राष्ट्र बैंकको अंकुशपछि अटो क्षेत्रमा बैंकको कर्जा लगानी घट्दै

काठमाडौं । अटो व्यवसायमा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी घट्दै गएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार पछिल्लो ३ वर्षमा (हायर पर्चेज)सवारी साधन कर्जा ८.५२ प्रतिशतले घटेको छ ।

अर्थतन्त्रमा देखिएको संकटले अटो बजार एकातिर सुस्त छ भने अर्कोतिर कर्जा लगानीमा नियामकको कडाइले लगानी बैंकहरूले लगानी बढाउन नसकेका हुन् ।

राष्ट्र बैंकको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/७७ सम्म बैंक तथा वित्तीय संस्थाहरूले कुल अटो लोन १ खर्ब ७४ अर्ब रुपैयाँ प्रवाह गरेका थिए । आव २०७९/८० असारसम्म आइपुग्दा यस्तो ऋण १४ अर्ब ८४ करोड रुपैयाँँले घटेर १ खर्ब ५९ अर्ब रुपैयाँमा सीमित भएको हो ।

राष्ट्र बैंकले विदेशी मुद्रामा चाप परेपछि पछिल्ला दुई वर्षमा सवारी साधन, सेयर धितो कर्जा, रियल स्टेट ऋण लगायत क्षेत्रमा प्रवाह हुने कर्जा लगानीमा अंकुश लगाउँदै लगेकोे थियो ।

अघिल्लो आवमा राष्ट्र बैंकले हायरपर्चेज कर्जाको जोखिमभार ७५ प्रतिशतबाट दोब्बरले बढाएर १५० प्रतिशत कायम गरेको थियो । तर, अटो व्यवसाय र बैंकको कर्जा लगानी वृद्धि नभएपछि राष्ट्र बैंकले यो वर्ष अर्थतन्त्र चलायमान बनाउन भन्दै केही नीतिगत लचकता अपनाएको छ ।

चालु आवको मौद्रिक नीति मार्फत राष्ट्र बैंकले २५ लाख रुपैयाँ सम्मको सवारी कर्जामा जोखिम भार घटाएर शतप्रतिशत कायम गरेको छ । बैंक तथा वित्तीय संस्थालाई सवारी क्षेत्रमा ऋण दिन केही सहज बनाएको छ ।

अर्कोतिर आयात गर्नको लागि एलसी खोल्दा (बैंक ग्यारेन्टीको लागि गरिने प्रतीतपत्र)मा पनि कडाइ गरेको थियो । गत वर्ष पुससम्म सवारी साधन आयातमा सरकारले लगाएको प्रतिबन्ध र एलसी, कर्जा प्रवाह लगायत विषयमा नियामकले गरेको नीतिगत कडाइका कारण पनि अटो क्षेत्रमा बैंकले प्रवाह गर्ने ऋण घटेको देखिन्छ ।

बैंक तथा वित्तीय संस्थाले गत आवमा मात्रै २ अर्ब रुपैयाँ मात्रै कर्जा लगानी गरेको तथ्यांकले देखाउँछ । राष्ट्र बैंकले यो क्षेत्रमा कर्जा लगानीका लागि बैंक तथा वित्तीय संस्थामाथि लगाएको अंकुशको प्रभाव उक्त तथ्यांकले पनि देखाउँछ ।

अर्कोतिर, सन् २०१९ को अन्त्यदेखि सुरू भएको कोभीड महामारी र त्यसपछि अन्तर्राष्ट्रिय आन्तरिक कारणले आर्थिक शिथिलता बढेको छ । जसको असर उपभोग चक्रमा देखिएको छ । उपभोक्ताको पर्चेज क्षमता वृद्धि नहुँदा अटो बजार सुस्त रहेको व्यवसायीहरू बताउँछन् ।

बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानीको लागि अटो क्षेत्र सहज र न्यून जोखिम युक्त भएकाले रोजाइमा पर्ने गरेको छ । तर, अनुत्पादक भन्दै राष्ट्र बैंकले गरेको कडाइका कारण उनीहरूले लगानी डाइभर्ट गरिरहेका छन् ।

गत वर्षदेखि समग्र वित्तीय प्रणालीबाट उल्लेख्य कर्जा विस्तार हुन सकेको छैन । बजारमा माग नहुँदा संस्थाहरूले पनि अर्कोतिर कर्जा लगानी बढाउन सस्तो ब्याजदरमा अटो तथा आवास कर्जाको अफर ल्याइरहेका छन् ।

राष्ट्र बैंकका अनुसार गत वर्षको अन्तिमसम्म बैंक तथा वित्तीय संस्थाबाट कुल ४८ खर्ब ७९ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ । अटो क्षेत्रमा प्रवाह भएको यो कुल कर्जाको ३.२६ प्रतिशत हिस्सा हो ।

 

सर्लाहीका चार स्थानीय तहले अझै ल्याएनन् बजेट, राजनीतिक खिचातानी बन्यो कारक Read Previous

सर्लाहीका चार स्थानीय तहले अझै ल्याएनन् बजेट, राजनीतिक खिचातानी बन्यो कारक

चीन हुँदै हुम्ला पुग्यो ४ हजार क्विन्टल खाद्यान्न Read Next

चीन हुँदै हुम्ला पुग्यो ४ हजार क्विन्टल खाद्यान्न