आइएमई समूहले निर्माण गर्ने तिप्ल्याङ-कालीगण्डकी हाइड्रोको भयाे पीपीए

म्याग्दी । आइएमई समूहले म्याग्दीमा निर्माण गर्न लागेको तिप्ल्याङ कालीगण्डकी जलविद्युत् आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) भएको छ । अन्नपूर्ण र रघुगङ्गा गाउँपालिकामा निर्माण हुने ५८ मेगावाट क्षमताको उक्त आयोजनाको प्रवद्र्धक कम्पनी तिप्ल्याङ–कालीगण्डकी हाइड्रोपावर र नेपाल विद्युत् प्राधिकरणबीच सो सम्झौता भएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र हाइड्रोपावरका अध्यक्ष चन्द्रप्रसाद ढकालले मङ्गलबार काठमाडौँमा सो सम्झौतामा हस्ताक्षर गरेका हुन्। आयोजनाबाट उत्पादन भएको विद्युत् सुख्खायाममा प्रतियुनिट ८.४० रुपैयाँ र बर्खा याममा प्रतियुनिट ४.८० रुपैयाँका दरले खरिद गर्ने सम्झौता भएको छ ।

व्यापारिक उत्पादन सुरु भएको मितिदेखि वार्षिक ३ प्रतिशतका दरले ८ पटकसम्म मूल्य वृद्धि गरी खरिद गर्ने सम्झौतामा उल्लेख छ ।

कालीगण्डकी र मिस्त्रीखोला–२ जलविद्युत् आयोजनाको क्यासकेडको रूपमा यो आयोजना बनाउन लागिएको हो । ५८ मेगावाट क्षमताको विद्युत् खरिदबिक्री सम्झौता भए पनि आयोजनाको क्षमता वृद्धि गरी ८६ मेगावाट कायम गर्न विद्युत् विकास विभागले सैद्धान्तिक सहमति प्रदान गरिसकेको छ । आइएमई समूहले प्रबद्र्धन गरेको हाइड्रो सपोर्ट प्रालिको ६६.३ मेगावाट क्षमताको माथिल्लो कालीगण्डकी जलविद्युत् आयोजनाको यसअघिनै पीपीए भइसकेको छ ।

अन्नपूर्ण गाउँपालिका–३ को सुकेबगरमा बाँध र वडा नम्बर–२ को ठूलो बगर क्षेत्रमा विद्युत्गृह बनाउने प्रस्ताव भएको छ । माथिल्लो कालीगण्डकीको र मिस्त्री–२ को विद्युत् गृहबाट निस्कने पानीलाई तिप्ल्याङ कालीगण्डकीको बाँधमा मिसाउने योजना रहेको छ । यी दुई वटा आयोजनाबाट सुख्खा याममा २९५.४६८ र वर्षायाममा ६३०.८९५ गरी कूल वार्षिक ९२६.३६५ गिगावाट आवर ऊर्जा उत्पादन हुने जनाइएको छ । विसं २०८६ असार महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको कूल लागत रु ३३ अर्ब १४ करोड रहेको कम्पनीले जनाएको छ ।

नविल बैंकको अगुवाइमा वित्तीय व्यवस्थापन गरिसकेको आयोजनाले पूर्वाधार निर्माणको तयारी गरेको हाइड्रोपावरका अध्यक्ष ढकालले बताए । दुईवटै आयोजना निर्माणस्थल बेनी–जोमसोम–कोरला सडक नजिकै छ । अन्नपूर्ण गाउँपालिका–३स्थित दानामा रहेको प्राधिकरणको २२० केभी क्षमताको सव स्टेशनमार्फत केन्द्रीय प्रणालीमा विद्युत् आवद्ध गराइने भएको छ ।

कालीगण्डकीमा ५ आयोजना बन्दै

मुस्ताङदेखि पर्वतको सिमानासम्मको म्याग्दी खण्डमा कालीगण्डकी नदीमा करिब ४०० मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माणको तयारी भएको छ । चिनियाँ लगानीमा निर्माण हुन लागेको १६४ मेगावाट क्षमताको नेपाल कालीगण्डकी गर्ज जलविद्युत् आयोजना जिल्लामा अहिलेसम्मकै सबैभन्दा ठूलो आयोजना हो ।

कालीगण्डकी गर्जको विद्युत् गृहबाट निस्किएको पानी करिब ५०० मिटर तल हाइड्रो सपोर्ट प्रालिले निर्माण गर्न लागेको ५३ मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजनाको बाँधबाट सुरुङमा छिराइने छ । अन्नपूर्ण गाउँपालिका–२ को ठूलोबगर र ६को पोखरे बगरको सिमानामा बाँध र सात हिस्तानको तिप्ल्याङमा विद्युत् गृह रहने गरी सो आयोजना निर्माण गर्न लागेको हो ।

ट्रेडलिङ्क ग्लोबल प्रालिले रघुगङ्गा गाउँपालिका १ र अन्नपूर्ण गाउँपालिका– ७ को सिमाना बेगखोलामा बाँध र रघुगङ्गा गाउँपालिका–३ स्थित घुमाउने तालमा विद्युत् गृह रहने ६५ मेगावाट क्षमताको अपर कालीगण्डकी जलविद्युत् आयोजना निर्माणको प्रक्रिया अघि बढाएको छ । यो आयोजना चिनियाँ कम्पनी सिने हाइड्रोले निर्माण गर्न लागेको हो ।

रु २२ अर्ब लगानी हुने अनुमान गरिएको ‘रन अफ दि रिभर’ प्रकृतिको यो आयोजनामा छ किलोमिटर सुरुङ रहने प्रवद्र्धक कम्पनीले जनाएको छ । घुमाउने तालभन्दा केही तल रघुगङ्गा नदी कालीगण्डकीमा मिसिने दोभानभन्दा केही तल बाँध र जलजला गाउँपालिका–४ मिलनचोकमा विद्युत्गृह रहने गरी ५० मेगावाटभन्दा बढी क्षमताको अर्को आयोजनाको सर्वेक्षण भइरहेको छ ।

कालीगण्डकी नदीको सहायक खोलामा पाँच मेगावाट क्षमताको घलेम्दी खोला, ४२ मेगावाटको मिस्त्री खोला र १४ मेगावाटको घारखोला जलविद्युत् आयोजना निर्माण भइसकेको छ । अन्नपूर्ण गाउँपालिका–४ पर्ने नारच्याङमा ४२ मेगावाटको नीलगिरि र ६२ मेगावाटको नीलगिरि क्यासकेट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए

कांग्रेसका सहमहामन्त्री यादव माथि भृकुटीमण्डपमा खुकुरी प्रहार Read Previous

कांग्रेसका सहमहामन्त्री यादव माथि भृकुटीमण्डपमा खुकुरी प्रहार

ग्लोबल आइएमई बैंकले गाडी किन्न ३ दिनमै ऋण दिने Read Next

ग्लोबल आइएमई बैंकले गाडी किन्न ३ दिनमै ऋण दिने