काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूमा क्रमशः कर्जाको माग बढ्न थालेको छ । दशैं, तिहार लगायत चाडवाड नजिँकिँदै गर्दा र आर्थिक क्रियाकलापमा समेत बढ्दै जाँदा बैंकमा ऋणको माग पनि बढ्दै गएको हो ।
डेढ वर्ष यता शिथिल अर्थतन्त्र चालु आवको भदौदेखि केही चलायमान हुँदै गएको देखिएको छ । राजस्व असुलीमा भएको सुधार र बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानीमा भएको वृद्धिले अर्थतन्त्र केही चलायमान हुँदै गएको संकेत गरेको हो ।
आर्थिक गतिविधि बढेसँगै कर्जाको माग बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार भदौ महिनामा मात्रै बैंक तथा वित्तीय संस्थाले ३४ अर्ब कर्जा लगानी गरेका छन् । जबकि साउनमा बैंकहरूको ऋण लगानी उल्टो १७ अर्ब घटेको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार साउन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको कुल ऋण लगानी ४८ खर्ब ५९ अर्ब रुपैयाँ रहेकोमा भदौ २६ गतेसम्म बढेर ४८ खर्ब ९३ अर्ब रुपैयाँ पुगेको छ । यसले कर्जाको माग बढ्दै गएको देखाउँछ ।
यसअघि आर्थिक संकुचनका कारण उपभोग्य वस्तुको माग नहुँदा र महँगो ब्याजदरका कारण बैंकमा कर्जाको माग शून्यप्राय थियो । अहिले दशैंतिहार जस्ता चाडपर्व नजिँकिँदै गएकाले र अटो बजारमा सुधार आउँदा कर्जाको माग बढ्दै गएको बैंकरहरू बताउँछन् ।
‘गत वर्षदेखिको बैंकिङ क्राइसिसमा केही सहजता आएको छ । बजारमा अहिले माग बढेको छ,’ एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले भने, ‘त्यसैले ऋणको माग पनि बढेको छ । अब विस्तारै आर्थिक गतिविधि चलायमान हुँदै जादाँ प्रणालीमा भएको रकम लगानी हुँदै जाने देखिन्छ ।’
बैंकिङ प्रणालीमा तरलता थुप्रिँदा समेत कर्जाको माग नहुँदा बैंकहरूको व्यवसाय स्थिर छ । यद्यपि, भदौयता केही फेरबदल देखिएको उनले बताए ।
अहिले बैंकिङ प्रणलीमा झन्डै पौने ४ खर्ब रुपैयाँ तरलता रहेकाले कर्जाको माग बढे पनि बैंकहरूलाई धान्न गाह्रो छैन । सरकारले यसै सतादेखि स्थानीय तहको संचित कोषको रकमको ६० प्रतिशत निक्षेपमा गणना गर्न दिने व्यवस्था गरेको छ । यसले प्रणालीमा थप ६० अर्ब रुपैयाँ निक्षेप थपिएको छ भने ब्याजदर घटाउन समेत केही सहयोग पुग्नेछ ।
तरलता बढ्दा बैंकको ब्याजदर पनि घट्न थालेको छ । बैंकहरूले ऋण लगानी बढाउन सहुलियत ऋणमा कर्जा उपलब्ध गराइरहेका छन् ।
कर्जा स्कीमको प्रतिस्पर्धा
कर्जाको माग क्रमशः बढ्दै गएसँगै बैंकहरूले पनि ऋण लगानी गर्न आक्रमक हुन थालेका छन् । बैंकहरूले ऋण लगानी बढाउन सहुलियत ब्याजदरमा कर्जा स्कीम ल्याएर ग्राहक तान्न थालेका हुन् ।
लगानी बढाउन बैंकहरू बीच सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने प्रतिस्पर्धा देखिएको छ । बैंकहरूले घरकर्जा, अटोलोन लगायतमा स्थिर ब्याजदरमा कर्जा दिने भन्दै अफर ल्याइरहेका छन् ।
भृकुटीमण्डपमा जारी अटो शोमा समेत बैंकहरूले गाडी खरिदका लागि सहुलियत कर्जा अफर सहितका स्टलहरू राखेको देख्न सकिन्छ । ऋण लगानी बढाउन बैंकहरूले अटो लोन अन्र्तगत विद्युतीय सवारीका लागि ८० प्रतिशत र पेट्रोल गाडीमा ५० प्रतिशतसम्म स्थिर ब्याजदरमा कर्जा उपलब्ध गराउने बताइरहेका छन् ।
अटो लोनमा नबिल बैंकले ५ वर्ष कर्जा अवधिका लागि १०.४९ र ७ वर्षका अवधिका लागि १०.९९ प्रतिशत स्थिर ब्याजदरमा ऋण दिने योजना ल्याएको छ । ग्लोबल आइएमई बैंकले १०.४९ देखि १२.४९ प्रतिशत ब्याजदरमा अटो ऋण दिने जनाएको छ ।
प्रभुले ९.९९ देखि १०.१५, हिमालयनले ११.९९, सानिमा ९.९९ देखि १०.९९, लक्ष्मी सनराइज १२.५० प्रतिशतसम्म, कामना सेवा विकास बैंकले ११.९५ र महालक्ष्मीले १२.९९ प्रतिशतसम्म ब्याजदरमा सवारी कर्जा स्कीम ल्याएका छन् ।
यसैगरी, अन्य वाणिज्य तथा विकास बैंकले पनि सवारी, आवासीय, व्यापार लगायत कर्जा योजना ल्याएर सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराइरहेका छन् । बैंकहरूले निश्चित अवधिका लागि स्थिर ब्याजदर अन्र्तगत आधारदरमै ऋण उपलब्ध गराउने जनाएका छन् ।