काठमाडौं । पछिल्लो समय देशभर पर्यटक आकर्षित गर्न फरक शैलीका पर्यटकीय संरचना बनाउने क्रम बढ्दो छ । अत्याधुनिक सुविधा र डिजाइनका होटल, रिसोर्टदेखि स्काइ टाइवर, सिसाका पुल, स्वीङलगायत साहसिक पर्यटकीय पूर्वाधार बन्ने क्रम बढ्दो छ ।
भौतिक पूर्वाधारसँगै पर्यटकलाई फरक अनुभूत गराउन फरक शैली र विशेषता भएका मौलिक होटल, रिसोर्ट, रेष्टुरेन्ट बनाउने ट्रेन्ड देशभर फैलिँदै गएको छ ।
यसैक्रममा, पर्यटकीय राजधानी पोखरामा थपिएको छ फरक विशेषता भएको ‘नयाँ गाउँ’ रिसोर्ट । सयौं संख्यामा सुविधायुक्त रेष्टुरेन्ट, रिसोर्ट, होटल संचालनमा रहेको पोखरामा पर्यटकलाई अर्ग्यानिक स्वाद दिलाउन नयाँ गाउँ रिसोर्ट संचालनमा आएको हो
साराङकोटमा प्राकृतिक विशेषतासहितको आकर्षक रिसोर्ट डीटीएल एग्रो टुरिजम फार्मले सञ्चालनमा ल्याएको छ । यस रिसोर्टबाट प्राकृतिक सुन्दरता, ताल, हिमालको मनमोहक दृश्य हेर्न सकिने छ । एग्रोटुरिजम कन्सेप्टमा खुलेको उक्त रिसोर्टमा एड्भेन्चर गतिविधिको पनि आनन्द लिन सकिन्छ ।

अहिले सफ्ट ओपनिङ गरेको रिसोर्टले सहुलियतमा खान र बस्ने सुविधा उपलब्ध गराइरहेको छ । दशैंतिहारको बीचमा ग्रान्ड ओपनिङको तयारीमा रहेको रिसोर्टका सञ्चालक अभिनव धिताल बताउँछन् ।
‘अहिले सफ्ट ओपनिङ मात्रै गरेका छौं । ग्रान्ड ओपनिङ दशैंतिहारको बीचमा गर्ने तयारीमा छौं,’ उनले भने । २०० रोपनी क्षेत्रफलमा फैलिएको यस रिसोर्टले विभिन्न कृषिजन्य वस्तुहरू समेत उत्पादन गरिरहेकोे छ ।
पोखराको विन्धवासीनी चोकबाट जम्मा ६ किलोमिटरको दूरीमा रहेको साँराङकोटमा अवस्थित रिसोर्टबाट फेवातालको मनमोहक भ्यूको साथै पोखरा उपत्यकको नाइट भ्यूको चमक हेर्न सकिने उनले बताए । ‘रिसोर्टमा रहेका ट्री हाउसबाट पोखराको नाइट तथा डेको आकर्षक दृश्य नियाल्न सकिन्छ । यसका साथै प्राकृतिक तथा कृषिजन्य वस्तुहरूसँग रमाउन सकिने सुविधा पनि छ,’ उनी भन्छन् ।
अहिले रिसोर्टमा ५० प्रतिशतसम्म डिस्काउन्टमा पर्यटकहरूले खान बस्ने सुविधा पाउने छन् । उनका अनुसार प्रतिव्यक्ति ब्रेकफास्ट तथा डिनरसहित एक रातकाे २५०० र कप्पलकाेलागि ३५०० रुपैयाँ शुल्क रहेको छ ।
९ ओटा भिल्ला रहेको रिसोर्टमा ३०/३५ जना बास बस्न मिल्ने ठाउँ रहेको छ । रिसोर्टको यही विशेषता हेर्न र आनन्द लिन आउने पर्यटकको संख्या प्रिओपनिङमै बढ्दो क्रममा रहेको उनले बताए ।
‘अहिले प्रिओपनिङ नै भएकाले धेरै मान्छेको भीड छैन । तर, आउनेक्रम बढ्दै गएको छ,’ धिताल भन्छन् । उनका अनुसार पर्यटकको लागि पोखराबाट रिसोर्टसम्म गाडीको समेत व्यवस्था छ । यसका अतिरिक्त पार्किङ स्पेस पनि प्रशस्त छ ।
मुख्य विशेषता
यस रिसोर्टको मुख्य विशेषता भनेकै अर्गानिक र प्राकृतिक खानेकुरा तथा सजावट भएको धिताल बताउँछन् । पाहुनाले रिसोर्ट भित्रै उत्पादिन वस्तु खाना पाउने छन् ।
नन्भेज आइटममा स्थानीय खसी, बोका, कालिज, लोकल कुखुरा, खरायो लगायतको मासुबाट बनेका परिकारहरू पाइन्छन् । भेजमा सिजनल अर्गानिक हरियो तरकारीहरू, मह, दही, घिउ, मही लगायतका परिकारहरू रहेको उनले बताए ।

