काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को सुरुआती दुई महिनामा कुल लक्ष्यको करिब साढे १० प्रतिशत राजस्व संकलन गरेको छ ।
महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार भदौ मसान्तसम्ममा सरकारले कुल लक्षयको १०.४७ प्रतिशत आम्दानी गरेको हो । चालु आवका लागि सरकारले कुल रू १४ खर्ब ७२ अर्ब ४८ लाख बराबर बजेट छुट्याउने लक्ष्य राखेकोमा भदौ मसान्तसम्ममा रू १ खर्ब ५४ अर्ब २३ करोड ५९ लाख बराबर राजस्व उठेको छ ।
कर राजस्व वार्षिक लक्ष्यको ९.८ प्रतिशत अर्थात रू १ खर्ब २७ अर्ब ९५ करोड ६७ लाख र गैरकर राजस्व लक्ष्यको ११.२१ प्रतिशत अर्थात् रू १३ अर्ब १२ करोड बराबर उठेको छ । यो अवधिमा सरकारले वैदेशिक अनुदान भने लिएको देखिँदैन ।
त्यस्तै, सरकारले खुई महिनामा लक्ष्यको ७.४९ प्रतिशत खर्च गरेको छ । भदौ मसान्तसम्ममा सरकारले रू १ खर्ब ३१ अर्ब १४ करोड १३ लाख बराबर बजेट खर्च गरेको छ ।
सरकारले चालु आवका लागि कुल रू १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट ल्याएको थियो । सोमध्ये चालु शीर्षकमा रू ११ खर्ब ४१ अर्ब ७८ करोड विनियोजन भएकोमा हालसम्म ७.६८ प्रतिशत अर्थात् रू ८७ अर्ब ६६ करोड ३५ लाख बराबर रहेको छ ।
पूँजीगत शीर्षकमा २.७ प्रतिशत मात्रै बजेट खर्च भएको छ । यो शीर्षकमा रू ३ खर्ब २ अर्ब सात करोड बराबरको बजेट छुट्याइएकोमा भदौ मसान्तसम्ममा रू ८ अर्ब १६ करोड ३९ लाख बराबर बजेट खर्च भएको छ ।
वित्तीय व्यवस्थापन शीर्षकको बजेट खर्च वार्षिक लक्ष्यको ११.४९ प्रतिशत बराबर छ । मुख्यगरी सरकारी ऋण तिर्नका लागि प्रयोग हुने वित्तीय व्यवस्थापनतर्फको बजेट चालु आवका लागि रू ३ खर्ब ७ अर्ब ४५ करोड बराबर छ । पछिल्लो दुई महिना अवधिमा वित्तीय व्यवस्थापन शीर्षकबाट रू ३५ अर्ब ५१ करोड ३९ लाख खर्च भएको छ ।