काठमाडौं । उच्च अदालत पाटनले पूर्व अरनिको यातायात प्राइभेट लिमिटेडले काठमाडौंको जडिबुटीमा बनाएको बसपार्क नभत्काउन अल्पकालीन आदेश दिएको छ।
शुक्रबार न्यायाधीश गोकर्ण डाँगीको एकल इजलासले उक्त बसपार्क नभत्काउन काठमाडौं महानगरपालिकालाई आदेश दिएको हो ।
‘निवेदक कम्पनीले बसपार्क सञ्चालनका लागि व्यक्तिहरुको निजी जग्गा भाडामा लिई निर्माण गरेका संरचनाहरुलाई तोडफोड गर्ने तथा भत्काउने कार्य नगर्नु नगराउनु भनी मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५८ (२) (ख) तथा उच्च अदालत नियमावली, २०७३ को नियम ४२( १) (क) बमोजिम विपक्षीहरुका नाममा अल्पकालीन अन्तरिम आदेश गरिदिएको छ । आदेशको जानकारी विपक्षीहरुलाई दिनु,’ अदालतले भनेको छ ।
यस्तै, अदालतले १५ दिनभित्र जवाफ पेश गर्न महानगरलाई समय तोकेको छ । अदालतले दुवै पक्षलाई असोज २१ गते छलफलमा बोलाएको छ ।
काठमाडौं महानगरपालिकाले गत असारदेखि उपत्यकाबाहिर जाने सबै बस गोंगबुस्थित नयाँ बसपार्कबाट मात्रै छुट्नुपर्ने व्यवस्था लागू गरेको थियो । महानगरको उक्त व्यवस्थाले पूर्व जाने यात्रु र सवारीसाधनलाई असहज भएको भन्दै पूर्व अरनिकोले जडिबुटीमा १४ रोपनी जग्गा भाडामा लिइ करिब १० करोड खर्चेर बसपार्क बनाएको हो ।
प्रदेश र स्थानीय सरकारसँग अनुमति नै नलिई बसपार्क निर्माण गरेको भन्दै महानगरले बसपार्क अटेर गरी संचालन गरे भत्काउने चेतावनी दिएको थियो । महानगररको चेतावनीपछि पूर्व अरनिको अदालत गएको थियो ।
