चिनीको चरम कालोबजारी, किलोकै १३० रुपैयाँ पुग्यो

काठमाडौं । चाडवाडको मुखमै बजारमा चिनीको मूल्यमा चरम कालोबजारी भएको छ । दशैं, तिहार लगायत चाडपर्व नजिकिँदै जाँदा अभावको नाममा व्यापारीहरूले चिनीको भाउ अचाक्ली बढाएका हुन् ।

पछिल्लो दुई सातामै चिनीको मूल्य ३० प्रतिशतसम्म बढेको छ । भदौ दोस्रो सातासम्म खुद्रा बजारमा प्रतिकिलो १०० रुपैयाँमा पाइने चिनीको मूल्य अहिले प्रतिकिलो १३० रुपैयाँ पुर्याएका छन् भने आगामी दिनमा अझै बढ्ने व्यापारीहरू बताउँछन् ।

कालोपुलस्थित मगल स्टोर्सका सञ्चालक रामहरी थापाले चिनीको भाउ प्रतिकेजी १२० रुपैयाँ पुगेको बताए । उनका अनुसार बजारमा चिनी नभएकै कारण मूल्य बढेको हो । चिनीको मूल्य अझै बढ्न सक्ने उनको भनाइ छ ।

‘चिनीको मूल्य होलसेलमै १२० रुपैयाँ परेको छ, अझै बढ्न सक्छ, बढ्यो भने दशैं, तिहारसम्म १४० हाराहारी पुग्छ होला,’ थापाले भने । अहिले खुद्रा बजारमा चिनीको मूल्य १३० रुपैयाँसम्म पुगेको उनको भनाइ छ ।

यस्तै, जडीबुटीस्थित रमीला खड्काले प्रतिकिलो चिनीको १३० रुपैयाँ तिरेको बताइन् । उनले एकसाता अघि ११० रुपैयाँमा किनेको चिनी अहिले १३० तिर्नु परेको बताइन् । ‘अहिले बजारका अधिकांश पसलमा चिनी छैन भन्छन्, किन्न पाइँदैन,’ उनले भनिन्, ‘एक/दुई पसलमा मात्र पाइन्छ । त्यो पनि अचाक्ली महँगो छ । किलोकै १३० रुपैयाँ तिर्नुपर्छ । त्यो पनि माग अनुसार पाइँदैन । बढीमा २ किलो मात्र दिन्छन् ।’

अहिले बजारमा चिनीको चरम अभाव र कालोबजारी भएको छ । स्वदेशी उद्योगले उत्पादन गरेको चिनी सकिएको र विदेशबाट आयात नहुँदा बजारमा चिनीको अभाव भएको व्यापारीहरूले बताएका छन् । सरकारसँग पनि स्टक चिनी नभएको र व्यापारीले पनि आयात नगरेकाले बजारमा चिनीको अभाव भएको हो ।

बजारमा चिनी अभाव भएपछि केही व्यापारीले आफूसँग भएको चिनी लुकाउँदा झनै अभाव भएको खुद्रा व्यापारी बताउँछन् । तत्कालै चिनी आयात नहुने देखेकाले होलसेल व्यापारीले महँगोमा बेच्न चिनी लुकाएको उनीहरूको आरोपछ ।

धेरै खपत हुने चाडवाडको बेला चिनी अभाव र मूल्य वृद्धि हुँदा उपभोक्ता दोहोरो मारमा परेका छन् । महँगिएको मारमा पिल्सिएका उपभोक्तालाई यसले झनै आजित बनाएको छ ।

चिनी बेच्ने दुवै सरकारी निकाय साल्ट ट्रेडिङ र खाद्य व्यापार कम्पनीले आफूसँग चिनीको मौज्दात नभएको जनाएका छन् । साल्ट ट्रेडिङका प्रवक्ता कुमार राजभण्डारीले हाल डेढ टन मात्र चिनी मौज्दात रहेको जानकारी दिए ।

उनले हाल चिनी स्टक नरहेकाले खुद्रा बिक्रेतालाई नबेचिएको बताए । उनले अहिले सुपथ पसलबाट उपभोक्तालाई मात्र चिनी बेचिरहेको बताए । यसैबीच, सरकारले साल्ट ट्रेडिङलाई १० हजार टन चिनी आयातको अनुमति दिएको छ ।

त्यस्तै, खाद्य कम्पनीले आफ्नो गोदाममा चिनी नभएको बताएको छ । लामो समयदेखि चिनी आयातका लागि अनुमति मागे पनि नपाउँदा चिनी ल्याउन नसकिएको कम्पनीकी सूचना अधिकारी सर्मीला न्यौपाने सुवेदीले बताइन् ।

सरकारले यसै साता ५० प्रतिशत भन्सार छुटमा १० हजार क्विन्टल चिनी आयातको अनुमति दिएको उनले बताइ । उक्त चिनी ल्याउन केही समय लाग्ने उनको भनाइ छ ।

‘यसैसाता १० हजार टन चिनी आयातको अनुमति पाएका छौं । अब ठेक्का प्रक्रियाबाट चिनी आयात गर्नुपर्छ । त्यसो हुँदा चिनी आइपुग्न केही समय लाग्छ,’ उनले भनिन् ।

देशभर वार्षिक २ लाख ६५ हजार मेट्रिक टनदेखि ३ लाख टन चिनी माग हुँदै आएको छ । सो मध्ये १ लाख मेट्रिक टन चिनी नेपाल उत्पादन हुने गरेको छ भने बाँकी आयातमा निर्भर छ ।

छैन प्रभावकारी अनुगमन

बजारमा चिनीको चरम कालोबजारी भए पनि सरकारले प्रभावकारी अनुगमन गरी नियन्त्रण गर्न सकेको छैन । विगतमा जस्तै चाडपर्वको बेलामा कर्मकाण्डी अनुगमन गर्ने बाहेक कालोबजारी नियन्त्रण गर्न कदम चालेको देखिँदैन ।

तर, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने बजार अनुमगनलाई तीव्रता दिइएको बताएको छ । विभागका सूचना अधिकारी होमनाथ भट्टराईले दैनिक बजार अनुगमन भइरहेको बताए ।

उनले दैनिक ३ वटा टोलीले अनुगमन गरिरहेको जानकारी दिए । चाडपर्वको समयमा मूल्य वृद्धि र ठगी नहोस भनेर अनुगमनको संख्या बढाउने तयारी भइरहेको उनले बतए ।

‘कालोबजारी नहोस भनेर हामीले अनुगमन तीव्र बनाएका छौं । दैनिक ३ टोलिले अनुगमनका लागि बजार पठाएका छौं । यसलाई अझै तीव्र बनाउँछौं,’ उनले भने । कसैले अनुचित फाइदाका लागि कालोबजारी र महँगोको बेचेको भेटेमा कानुन अनुसार कारबाही गर्ने उनकाे भनाइ छ ।

कालीगण्डकी करिडोरमा राति सवारीसाधन चलाउन रोक Read Previous

कालीगण्डकी करिडोरमा राति सवारीसाधन चलाउन रोक

उद्योग दर्ता हुने क्रम घट्दै, दर्ता भएका पनि अधिकांश छैनन् संचालनमा Read Next

उद्योग दर्ता हुने क्रम घट्दै, दर्ता भएका पनि अधिकांश छैनन् संचालनमा