अर्थतन्त्र सुदृढ बनाउने जिम्मेवारी राष्ट्र बैंकको भन्ने भाष्य बनाउँदा चुनौती बढ्यो : गभर्नर

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन)ले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेको छ ।

समग्र अर्थतन्त्र र आर्थिक गतिविधिलाई चलायमान बनाउने विषयमा सीबीफीनका अध्यक्ष पवन कुमार गोल्यानको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष भेटघाट तथा छलफल गरेको हो ।

सोमबार राष्ट्र बैंकको कार्यालयमा गभर्नर र सीबीफीन बीच भएको छलफल आर्थिक गतिविधि अपेक्षितरुपमा चलायमान हुन नसक्नुका कारण, समस्या र समाधानका संभावित उपायका विषयमा केन्द्रित रहेको सीबीफीनले जनाएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनाको तथ्यांक अनुसार अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार देखिए पनि आन्तरिक भने सुधार हुन सकेको छैन ।

छलफलमा अध्यक्ष गोल्यानले आन्तरिक उत्पादन, उत्पादनमूलक क्षेत्रमा लगानीको अवस्था, पूँजीगत खर्च, आयात, रोजगारी, मुद्रास्फिती जस्ता क्षेत्रहरुमा सुधार नदेखिनुले अर्थतन्त्र अझै जोखिमपूर्ण अवस्थामा रहेको भन्दै गभर्नरको ध्यानाकर्षण गराए ।

अहिलेको अवस्थामा विश्वासिलो वातावरण र समय सान्दर्भिक नीतिगत व्यवस्थाले मात्र आशा, उत्साह, उत्प्रेरणा जगाउने र समग्र आर्थिक क्रियाकलापहरुले गतिशिलता प्राप्त गर्ने उनले बताए ।

गोल्यानले बाफियाको व्यवस्था बमोजिम संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण गर्न पाउने व्यवस्था, चालू पूँजी कर्जामा सुधार, उत्पादनमूलक र अन्य क्षेत्रमा दोहोरो ब्याजदरको व्यवस्था, बैंक तथा वित्तीय संस्थाको बढ्दो संचालन खर्च र साँघुरिदो लाभांश लगायतका विषयमा गभर्नरलाई लिखित सुझाव पत्र दिए ।

उनले सीबीफीनको पहलमा सातै प्रदेशमा बिजनेश समिट आयोजना हुन लागेको र उक्त समिटमा राष्ट्र बैंकको सहभागिताका लागि आग्रह गरे । छलफलमा गभर्नर अधिकारीले बाह्य परिसूचकहरुमा सन्तोषजनक सुधार देखिदै गएको र देशको अर्थतन्त्र क्रमशः लयमा फर्किदै गरेको बताए ।

उनले आवश्यकता, समय सन्दर्भ र वस्तुस्थितिको मूल्याङ्ककनका आधारमा राष्ट्र बैंकले नीतिगत सुधारका उपायहरु अपनाउँदै जाने आश्वासन दिए । राष्ट्र बैंकप्रति सबैं क्षेत्रको आशा र भरोसा बढ्दै गएको र समग्र अर्थतन्त्रलाई सुदृढ बनाउने जिम्मेवारी राष्ट्र बैंकको भएको भन्ने भाष्य निर्माण गरिँदा चुनौती बढेको उल्लेख उनले बताए ।

गभर्नर अधिकारीले तंग्रिदै गरेको अर्थतन्त्रलाई थप गतिशिल बनाउने कार्यमा सबै सरोकारवाला पक्षहरु उत्तिकै गम्भीर र जिम्मेवार हुन आवश्यक रहेको औल्याए ।

राष्ट्रिय र अन्तराष्र्टि«य रुपमा देखापरेका संकटका बेला अर्थतन्त्र, आम उद्यम व्यवसाय र जनजीविकाको सहजताका लागि राष्ट्र बैंकले लिएका लचिला नीतिको दुरुपयोग भएकोप्रति चासो व्यक्त गर्दै, त्यस्ता क्रियाकलाप हुन नदिने विषयमा राष्ट्र बैंक सचेत रहेको गभर्नर अधिकारीले उल्लेख गरे ।

सीबीफीनले संस्थागतरुपमा समसामयिक विषयहरुमा आवश्यकता अनुसार छलफल तथा बहस चलाउँदै आएको कार्यप्रति धन्यवाद गर्दै राष्ट्र बैंकले समयानुकुल निर्णय लिने उनले बताए ।

छलफलमा राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय डा. निलम ढुंगाना तिम्सिना, बम बहादुर मिश्र, कार्यकारी निर्देशक गुणाकर भट्ट, निर्देशक मुक्ति सापकोटा र सिबिफिनकोतर्फबाट बरिष्ठ उपाध्यक्ष भोजबहादुर शाह, सचिव कुश प्रसाद मल्ली, कार्यकारी सदस्यहरु उपेन्द्र प्रसाद पौडेल, लिला प्रकाश सिटौला मोतीलाल दुगड, दिनेशराज जोशीलगायतको सहभागिता रहेको थियो ।

सरकारले दिएन साँगा-धुलिखेल सडकको भुक्तानी, काम रोक्ने ठेकेदारको चेतावनी Read Previous

सरकारले दिएन साँगा-धुलिखेल सडकको भुक्तानी, काम रोक्ने ठेकेदारको चेतावनी

‘सरकारी नीतिका कारण ५९ लाख सेयर लगानीकर्ता सडकमा आए’ Read Next

‘सरकारी नीतिका कारण ५९ लाख सेयर लगानीकर्ता सडकमा आए’