काठमाडौं । सरकारले धमाधम आन्तरिक ऋण उठाउन थालेको छ । आम्दानीले मात्र खर्च धान्न धौधौ भएपछि सरकारको आन्तरिक ऋण उठाउन थालेको हो ।
गत सोमबार मात्रै १० अर्ब आन्तरिक ऋण उठाएको सरकारले फेरि ९ अर्ब ऋण उठाउने भएको छ । चालु आर्थिक वर्षको डेढ महिनामा मात्रै ५ पटकमा गरेर ४६ अर्ब आन्तरिक ऋण उठाइसकेको छ । सरकारले चालु आवमा कुल २ खर्ब ४० अर्ब आन्तरिक ऋण उठाउन लक्ष्य राखेको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबार (भदौ २९गते) ९ अर्ब ४ करोड रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । राष्ट्र बैंकले ६ वर्ष अवधिको विकास ऋणपत्र २०८६ ‘ट’ जारी गर्ने भएको हो ।
बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था र सर्वसाधारण नागरिकसमेतले विकास ऋणपत्र खरिद गर्न सक्नेछन् । यो ऋणपत्रको ब्याजदर बोलकबोलका माध्यामकबाट निर्धारण गरिने राष्ट्र बैंकले जनाएको छ ।
यो ऋणपत्र धितो राखी कर्जासमेत लिन सकिनेछ । भदौ २९ गते दिउँसो ३ बजेसम्म बोलकबोल हुने ऋणपत्र भदौ ३१ गते निष्काशन हुनेछ । अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुने यो ऋणपत्रको साँवा भुक्तानी २०८६ भदौ ३१ गते हुनेछ ।
घटीमा रू ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई रू ५० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कमा खरिद गर्न पाइनेछ । यो ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् ।
राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले प्रतिस्पर्धीको रुपमा भाग लिन पाउने छैनन् । यो ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमार्फत्मात्र हुनेछ ।