काठमाडौं । भारतसहित विश्वका तीन देशका गर्भनरहरूले विश्वकै उत्कृष्ट बैंकर अर्थात् ‘ए प्लस’ ग्रेड पाएका छन् । विश्व चर्चित अमेरिकी पत्रिका ग्लोबल फाइनान्सले गत साता सार्वजनिक गरेको ‘सेन्टर बैंकर रिपोर्ट कार्ड २०२३’ अनुसार भारत, स्वीट्जरल्याण्ड र भेतनामका गभर्नरले ए प्लस ग्रेड पाएका हुन् ।
ग्लोबल फाइनान्सले अर्थतन्त्र सुधार्न, महँगी नियन्त्रण गर्न लगायत काममा केन्द्रीय बैंकले खेलेको भूमिकाका आधारमा गभर्नरहरूलाई ग्रेड दिएको हो । ग्लोबल फाइनान्सले यस वर्षको रिपोर्ट कार्डमा पूर्वी क्यारिबियन केन्द्रीय बैंक, केन्द्रीय अफ्रिकी राज्यहरू र बैंक अफ्रिकी राज्यहरू सहित विश्वका १०१ प्रमुख देशका गभर्नरहरूलाई श्रेणीबद्ध गरेको छ ।
ग्लोबल फाइनान्सका अनुसार यस वर्ष जम्मा तीन देशका गभर्नरहरूले मात्र ‘ए प्लस ग्रेड’ पाएका छन् । जसमा भारतको केन्द्रीय बैंकका गभर्नर शक्तिकान्त दास, स्वीट्जरल्याण्डका थोमस जे जोर्डन र भेतनामका न्गुयेन थाइ होङ रहेका छन् ।
यसैगरी, यस वर्ष विश्वका ८ देशका गभर्नरले ए ग्रेड पाएका छन् । ब्राजिलका रोबर्टो फिल्ड्स नेट, इजरायलका अमीर यारोन, मौरिससका हरवेश कुमार सिगोलम, न्यूजील्याण्डका एड्रियन ओर, पाराग्वेका जोस स्टोन माउन्टेन, ताइवानका चिन लांग यांग र उरुग्वे डिएगो ल्याबटले ए प्लस पाएका छन् ।
यस्तै, ग्लोबल फाइनान्सले १० देशका गभर्नरहरूलाई ‘ए माइनस’ ग्रेड दिएको छ । कोलम्बियाका लियोनार्डो भिल्लार, डोमिनिकन रिपब्लिकका हेक्टर वाल्डेज अल्बिजु, आइसल्याण्डका अस्गेर जोनसन, इन्डोनेसियाका पेरी वार्जियो, मेक्सिकाको भिक्टोरिया रोड्रिगेज भौं, मोरक्कोका अब्देलतिफ जौहरी, नर्वेका इदा वोल्डेन बाचे, दक्षिण अफ्रिकाका लेफ्टजा ग्लोरी, दक्षिण कोरिया री चाङयोङ र श्रीलंकाका गर्भनर नन्दलाल वीरासिंहले ए माइनस ग्रेड पाएका हुन् ।
ग्लोबल फाइनानसले ए ग्रेडमा पर्ने देशका गभर्नरहरूको मात्र नाम सार्वजनिक छरेको छ भने अन्य ग्रेड पाउने देशहरूको नाम सार्वजनिक गरेको छैन ।
मुद्रास्फीति नियन्त्रण, आर्थिक वृद्धि लक्ष्य, मुद्रा स्थिरता र ब्याज दर व्यवस्थापनमा सफलताको लागि ‘ए’ देखि ‘एफ’सम्म ग्रेड प्रदान गरेको छ । जसमा एले उत्कृष्ट प्रदर्शन र एफले पूर्ण रूपमा असफलतालाई जनाउँछ ।
नेपालका गभर्नर सी ग्रेडका
ग्लोबल फाइनान्सको रिपोर्ट कार्ड २०२३ मा नेपालको नाम समावेश गरेको छैन । पत्रिकाले ए वर्गमा पर्ने देशहरुको मात्र नाम सार्वजनिक गरेको छ ।
पत्रिकाले सार्वजनिक गरेको सन् २०२२ को रिपोर्ट कार्ड अनुसार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कमजाेर ग्रेड पाएका छन् ।एशिया प्यासिफिक जोनमा सबैभन्दा कमजोर देखिएका नेपालका गभर्नर अधिकारीले ‘सी’ ग्रेड पाएका हुन् ।
एशिया प्रशान्त क्षेत्रका २६ वटा देशका केन्द्रीय बैंकका प्रमुखमध्ये नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले सबैभन्दा कमजोर ग्रेड पाएका छन् । अघिल्लो वर्ष सन् २०२२ मा उनले ‘बी माइनस’ ग्रेड पाएका थिए ।
गभर्नर अधिकारीले ल्याएका अदूरदर्शी र अव्यवहारिक नीतिहरुकै कारण अर्थतन्त्रमा समस्या देखिएको उनी माथि आरोप लाग्दै आएको छ । साथै, उनी माथि गभर्नरको भूमिका निष्पक्ष रुपमा निर्वाह गर्न नसकेको आरोप पनि लागेको छ । उनले सरकालाई असहयोग हुने गरी प्रतिपक्षी दल नेकपा एमालेको निर्देशनमा काम गर्ने गरेको आरोप लागेको छ ।