काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो आसन्न चीन भ्रमणबाट नेपाल–चीनबीच विद्यमान द्विपक्षीय सम्बन्ध थप उच्च र प्रगाढ हुने विश्वास व्यक्त गरेका छन् ।
जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण र संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी हुनुपूर्व संसद्लाई जानकारी गराउँदै उनले भ्रमणलाई नेपाल र नेपाली जनताको हित एवं नेपाल चीन सम्बन्धलाई थप मजबुत तुल्याउन प्रयास गर्ने बताएका हुन् ।
नेपालको प्रधानमन्त्रीको हैसियतमा आफ्नो यो तेस्रो चीन भ्रमण भएको उल्लेख गर्दै उहाँले कोभिड महामारीपछि प्रधानमन्त्रीको स्तरमा हुने पहिलो उच्चस्तरीय भ्रमणले नेपाल र चीन बीचको द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने बताए ।
‘नेपालको पूर्वाधार विकास, कृषि, ऊर्जा, पर्यटन, स्वास्थ्य, शिक्षालगायत विविध क्षेत्रमा छिमेकी मित्रराष्ट्र चीनबाट प्राप्त सहयोगबारे छलफल हुनेछ,’ उनले भने, ‘भ्रमणका क्रममा कोभिडको कारण नियमित हुन नसकेका द्विपक्षीय व्यापार नाका र परम्परागत सीमा नाकाहरू खोल्ने विषयमा समेत कुराकानी हुनेछ ।’
चीनको औपचारिक भ्रमणबाट दुई देशबीच रहिआएको परम्परागत घनिष्ठ र सहयोगात्मक सम्बन्ध थप सुदृढ हुने तथा आपसी सहयोगका क्षेत्रहरू थप विस्तार हुँदै जाने विश्वास व्यक्त गरे ।
सङ्घीयता लागू भएपछिको दोस्रो आमनिर्वाचनपश्चात बनेको सरकार प्रमुखको हैसियतमा आफूले संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने र नेपालको चासोका विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष राख्ने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले शान्ति, दिगो विकास, जलवायु परिवर्तन जस्ता क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोग र सद्भाव हासिल गर्न सहयोगी हुने विश्वास व्यक्त गरे।
संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधनपश्चात् आगामी असोज ५ गते चीनको औपचारिक भ्रमणका लागि हाङजाउ जाने कार्यक्रम तय भएको उनले जानकारी दिए । ‘संयुक्त राष्ट्रसङ्घमा गर्ने सम्बोधन र चीन भ्रमणको तालिकाबीच अत्यन्त छोटो समय रहेका कारण म न्युयोर्कबाट सिधै छिमेकी मित्रराष्ट्र चीनको भ्रमणमा जानुपर्ने परिस्थिति बन्न गएको हो,’ उनले भने ।