अफ्रिकी सङ्घले पायो जी २० को स्थायी सदस्यता

नयाँ दिल्ली ।युरोपेली सङ्घसहित १९ वटा विशाल अर्थतन्त्र भएका राष्ट्रको अन्तर सरकारी सङ्गठन जी २० मा नयाँ सदस्य थपिएको छ । समूहको स्थायी सदस्यका रुपमा अफ्रिकी सङ्घ थपिएको हो ।

जी २० का अध्यक्ष एवं भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले समूहको शिखर सम्मेलनमा स्वागत मन्तव्य व्यक्त गर्दै अफ्रिकी सङ्घको प्रतिनिधत्व गरिरहेका सङ्घका अध्यक्ष अजाली असुमानीलाई जी २० को स्थायी सदस्यका रूपमा समूहका नेताहरूसँगै आसन ग्रहण गर्न आग्रह गरेका थिए।

‘सबैको स्वीकृतिमा अफ्रिकी सङ्घका प्रमुखलाई जी २० को स्थायी सदस्यको रूपमा आफ्नो स्थानमा बस्न अनुरोध गर्दछु,’ प्रधानमन्त्री मोदीले आफ्नो स्वागत मन्तव्यका क्रममा भने ।

प्रधानमन्त्री मोदीको अनुरोधसँगै विदेश मन्त्री एस जयशङ्करले युनियन अफ कोमोरोसका अध्यक्ष एवं अफ्रिकी सङ्घका अध्यक्ष असुमानीलाई विश्व नेताहरूका स्थानमा लिएर गए । जी २० को सदस्यका रूपमा अफ्रिकी सङ्घलाई समावेश गर्नु भारतको उद्देश्य थियो जुन आज पूरा भएको छ । प्रधानमन्त्री मोदीले नै अफ्रिकी सङ्घलाई समूहमाा ल्याउन प्रस्ताव गरेका थिए ।

‘हामीले जी २० को कारवाही सुरु गर्नुअघि म मोरक्कोमा भूकम्पका कारण ज्यान गुमाएकाहरूप्रति समूहका तर्फबाट श्रद्धाञ्जलि व्यक्त गर्न चाहन्छु, घाइते सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै शोकाकूल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु । यस कठिन घडीमा मोरक्कोलाई हरसम्भव सहयोग गर्न भारत तयार छ,’ प्रधानमन्त्री मोदीले स्वागत मन्तव्य व्यक्त गर्दै भने ।

प्रधानमन्त्री मोदीले गत जुनमा जी २० का आफ्ना समकक्षीहरूलाई पत्र लेखेर नयाँदिल्ली शिखर सम्मेलनमा अफ्रिकी सङ्घलाई पूर्ण सदस्यता प्रदान गर्न अनुरोध गरेका थिए । सन् २००२ मा सुरु भएको अफ्रिकी महादेशका ५५ देशको समूह अफ्रिकी सङ्घलाई सङ्घमा आबद्ध देशहरूको अनुरोधमा पूर्ण सदस्यता दिन प्रधानमन्त्री मोदीले प्रस्ताव गरेका थिए ।

यसअघि जी २० को सदस्यमा युरोपेली सङ्घ र १९ वटा देशहरू छन्। आर्जेन्टिना, अस्ट्रेलिया, ब्रजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेशिया, इटली, जापान, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, टर्की, दक्षिण कोरिया, यूके र अमेरिका उक्त समूहका सदस्य हुन्।

शिवशिखर सहकारी पीडितलाई उजुरी गर्न अपिल, बचतकर्ताले साढे ६ करोड फिर्ता पाएनन् Read Previous

शिवशिखर सहकारी पीडितलाई उजुरी गर्न अपिल, बचतकर्ताले साढे ६ करोड फिर्ता पाएनन्

कोशीमा दोस्रो पटक बजेट सम्बन्धी अध्यादेश जारी, हट्यो बजेट शून्यता Read Next

कोशीमा दोस्रो पटक बजेट सम्बन्धी अध्यादेश जारी, हट्यो बजेट शून्यता