उद्घाटन भएको अढाई वर्षमा पनि सकिएन धरहरा पुनर्निर्माण, अझै १२% काम बाँकी

काठमाडौं । २ वर्ष भित्र सम्पन्न गर्नेगरी २०७५ पुसदेखि पुनर्निर्माण थालिएको धरहरा उद्घाटन भएको साढे वर्ष बित्दा समेत सम्पन्न हुन सकेको छैन । २०७८ वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीले आधा काम बाँकी हुँदै उद्घाटन गरेको धरहरा पटक पटक म्याद थप्दा समेत अझै पूरा हुन नसकेको हो ।

धरहरा पुन निर्माण अन्तर्गत मुख्य संरचना निर्माण सम्पन्न भए पनि फिनसिङको काम बाँकी छ । समग्रमा हालसम्म ८८ प्रतिशत काम सम्पन्न भएको छ भने अझै १२ प्रतिशत काम बाँकी छ । धरहरा पनर्निर्माणको ठेक्का पाएको रमन कन्ष्ट्रक्सनका सञ्चालक रमन महत्तोले पुषसम्ममा धरहराको म्यूजियम बाहेकको काम सक्ने बताए ।

उनले धरहरा निर्माणका बाहिरी संरचना निर्माण हुने काम भइरहेको बताए । धरहरा निर्माणका क्रममा विद्युतीय उपकरणहरू धेरै थप्नु पर्ने भएकोले समयमा पूरा हुन नसकेको बताए । सुरूमा सम्झौता भए अनुसारको संरचना अबको २ महिनामा पूरा हुने भन्दै उनले निर्माणमा थपिएका डिजाइनहरू बनाउन अझै समय लाग्ने बताए ।

‘सुरूमा भएको सम्झौता अनुसार मात्र निर्माण गर्नुपर्ने भए हामीले २ वर्ष अगाडि सक्ने थियौँ, तर सरकारी निकायका मान्छेले घरी के थप्ने घरी के थप्ने भन्दा भन्दै डिजाइनको आधाभन्दा बढि परिमार्जन गरिसके,’ महत्तोले चाणक्य पोष्टसँग भने ‘यो थप भनेर मात्र हुँदैन, त्यसको स्वीकृति पाउनु पर्यो, स्वीकृति दिनै ३ देखि ६ महिना लगाउँछन् । सरकारी काम न पर्यो, अनि हामीले मात्र बनाउछु सक्छु भनेर मात्र नहुने रहेछ ।’

उनले सुरूमा भएको सम्झौता अनुसार लाइटनिङ, म्यूजियम लगायतका कुरा नभएको बताए । उनका अनुसार अब निर्माण हुने डिजाइनका लागि ६० प्रतिशत वस्तु तेस्रो मुलुकबाट आयात गर्नुपर्ने हुन्छ । सो वस्तु आयात गर्नका लागि समेत विभागबाट स्वीकृति लिनुपर्ने व्यवस्था सरकारी निकायबाटै ढिलाइ हुने गरेको उनले बताए ।

म्यूजियम बनाउन ९० प्रतिशत वस्तु आयात गर्नुपर्ने उनले बताए । त्यसमा फल सिलिङ , पेन्ट, लाइट, भुइँको काम बाँकी रहेको छ । सिलिङको काम सकेपछि लाइटको काम गर्नुपर्ने भएकाले सो सम्पन्न भई वाल, पेन्ट र भुइँको काम सुरू नहुने उनले बताए ।

‘काम स्टेप बाई स्टेप गर्नुपर्ने हुन्छ, सिलिङको काम सकेपछि लाइट हाल्ने तारको काम गर्नुपर्ने त्यसको उपकरणको स्वीकृति लिन समय लागि रहेको छ, १ महिनामा स्वीकृति पाए आयात गरेर बनाउन सुरू गर्ने थियौँ,’ महत्तोले भने ।

उनले धरहरा सबै निर्माण गरिसकेपछि मात्र शहरी विकास तथा भवन निर्माण विभागलाई हस्तान्तरण गरिने बताए । हस्तान्तरण पछि विभागले नै यसको सञ्चालन र धरहरा चढ्ने मूल्य र सेवा सुविधाको व्यवस्था गर्नेछ ।

हाल धरहरामा कुल २०० बढि जनशक्तिले काम गरिरहेको छन् । महत्तोका अनुसार दशैँमा समेत धरहराको काम निरन्तर चल्ने छ । उनले केहीले विदा लिने भए पनि काम निरन्तर गरिरहने बताए ।

सामान्यतया कुनै पनि आयोजना निर्माण सम्पन्न भइसकेपछि उद्घाटन गरिने भए पनि शिलालेखमा आफ्नो नाम लेखाउने ओलीको हुटहुटीका कारण सम्पन्न अगावै उद्घाटन गरिएको थियो ।

अझै के के काम बाँकी छ ?

धरहरामा फिनिसिङ, रंगरोगन, विद्युत जडान तथा अन्य प्राविधिक कामहरू अझै बाँकी रहेको छ । त्यस्तै, प्रशासनिक भवन, संग्रहालय, सडक मर्मत लगायतका काम पनि बाँकी रहेको आयोजनाले जनाएको छ ।

धरहराभित्र बगैंचा बनाउने काम, लाइटिङ, भूकम्पमा भत्किएको पुरानो धरहराको बाँकी भागलाई सिसाभित्र राख्ने लगायत काम बाँकी रहेको महत्तोले बताए । उनका अनुसार धरहरा निर्माण भइसके पनि वरिपरी सौन्दर्यकरण, मण्डला पोण्ड, वाटर फाउनटेन लगायतको काम सम्पन्न हुन बाँकी छ ।

५ रोपनी क्षेत्रफलमा रहेको धरहरा परिसर अहिले ४२ रोपनीमा फैलिएको छ । २२ तले धरहराको तीन तल्लासम्म पार्किङको व्यवस्था हुनेछ । यहाँ सबैले सशुल्क पार्किङको सुविधा पाउनेछन् । पार्किङकमा एक पटकमा चार पाङ्ग्रे गाडी ३४७ वटा र कम्तीमा ७०० मोटरसाइकल अट्नेछन् ।

हालसम्म धरहरा निर्माणका क्रममा साढे २ अर्ब रुपैयाँ बढि रकम खर्च भइसकेको छ । धरहरा निर्माण आयोजनाको कुल लागत ३ अर्ब ४८ करोड रुपैयाँ रहेको छ ।

विगतमा पुनर्निर्माण प्राधिकरणले जिम्मा लिएको धरहरा पुनर्निर्माणको काम हाल शहरी विकास तथा भवन निर्माण विभागलाई सुम्पिएको छ । धरहरा पुननिर्माण पछि सञ्चालनका लागि काठमाडौं महानगरपालिकालाई जिम्मा लगाइने छ ।

 

नेप्सेमा दोहोरो अंकको कमब्याक, यी ६ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Previous

नेप्सेमा दोहोरो अंकको कमब्याक, यी ६ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

दशैंका लागि सुपथ मूल्य पसल असोज २१ देखि, यी ९८ स्थानमा संचालन हुने Read Next

दशैंका लागि सुपथ मूल्य पसल असोज २१ देखि, यी ९८ स्थानमा संचालन हुने