काठमाडौं । नेपालमा कृषिमा आश्रित परिवारको संख्या बढेको छ । बिहीबार राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको सातौं कृषि गणना २०७८ अनुसार पछिल्लो एक दशकमा कृषक परिवारको संख्या ३ लाख बढेको देखाएको हो ।
नयाँ तथ्यांक अनुसार देशभर कृषिमा आबद्ध परिवारको संख्या ४१ लाख ३१ हजार ७८९ पुगेको छ । २०६८ मा यस्तो परविार संख्या ३८ लाख ३१ हजार ९३ थियो ।
त्यसैगरी, नेपालमा कुल घरपरिवारमध्ये ६२ प्रतिशत कृषक परिवार रहेको तथ्यांक्ले देखाएको छ । २०६८ मा कुल परिवारमध्ये कृषक परिवार को संख्या ७१ प्रतिशत थियो ।
कृषको संख्या बढे पनि खेती गरिएको जमिनको क्षेत्रफल भने घटेको छ । नयाँ तथ्यांक अनुसार नेपालमा २२ लाख १८ हजार हेक्टर जमिनमा कृषि गरिएको छ । यो १० वर्ष अघिको तुलनामा ३ लाख ८ हजार हेक्टरले कम हो । २०६८ को कृषि गणनामा २५ लाख ३१ हजार हेक्टर जमिनमा खेति गरिन्थ्यो ।