होटल तथा पर्यटन व्यवसायमा बैंकको २ खर्ब लगानी, कुनको कति ?

काठमाडौं । होटल र पर्यटन क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले ऋण लगानी बढाउँदै लगेका छन् । देशभर ठूला होटल बनाउने क्रम बढेसँगै बैंकहरूले पनि लगानी बढाएका हुन् ।

होटल व्यवसायमा लगानीकर्ताको बढ्दो क्रेज, होटलमा गरिएको लगानी जोखिम कम हुने, कर्जा नतिरे पनि अन्य सम्पत्तिबाट असुल गर्न सकिने भएपछि बैंक्हरूले यस क्षेत्रमा धमाधम लगानी बढाएका हुन् ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउन मसान्तसम्म पर्यटन र होटल क्षेत्रमा बैंकहरूले २ खर्ब २ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । संस्थाहरूले पछिल्लो एक वर्षमा यो क्षेत्रमा कर्जा लगानी ८.८९ प्रतिशतले बढाएका छन् ।

२०७९ साउन मसान्तसम्म १ खर्ब ८५ अर्ब रुपैयाँ ऋण लगानी गरेकोमा चालु वर्षको सोही अवधिसम्म आइपुग्दा १६ अर्ब २३ करोड रुपैयाँले बढेको छ । बैंकहरूले होटल र पर्यटन क्षेत्रमा गरेको लगानी कुल कर्जा प्र्रवाहको ४.१६ प्रतिशत हिस्सा हो । यो अवधिसम्म संस्थाहरूले ४८ खर्ब ६१ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् ।

राष्ट्र बैंकका अनुसार बैंकहरूले पर्यटन क्षेत्र ट्रेकिङ, माउन्टेनिङ, रिसोर्ट र्याफ्टिङ र क्याम्पिङ लगायतमा २४ अर्ब ९५ करोड रुपैयाँ लगानी गरेका छन् भने होटल क्षेत्रमा १ खर्ब ७७ अर्ब रुपैयाँ ऋण लगानी गरेको तथ्यांकले देखाउँछ ।

पछिल्लो समय देशका विभिन्न पर्यटकीय गन्तव्यहरूमा चेन होटल तथा रिसोर्टहरू नयाँ बन्नेक्रम बढ्दो छ । सोही कारण यस्ता क्षेत्रहरूमा बैंकले पनि लगानी बढाइरहेका छन् । कोभिड अवधिमा ठप्पप्रायः भएको पर्यटन तथा होटल व्यवसायमा पछिल्ला दुई वर्षयता सुधार देखिएको छ । अहिले पनि अर्थतन्त्रमा आएको संकुचनका कारण होटल तथा पर्यटन व्यवसाय फस्टाउन नसकेको व्यवसायीहरू बताउँछन् ।

उनीहरूका अनुसार नयाँ लगानी बढ्न नसके पनि अघिल्ला वर्षहरूमा निर्माणाधीन संरचना बनिरहेका छन् । पछिल्ला दुई वर्षमा तीन दर्जन बढी स्टार होटल र क्यासिनोहरूले निर्माण तथा सञ्चालनको अनुमति लिएको पर्यटन विभागको तथ्यांक छ । कोभिड अवधिमा रोकिएका निर्माणाधिन होटल संरचनाहरू पनि अहिले पूर्ण हुने क्रममा छन् । कोभिपछि अनियन्त्रित लगानी र उपभोगले आर्थिक चक्र असन्तुलन भएको थियो । जसलाई ट्रयाकमा ल्याउन राष्ट्र बैंकले घरजग्गा, सेयर धितो, सावारी र उपभोग कर्जामा अंकुश लगाएको थियो । सोही कारण बैंकहरू ऋण लगानीका अन्य क्षेत्र तर्फ आकर्षण हुँदै गएका हुन् ।

राष्ट्र बैंकले कर्जा विविधीकरण गर्न लगानी क्षेत्र तोकेको छ । त्यसैअनुसार बैंकहरूले लगानी गर्दै आएका छन् । उत्पादनका क्षेत्रहरूमा लगानी बढाउने राष्ट्र बैंकको नीति भए पनि वस्तु आयात र उपभोगमै ठुलो हिस्सा ऋण जाने गरेको छ ।

पछिल्लो समय कृषि, पर्यटन, जलविद्युत, होटल तथा रेष्टुरेन्ट लगातका क्षेत्रहरू बैंकको लगानीको प्राथमिकतामा पर्न थालेको बैंकरहरू बताउँछन् ।

कुन बैंकको कति लगानी ?

चालु आवको पहिलो महिनासम्म होटल तथा पर्यटनमा वाणिज्य बैंकहरूले मात्रै १ खर्ब ८४ अर्ब रुपैयाँ लगानी गरेका छन् । आव २०७४/७५ सम्म ९८ अर्ब ५ करोड रहेकोमा यस अवधिमा दोब्बरभन्दा बढीले बढेको देखिन्छ ।

होटलमा सबैभन्दा धेरै लगानी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २३ अर्ब ६६ करोड रुपैयाँ लगानी रहेको छ । यस्तै, ग्लोबल आइएमई बैंकको १६ अर्ब रुपैयाँ कर्जा लगानी रहेको छ ।

यसैगरी, प्रभुले १४ अर्ब ९५ करोड, कुमारी १४ अर्ब ३४ करोड, प्राइम १४ अर्ब २१ करोड, राष्ट्रिय वाणिज्य बैंकले १२ अर्ब, हिमालयन ११, लक्ष्मी सनराइज र नबिल ९/९, नेपाल ८ , सिद्धार्थ बैंकले ७ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् ।

होटल तथा पर्यटन क्षेत्रमा सबैभन्दा कम लगानी स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ अर्ब ४० करोड रुपैयाँ ऋण लगानी गरेको छ । सिटिजन बैंकले २ अर्ब ८८ करोड, एभरेष्ट बैंकले ३ अर्ब, माछापुच्छ्रे, सानिमा, कृषि विकास बैंकले ४/४ अर्ब, एनएमबी, एसबीआई र एनआइसी एसिया बैंकले ६/६ अर्ब रुपैयाँ बढी कर्जा लगानी गरेका छन् ।

 

ग्लोबल आइएमई बैंकको ६६ औं एक्सटेन्सन काउन्टर गुल्मीको इन्द्रेगौंडामा Read Previous

ग्लोबल आइएमई बैंकको ६६ औं एक्सटेन्सन काउन्टर गुल्मीको इन्द्रेगौंडामा

विदेशबाट फर्केर केरा खेती, वार्षिक १६ लाखसम्म कमाइ Read Next

विदेशबाट फर्केर केरा खेती, वार्षिक १६ लाखसम्म कमाइ