असोज १० गतेदेखि भृकुटीमण्डपमा फर्निचर एक्स्पो हुने

काठमाडौं । असोज १० गतेदेखि भृकुटीमण्डपमा नवौँ संस्करणको फर्निचर प्रदर्शनी (फर्निचर एन्ड फर्निसिङ एक्स्पो २०२३) सुरु हुने भएको छ ।

नेपाल फर्निचर तथा फर्निसिङ सङ्घले आज पत्रकार सम्मेलनमार्फत प्रदर्शनीबारे जानकारी दिएको हो । प्रदर्शनी पाँच दिनसम्म चल्नेछ । प्रदर्शनीका लागि अधिकांश स्टल बुकिङ भइसकेको आयोजकले जनाएको छ ।

नेपालको फर्निचर तथा फर्निसिङ बजारको उत्थान गर्दै स्वदेशमै उत्पादित वस्तु तथा सेवालाई एउटै छानामुनि प्रदर्शनीमा ल्याउने उद्देश्यका साथ प्रदर्शनी आयोजना गरिएको सङ्घका अध्यक्ष दिनेश अग्रवालले जानकारी दिए ।

‘आर्थिक गतिविधि सुस्त भइरहेका बेला एक्स्पोले बजारमा आर्थिक क्रियाकलाप चलायमान बनाउन सघाउने विश्वास लिएका छौँ,’ अध्यक्ष अग्रवालले भने ।

फर्निचर तथा फर्निसिङ सामग्री बिक्रेता, उत्पादक, आयातकर्ता, वितरक, मेसेरेनरी तथा प्रविधि हस्तान्तरण, डिलर व्यवसायीलगायतका सयभन्दा बढी स्टल प्रदर्शनीमा रहनेछन् । प्रदर्शनीमा प्रवेश निःशुल्क गरिएको छ ।

नेपालमा उत्पादित फर्निचर सामग्रीलाई प्रवर्द्धन तथा बजारीकरण गर्नु प्रदर्शनीको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ । प्रदर्शनीस्थलमा सामान खरिद गर्नका लागि खुला बजार पनि सञ्चालन हुनेछ ।

पचास हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको एक्स्पोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त ब्राण्डको सहभागिता रहनेछ । प्रदर्शनीस्थलमा वास्तु तथा इन्टेरियर डिजाइनका लागि विशेष परामर्श सेवा पनि उपलब्ध हुने आयोजकले जनाएको छ ।

हेलो सरकार २४ घण्टा सञ्चालनमा आएपछि थप प्रभावकारी Read Previous

हेलो सरकार २४ घण्टा सञ्चालनमा आएपछि थप प्रभावकारी

राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीले उठाए आर्थिक विकासदेखि जलवायु परिवर्तनको विषय Read Next

राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीले उठाए आर्थिक विकासदेखि जलवायु परिवर्तनको विषय