३ महिनापछि ताप्लेजुङ-काठमाडौं उडान सुरू, भाडादर पनि घटाइयो

ताप्लेजुङ । नेपाल एयरलाइन्सले करिब तीन महिनापछि काठमाडौँ सुकेटार उडान सुरु गरेको छ ।

खराब मौसमलगायतका कारण गत जेठ २४ गतेदेखि काठमाडौँ सुकेटार उडान हुन सकेको थिएन । मौसममा सुधार आएसँगै सोमबारदेखि नियमित उडान सुरु भएको नेपाल एयरलाइन्सका सुकेटार विमानस्थल प्रमुख सचिन तिवारीले जानकारी दिए।

लामो समयपछि भएको उडानमार्फत काठमाडौंबाट छ यात्री ताप्लेजुङ आएका छन् भने एक जना यात्री काठमाडौं गएका छन् । पहिलेकै उडान तालिकाअनुसार साताको सोमबार, बिहीबार र शनिबार नियमित उडान हुने उनले बताएका छन् ।

करिब १ हजार ८०० मिटरको उचाइमा रहेको सुकेटार विमानस्थलमा बर्खाको समयमा प्रायः हुस्सु लाग्ने भएकाले उडानमा कठिनाइ हुने गरेको छ ।

यसअघिको तुलनामा उडानको भाडा दरसमेत घटाइएको छ । काठमाडौं ताप्लेजुङको भाडा यसअघि रु ९ हजार ६५३ थियो भने हाल घटाएर रु ८ हजार ६०० कायम गरिएको छ । यस्तै ताप्लेजुङ काठमाडौंको भाडा यसअघि रु ९ हजार ४५३ भएकोमा यसलाई घटाएर रु ८ हजार ४०० मा झारिएको छ ।

मौसममा क्रमशः सुधार आएको र चाडबाड नजिकिएकाले नियमितरुपमा उडान हुने विमानस्थलको विश्वास छ । यस्तै पर्यटनको समेत सिजन लागेकाले यात्रुको अभावसमेत नहुने अनुमान गरिएको विमानस्थलले जनाएको छ ।

भगवती हाइड्रोपावरको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा Read Previous

भगवती हाइड्रोपावरको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा

मुआब्जा माग्दै स्थानीयले अरुण तेस्रोको विद्युत् गृहस्थल र प्रवेश मार्ग ठप्प बनाए Read Next

मुआब्जा माग्दै स्थानीयले अरुण तेस्रोको विद्युत् गृहस्थल र प्रवेश मार्ग ठप्प बनाए