काठमाडौं । शनिबार (भोलि) काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा साढे ८ घण्टासम्म विद्युत आपूर्ति बन्द हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरणले एक सूचना जारी गर्दै शनिबार काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा बिहान १० बजेदेखि साँझ ६ः३० बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने जानकारी गराएको हो ।
प्राधिकरणका अनुसार रत्नपार्क र कुलेश्वर तथा ललितपुरका पुल्चोक र लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरुबाट आपूर्ति हुँदै आएको विद्युत् सेवा प्रभावित हुने छ ।
टेकु सबस्टेसनमा ट्रान्सफर्मर पुरानै स्वीचगियरमार्फत चार्ज गर्न स्युचाटार के-थ्री ६६ केभी प्रसारण लाइन सटडाउन गर्नुपर्ने भएकाले के-थ्री सबस्टेसन तथा सो सँग सम्बन्धित स्विचिङ स्टेसनहरूबाट आपूर्ति भइरहेको विद्युत् अवरूद्ध हुने प्राधिकरणले जानकारी दिएको छ।
लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाद्वारा विद्यमान टेकू सबस्टेसन स्तरोन्नति गरी टेकु स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्नेगरी कार्य भइरहेको छ।