ ए अन्तर्गत ३ वटा पुल, ८ बी अन्तर्गत ६ वटा पुल, सिसौचौर र देवीचौरमा दुईवटा सुरुङमार्ग निर्माणका लागि ठेक्का आह्वान गरिएको छ । त्यस्तै, प्याकेज नं. ९ ए अन्तर्गत सिस्नेरी खण्डमा ६ वटा पुल र ९ बी अन्तर्गत सिस्नेरी खण्डमै ३ वटा पुल र सडक निर्माणका लागि ठेक्का आह्वान गरिएको छ ।
त्यसैगरी, प्याकेजन नं. १० अन्तर्गत चन्द्राम भीर महादेवटार खण्डमा ५ वटा पुल र एउटा सुरुङमार्ग निर्माणका लागि ठेक्का आह्वान गरिएको छ । फास्ट ट्रयाकको प्रस्थानविन्दु खोकना–बुङमती खण्डमा मुआब्जा विवादका कारण जग्गा अधिग्रहण हुन नसक्दा ठेक्का लगाउन समस्या भएको प्रवक्ता भण्डारीले बताए । उनले खेकना जग्गा विवाद सुल्झाउन उच्च स्तरबाट पहल भइरहेको उनले बताए ।
अहिले ठेक्का आह्वान गरिएका खण्डको ठेक्का प्रक्रिया चाँडै सकी तुरुन्तै निर्माण थालिने तयारी रहेको उनले बताए । यी ठेक्का टुंगिएसँगै आयोजनाको ठेक्का प्रक्रिया ९५ प्रतिशत सकिने उनले बताए ।
आव २०७४/७५ देखि सुरु भएको आयोजना २०८१ भित्रै सम्पन्न गर्ने लक्ष्य राखिए पनि सम्पन्न नहुने भएपछि सरकारले २०८३ चैतसम्म म्याद थपेको छ । हालसम्म आयोजनाको २६ प्रतिशत भौतिक प्रगति भएको छ भने अब साढे ३ वर्षमा ७४ प्रतिशत काम सक्नुपर्नेछ ।
७०.९७७ किलोमिटर लामो यस सडकमा कुल १० किलोमिटरको ६ वटा सुरुङमार्ग निर्माण गरिने भएको छ । अहिले महादेवटारको सुरुङ ३.३५५ किलोमिटर, धेद्रेको १.६३० किलोमिटर र लेनडाँडाको १.४३० किलोमिटर सुरुङ खन्ने काम भइरहेको छ । संशोधित डीपीआर अनुसार देवीचौरमा १ किलोमिटर, सिसौटारमा ०.३९ किमी र चन्द्रामभीरमा २.२५ किलोमिटर सुरुङ निर्माण हुनेछ ।
आयोजनामा करिब ८९ वटा पुलहरू निर्माण गरिने छ । आयोजनाको संशोधित अनुमानित लागत २ खर्ब ११ अर्ब ९३ करोड ररुपैयाँ रहेको छ । चालु आर्थिक वर्षमा यस आयोजनालाई २२ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
ललितपुरको खोकनाबाट सुरु भई काठमाडौं, मकवानपुर हुँदै बाराको निजगढमा पुगेर पूर्वपश्चिम राजमार्गमा जोडिने छ । काठमाडौंलाई तराई मधेस हुँदै छिमेकी मुलुक भारतसँग जोड्ने छोटो, फराकिलो र सुविधा सम्पन्न द्रुतमार्ग निर्माणपछि काठमाडौंबाट निजगढसम्मको यात्राअवधि ५ घण्टाबाट घटेर एक घण्टामा सीमित रहने मात्र नभई इन्धन र समयसमेत बचत हुनेछ ।