त्रिभुवन विमानस्थल भन्सारका कर्मचारीले पारे सेवा ठप्प

काठमाडौं । काम गर्ने वातावरण नभएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका कर्मचारीहरु आन्दोलित भएका छन् । ६१ किलो सुन प्रकरणमा विमानस्थल भन्सारका कर्मचारी समातिएको भन्दै उनीहरुले सोमबार भन्सार जाँचपास सम्बन्धी काम ठप्प पारेका हुन् ।

२ साउनमा विमानस्थल भन्सारमा समातिएको ६१ केजी तस्करीको सुन प्रकरणमा अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबीले)ले हालसम्म ६ जना भन्सार कर्मचारीलाई पक्राउ गरिसकेको छ । अन्य केही कर्मचरीविरुद्ध पक्राउ पूजी जारी भएको र केही माथि अनावश्यक धरपकड भएको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

उनीहरु विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले अनुसन्धानको बहानामा निर्दोष कर्मचारीहरूलाई धरपकड गर्ने र पक्राउ गर्ने काम अविलम्ब बन्द गर्नुपर्ने, कार्यस्थलमा डरत्रास बिना, निर्भिक रुपमा उच्च मनोबलका साथ कार्य गर्ने वातावरण हुनुपर्ने, कार्यालयमा आवश्यक भौतिक पूर्वाधारहरू आधुनिक प्रविधिहरूको व्यवस्था गर्नुपर्ने लगायत माग राखेका छन् ।

यसअघि भदौ १२ गते विमानस्थल भन्सारका कर्मचारीहरुले काम गर्ने वातावरण नभएको भन्दै सामूहिक सरुवा मागेको थिए भने आफ्ना माग पूरा नभए आन्दोलन गर्ने चेतावनी दिएका थिए । सरकारी निकायहरुले अनुसन्धानका नाममा कर्मचारीहरूको मनोबल गिराउने, आत्मसम्मानमा ठेस पुर्‍याउने, हतोत्साहित गर्ने गरेको उनीहरुको गुनासो छ ।

 

टाटाका रिटेलर्सलाई नबिल बैंकले बिना धितो ऋण दिने Read Previous

टाटाका रिटेलर्सलाई नबिल बैंकले बिना धितो ऋण दिने

मुगु पुग्यो राष्ट्रिय प्रसारण लाइनको बिजुली Read Next

मुगु पुग्यो राष्ट्रिय प्रसारण लाइनको बिजुली