‘हाम्रो मुख्य विशेषता भनेकै प्राकृतिक खानेकुरा हो । नन् भेजहरूको लागि अर्गानिक कालिज, लोकल कुखुरा, खरायो, खसी, बोका लगायतको मासुको परिकार छ भने भेजहरूका लागि पनि त्यही अनुसार उपलब्ध छ,’ उनले भने ।

अलैँची, किवी, कटहर, आँप, एभोकाँडो लगायत फलफूलका बोटहरू पनि छन् । आफैंले उत्पादन गरेको माछा, मासुका अन्य परिकार, प्राकृतिक खानेकुराहरू गरी ४५ भन्दा बढी मेन्यू आइटम रहेका छन् ।
स्पेसल एड्भेन्चर
पर्यटकहरूले रिसोर्टमा अर्गानिक खानेकुरासँगै विभिन्न एडभेन्चर गतिविधिको आनन्द लिनसक्ने छन् । ‘एड्भेन्चर र टुरिजमलाई मिक्स गरेर प्राकृतिक वस्तुहरूको विशेषतासहित हामीले रिसोर्ट सञ्चालनमा ल्याएका हौं,’ उनले भने ।

एड्भेन्चर गुफा, बाघको ओडार, चिल्ड्रेन पार्क रहेका छन् । प्राकृतिक हिसाबले स्पेसल छ भने इन्भाइरोमेन्टल हिसाबले बच्चाबच्ची, वृद्धवृद्धाहरूका लागि आकर्षक छ । रिसोर्टमा सिंगल स्वीङ, एराेप्लेन स्वीङ, स्काइट्री वाक लगायत आकर्षक र आनन्ददायी एड्भेन्चर साधनहरू पनि रहेका छन् ।

थप योजना
पर्यटक आकर्षणका लागि रिसाेर्टले थप एड्भेन्चर संरचनाहरू निर्माण गर्ने योजना बनाएकाे छ । नेचुरल वस्तुहरूको अवलोकन, अर्गानिक खाना र साहसिक खेलहरूमा आकर्षण रहेकाले रिसोर्टले स्काइ वाक, जीपलाइन, साइक्लिङ लगायतका एड्भेन्चर पूर्वाधारहरू थप्ने भएको हो ।
‘हामी रक क्लाइम्बिङ, स्काई स्वीङ, जीपलाइन, स्काइ साइक्लिङ, स्काइ वाक, स्काइ ह्यांगिङ क्याफे लगायतका आकर्षक र एड्भेन्चर संचनाहरू निर्माणको थप योजनामा छौं,’ उनले भने ।
उनका अनुसार नेचुरल खानेकुरा, कृषिजन्य उत्पादन तथा वस्तुहरू र एड्भेन्चर कुराहरूमा पर्यटकको आकर्षण हुने गरेको छ । यिनै पर्यटकको रोजाइमा पर्ने गरेको उनको अनुभव छ ।




