काठमाडौं । प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा मोरङ्ग जिल्ला प्रशासन कार्यलयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । सो काउण्टरको बिहीबार प्रमुख जिल्ला अधिकृत मदन भुजेलले एक समारोहबीच समुद्घाट्न गरेका हुन् ।
जिल्ला प्रशासन कार्यलयमा आउने सेवाग्राहीहरुले अब विना झण्झट बैंकको एक्स्टेन्सन काउण्टरमा रकम जम्मा गरी सरल र सहज रुपमा काम गर्न सक्नेछन् ।
नेपाल राष्ट्र बैंक तथा अन्य निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले जिल्ला प्रशासन कार्यलयमा पनि आफ्नो सेवा विस्तार गर्न सफल भएको छ ।
बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
बैंकले हाल देशभरका १९६ वटा शाखा कार्यालय, १५२ वटा एटीएम ३६ वटा एक्स्टेन्सन काउण्टर तथा १९ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्फत गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।