कछुवाको गतिमा कोशी करिडोर, १५ वर्षमा आधा पनि काम सकिएन

काठमाडौं । उत्तर-दक्षिण जोड्ने कोशी करिडोर निर्माण कछुवाको गतिमा भइरहेको छ । काम सुरू गरिएको १५ वर्ष बित्दा पनि अझै आधा कम सम्पन्न हुन सकेको छैन ।

आर्थिक वर्ष २०६५/६६ देखि निर्माण थालिएको यो आयोजनाको हालसम्म ४२ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । थपिएको म्याद सकिन अब करिब ३ वर्ष मात्र बाँकी रहँदा आयोजनाको ५८ प्रतिशत काम बाँकी नै रहेको छ ।

मोरङको रानी-विराटनगर–हिले–लेगवा हुँदै संखुवासभाको किमाथांकासम्म पुग्ने यो सडकको कुल लम्बाइ ३४५ किलोमिटर रहेको छ । सोमध्ये संखुवासभाको रानीदेखि सदरमुकाम खाँदबारीसम्मको १८० किमी सडक कालोपत्र भइसकेको छ ।

सडक विभागका प्रवक्ता रामहरी पोखरेलले खाँदबारीदेखि चीनको सीमानाका किमाथांकासम्मको १६२ किलोमिटर सडकमध्ये १४८ किलोमिटर सडकको नयाँ ट्रयाक खोलिसकिएको बताए । उनका अनुसार बाँकी १४ किलोमिटरमध्ये १०.६ किलोमिटरको ट्रयाक खोल्ने जिम्मा नेपाली सेनाले लिएको छ । सोमध्ये हाल ७ किलोमिटर सडकको ट्रयाक खोल्ने काम पूरा भइसकेको आयोजनाले जनाएको छ ।

यस्तै, संखुवासभाको खाँदबारीदेखि दोभानसम्म ६ वटा प्याकेजमा स्तरोन्नतिको काम भइरहेको छ । उक्त खण्डको ८० किलोमिटरमा हाल सडक स्तरोन्नतिको काम भइरहेको छ । ट्र्याक खुलिसकेर स्तरोन्नति हुन बाँकी खण्डमा स्रोत सुनिश्चितताका लागि योजना आयोग र अर्थ मन्त्रालयमा फाइल पेस गरिएकामा टुङ्गो लागेपछि काम काम अघि बढ्ने उनले बताए ।

आयोजना अन्तर्गत हालसम्म ५ अर्ब रुपैयाँ बढी खर्च भइसकेको छ । यस सडकको कुल लागत ११ अर्ब ९३ करोड रुपैयाँ अनुमान गरिएको छ ।

किन लिन सकने कामले गति ?

सरकारको वेवास्ता, बजेट अभाव, ठेकेदारको चरम लापारबाही, भौगोलिक कठिनाइ, प्रतिकूल मौसम लगायत कारणले यो सडक निर्माणमा ढिलाइ भएको हो । विभागका प्रवक्ता पोखरेलले अत्याधिक वर्षा र हिमपातले गर्दा निर्माण कार्यले गति पाउन नसकेको बताए ।

उनले जेठदेखि माघसम्म काम गर्न नसक्ने अवस्था रहेको बताए । ‘काम गर्न सक्ने भनेको फागुनदेखि वैशाखसम्म हो, अरु बेला पानी र हिउँले काम नै गर्न सकिँदैन,’ उनले भने ।’

उनले प्रतिकूल मौसमका कारण निर्माण सामग्री ढुवानीमा समस्या भएको जानकारी दिए । बरुण खोला पारी सडक स्तोरन्नति तथा विभिन्न खोलाहरूमा पक्की पुल निर्माण नहुँदा (च्याम्ताङ्ग, हटिया, सिम्वुङ्ग) निर्माण सामाग्री तथा खाध्य सामग्री ढुवानीमा समस्या रहेको उनले बताए ।

उनका अनुसार बरुण खोलामा अस्थायी ह्युम पाइप राखी निर्माण सामाग्री ढुवानी गरिएको छ । निर्माण स्थलमा उत्पन्न भएका समस्यालाई तत्काल समाधान गर्न स्थानीय निकायसँग छलफल गरी निर्माण व्यवसायीलाई कार्य सुचारु गर्न दबाब दिइरहेको उनले बताए । हाल निर्माण व्यवसायीले निर्माण स्थलमा कुनै पनि काम सुचारु गरेको छैन ।

कोशी प्रदेश अन्तर्गत नेपाल भारतको सिमाना जोगवनीदेखि चीनको किमाथांका जोड्ने त्रिदेशीय व्यापारिक मार्गको उद्देश्यका साथ कोशी राजमार्गको अवधारणा सुरू भएको थियो ।

‘हावा’मा आलुको बीउ उत्पादन Read Previous

‘हावा’मा आलुको बीउ उत्पादन

'वित्त नीति र मौद्रिक नीति बीच तालमेल नहुँदा व्यवसायीले दुःख पाए' Read Next

'वित्त नीति र मौद्रिक नीति बीच तालमेल नहुँदा व्यवसायीले दुःख पाए'