आवासीय घर कर्जा लगानीमा आक्रमक बन्दै बैंक, एक महिनामै दिए ११ अर्ब ऋण

काठमाडौं । आवासीय (व्यक्तिगत) घर कर्जामा बैंक तथा वित्तीय संस्थाले लगानी बढाउन थालेका छन् । बैंकिङ प्रणालीमा तरलता थुप्रिरहँदा लगानी बढाउनुपर्ने दबाबमा रहेका बैंकहरूले घरजग्गामा गरिएको नीतिगत लचकतासँगै धमाधम ऋण लगानी गर्न थालेको हुन् ।

पछिल्लो एक महिनामा मात्रै बैंक तथा वित्तीय संस्थाले ११ अर्ब घर कर्जा लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार साउनमा समग्र बैंकिङ प्रणालीमा कर्जा लगानी १९ अर्बले घट्दा व्यक्तिगत घर कर्जा भने ११ अर्बले बढेको छ ।

गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत घर कर्जामा ३ खर्ब ४८ अर्ब रुपैयाँ लगानी गरेकोमा साउनमा १० अर्ब ६४ करोड रुपैयाँले बढाएर ३ खर्ब ५९ अर्ब रुपैयाँ पुर्याएका छन् । यो महिना आवसीय घर कर्जा ३.०५ प्रतिशतले वृद्धि भएको हो ।

कर्जा लगानीमा नियामक निकायले लिएको केही नीगित लचकता र माग वृद्धिले आवासीय कर्जा वृद्धि भएको बैंकरहरू बताउँछन् । घरजग्गामा सरकार र राष्ट्र बैंकले यसअघि गरेको कडाइ खुकुलो बनाएसँगै ऋण लगानी बढ्न थालेको हो । राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिमार्फत व्यक्तिगत घरकर्जाको सी बढाउनुको साथै जोखिम भारसमेत घटाएको थियो ।

राष्ट्र बैंकले व्यक्तिगत आवासीय कर्जाको सीमा डेढ करोड रुपैयाँबाट बढाएर २ करोड रुपैयाँ कायम गरेको थियो । घर कर्जा लगानीमा गरेको यस नीतिगत लचकताले बैंक तथा वित्तीय संस्थालाई ऋण प्रवाहमा सहजता भएको छ । जसको कारण एकै महिना आवासीय कर्जा ह्वात्तै बढाएका छन् ।

यस्तै, सरकारले २०७९ जेठदेखि भू उपयोग नियमावली लागू गर्दै कित्ताकाटमा कडाइ गरेको थियो । त्यसपछि घरजग्गाको व्यवसायमा चरममन्दी आउँदा समग्र अर्थतन्त्रमै समस्या आएको भन्दै गत साउनदेखि कित्ताकाटमा खुकुलो बनाएको छ । जसले क्रमशः घरजग्गा व्यवसायमा सुधार आउने अपेक्षा छ ।

गत वर्षको मध्यदेखि कर्जाको माग नहुँदा व्यवसाय विस्ता गर्न नसकेका बैंक तथा वित्तीय संस्थाहरू अहिले कर्जा लगानीमा आक्रमक हुन थालेका छन् । अहिले बैंकिङ प्रणालीमा झन्डै ४ खर्ब रुपैयाँ तरलता थुप्रिएको छ । आर्थिक शिथिलताका कारण बजारमा उपभोग्य वस्तुको माग बढ्न नसक्दा उत्पादनमूल, व्यापार क्षेत्रमा कर्जाको माग बढ्न सकेको छैन । अन्य क्षेत्रमा कर्जाको माग आएपछि नीतिगत लचकताको फाइदा उठाउँदै बैंकहरूले घरजग्गा र अटो क्षेत्रमा कर्जा लगानीमा आक्रमक हुन थालेका छन् । बैंकहरूले घर र सवारी कर्जामा सस्तो ब्याजदरका स्कीम ल्याएरै ऋण दिन प्रतिस्पर्धामा उत्रिएका छन् ।

अघिल्लो वर्षदेखि अर्थतन्त्रको बाह्य क्षेत्रमा परेको चाप र वित्तीय प्रणालीको तरलता संकट कम गर्न राष्ट्र बैंकले घरजग्गा, सेयर बजार र सवारी साधन लगायतका क्षेत्रमा हुने कर्जा लगानीमा कडाइ गरेको थियो । सोही कारण गत वर्ष सामान्य वृद्धि भएको ऋण प्रवाह यस वर्ष भने तरलता सहज र नीगित अंकुस हटाएका कारण वृद्धि हुने देखिएको छ ।

राष्ट्र बैंकले चालु वर्षमा सेयर धितो कर्जा, हायरपर्चेज कर्जा र रियल स्टेट क्षेत्रमा कर्जा लगानी गर्न बैंक तथा वित्तीय संस्थालाई जोखिमभार पुनरावलोकन गरेर सहज बनाएको छ । बैंकहरूले चालु वर्षसम्मको साउनसम्म रियलस्टेट र व्यक्तिगत आवासीय गरेर घरजग्गा क्षेत्रमा ५ खर्ब ९९ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । जसमा २ खर्ब ४० अर्ब रुपैयाँ रियल स्टेटमा ऋण प्रवाह गरेको तथ्यांकले देखाउँछ ।

बजारमा करिब दुई दर्जन राइड सेयरिङ कम्पनी, नियमन गर्न छैन कानुन  Read Previous

बजारमा करिब दुई दर्जन राइड सेयरिङ कम्पनी, नियमन गर्न छैन कानुन 

चीनसँग २२० केभी क्षमताको प्रसारण लाइन निर्माणमा समझदारी Read Next

चीनसँग २२० केभी क्षमताको प्रसारण लाइन निर्माणमा समझदारी