बैंकमा पैसा थुप्रिँदा र कर्जाको माग नहुँदा पनि किन घट्दैन ब्याजदर ?

काठमाडौं । हाल बैंकिङ प्रणालीमा पर्याप्त लगानी योग्य रकम (तरलता) थुप्रिएको छ भने अर्कोतर्फ कर्जाको माग न्यून छ । तर, ब्याजदर भने अपेक्षित रूपमा घट्न सकेको छैन ।

अर्थतन्त्रमा आएको संकुचनका कारण गत आर्थिक वर्षदेखि कर्जाको माग नहुँदा बैंकिङ प्रणालीमा लगानीयोग्य रकम प्रशस्त छ । संस्थामै लगानीयोग्य रकम थुपारेर राख्न बैंकहरू तयार छन् तर ब्याजदर घटाएर ऋण दिन नचाहेको व्यवसायीहरू बताउँछन् ।

कर्जा लगानीभन्दा निक्षेपमै संस्थाहरू केन्द्रित हुँदा ब्याजदर सस्तो हुन नसकेको हो । अर्कोतिर महंगो ब्याज तिरेर निक्षेप संकलन गरेका बैंकहरू सस्तो ब्याजमा कर्जा दिन सक्ने अवस्थामा नरहेकको बैंकर बताउँछन् ।

जसको कारण गत वर्षको दोस्रो त्रैमासदेखि तरलता संकटका कारण उकालो लागेको ब्याजदर त्यसयता केही ओरालो लाग्ने क्रमदेखिए पनि उद्योगी व्यवसायीले लगानीका लागि चाहे जस्तो अंकमा झर्न सकेको छैन ।

पूर्व बैंकर अनलराज भट्टराई अब बैंकको ब्याज बढ्ने ठाउँ नरहेको र घट्दै आइरहेको बताउँछन् । ‘अघिल्लो महिना मुद्दती निक्षेपको ब्याज बढ्दैमा कर्जाको ब्याजदर बढ्दैन । त्यसअनुसार निक्षेप बढेको देखिँदैन,’ उनले भने, ‘राष्ट्र बैंकको केही नीतिगत व्यवस्था र कर्जा माग नहुँदाको दबाबले ब्याजदर घाउनै पर्ने अवस्थामा बैंकहरू छन् । मर्जर भएकाहरूलाई केही सहज भए पनि अरुलाई भने छैन । त्यसैले उनीहरूले प्रिमियम घटाइरहेका छन् ।’

अहिले वित्तीय प्रणालीमा साढे ३ खर्ब रुपैयाँ बढी लगानीयोग्य रकम भएको जानकारहरू बताउँछन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार औषतमा बैंक तथा वित्तीय संस्थाहरूको सीडी रेसीयो ८३.६२ प्रतिशत छ ।

९० प्रतिशतको अनुपातसम्म कर्जा लगानी गर्न पाउने नियामकीय व्यवस्था छ । यस हिसाबले पनि बैंकहरूसँग अहिले तरलता प्रशस्त रहेको छ । अहिले पनि ऋणको माग ठप्प रहेको एक वाणिज्य बैंकका प्र्रमुख कार्यकारी अधिकृतले बताए ।
‘ऋणको माग नै छैन भन्दा फरक पर्देन् । बैंक पनि पर्ख र हेरको अवस्थामा छन्,’ उनले भने, ‘ब्याजदर त अहिले ठीकै अवस्थामा छ । तर, सबैभन्दा मनोबल बढेको देखिँदैन ।’

बजारमा तरलता बढी हुँदा ब्याजदर घट्ने र अभाव हुँदा बढ्ने प्रवृत्ति हुन्छ । सोही कारण गत वर्ष तरलता अभाव हुँदा वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदरमा भद्र सहमती गरेर सबैले एकै कायम गरेका थिए । तर, तरलता धेरै भएर माग नहुँदा समेत ब्याजदरमा सिन्डिकेट कायमै राखेका बैंकहरूले गत साउन यता भने आफैंले निर्धारण गरिरहेका छन् ।

साउनमा आधा बैंकले ब्याजदर घटाउँदा त्यत्ति नै संस्थाले बढाए । भदौमा भने अघिल्लो महिना ब्याजदर घटाएकाहरूले निक्षेपको ब्याजदर केही फरक गरे पनि बैंकहरू बीच निक्षेप तान्ने होड नै चल्यो ।

माग नहुँदा सस्तो ब्याजदर घट्नुपर्ने बजारको सिद्धान्त भए पनि निक्षेप तान्ने अस्वस्थ प्रतिस्पर्धाले अहिले पनि निरन्तरता पाएको छ । बैंकहरूले भदौमा व्यक्तिगत निक्षेपको ब्याजदर ६ प्रतिशतदेखि १०.८९ सम्म कायम तोकेका छन् ।
साउनमा एकल अंकमा आएको बैंकको मुद्दती निक्षेपको ब्याजदर कर्जा लगानी नहुँदा भदौमा फेरि बढाएर बैंकहरूले औषतमा दोहोरो अंकमा पुर्याएका छन् । भट्टराई बैंकहरूले लामो अवधिको निक्षेप हेरिरहेको बताउँछन् ।

‘एकदुई वर्षअघिकै निक्षेपको परिपक्व हुने समय आइरहेको छ । ब्याजदर संवेदनशील हुन्छ । फेरि अर्कोले बढाउने बित्तिकै निक्षेप जाने डर हुन्छ । त्यसैले बैंकले आफ्नो म्याच्युरिटी प्रोफाइल हेरेर लामो अवधिको निक्षेप हेरिरहेका छन्,’ उनले भने ।

राष्ट्र बैंकका अनुसार अहिले औषतमा अन्तर बैंक ब्याजदर ६ प्रतिशत माथि छ । औषतमा वाणिज्य बैंकको कर्जाको ब्याजदर १२.३ प्रतिशत रहेको छ भने अन्य नीतिगत दरहरू पनि खासै तल झर्न सकेको देखिँदैन ।

अर्थतन्त्रमा देखिएको शिथिलताका कारण नयाँ लगानी बढ्न सकेको छैन । आर्थिक शिथिलता, उद्योगी व्यवसायीको मनोबल बढ्न नसक्नु, सरकारले विकास खर्च गर्न नसक्नु, अपेक्षित रूपमा ब्याजदर नघट्नु जस्ता कारणले गत वर्षदेखि ऋण लगानीको माग बढ्न सकेको छैन ।
उपभोक्ताको क्रयशक्तिमा आएको गिरावट, उच्च मूल्यवृद्धि, मागमा आएको संकुचनका कारण उत्पादनदेखि व्यापारमा समेत ऋण लिएर व्यवसायीहरूले लगानी गर्ने आँट गरिरहेका छैनन् । जसको असर समग्र अर्थतन्त्रमा देखिएको छ ।

 

हेलम्बु-याङ्री-लार्के सुरुङमार्ग बनाउन प्रस्ताव Read Previous

हेलम्बु-याङ्री-लार्के सुरुङमार्ग बनाउन प्रस्ताव

३ वर्षदेखि केरुङ्गेखोला पुल निर्माण अलपत्र, ठेकेदार सम्पर्कविहीन Read Next

३ वर्षदेखि केरुङ्गेखोला पुल निर्माण अलपत्र, ठेकेदार सम्पर्कविहीन