प्रिमियमको आइपीओभन्दा सस्तोमा पाइन्छ यी ३० कम्पनीको सेयर

काठमाडौं । पछिल्लो २ वर्ष यता नेपाली सेयर बजार घट्दो ट्रेन्डमा छ । २०७८ भदौमा इतिहासकै सर्वाधिक ३१९८ विन्दुको रेकर्ड बनाएको नेप्से त्यसयता लगातार घटेर १८०० विन्दुसम्म आएको थियो । अहिले २ हजार विन्दु हाराहारीमा छ ।

२ वर्षको अवधिमा नेप्से परिसूचक ४० प्रतिशतभन्दा धेरैले घट्दा अधिकांश सूचीकृत कम्पनीको सेयर मूल्य आधाभन्दा धेरैले घटेको छ भने केही कम्पनीको ७० प्रतिशतसम्म घटेको छ ।

हाल नेपाल स्टक एक्स्चेन्ज (नेप्स) मा २५० बढी कम्पनी सूचीकृत छन् । तीमध्ये अहिले साढे २ दर्जन कम्पनीको सेयर मूल्य २ वर्ष यताकै सस्तो अर्थात् प्रतिकित्ता २०० रुपैयाँभन्दा पनि कम रहेको छ ।

यो पछिल्लो समय प्रिमियमा आइपीओ जारी गरिरहेका बीमा कम्पनी र हाइड्रोपावर कम्पनीकोभन्दा पनि सस्तो हो । हालै रिलायन्स लाइफ, रिलायबल लाइफ, आइएमई लाइफ, माण्डू हाइड्रोपावर, सोनापुर मिनरल्सले प्रतिकित्ता २०० देखि २५० रुपैयाँमा प्रिमियममा आइपीओ जारी गरेका छन् । यस्तै, सिटिजन्स लाइफले पनि पोही हाराहारीमा प्रिमियममा आइपीओ जारी गर्दैछ ।

प्रतिकित्ता २०० रुपैयाँ माथि आइपीओ बिक्रीमा ल्याउँदा पनि लगानीकर्ताको उच्च आकर्षण देखिएको छ । हरेक कम्पनीको आइपीओमा १२÷१३ लाख जनाले आवेदन दिने गरेका छन् । तर, दोस्रो बजारमा सोभन्दा कम मूलयमै सेयर पाइँदा पनि लगानीकर्ताको आकर्षण देखिएको छैन ।

नेप्सेमा विभिन्न १३ समूहको सेयर सूचीकृत छ । सोमध्ये वाणिज्य बैंक र हाइड्रोपावर कपनीहरूको सेयर मूल्यमा ठूलो गिरावट आएको छ । अहिले सबैभन्दा सस्तो सेयर मूल्य हुने कम्पनीहरू पनि यिनै समूहका छन् ।

अन्य क्षेत्रका कम्पनीहरूको तुलनामा वाणिज्य बैंकहरूको सेयर संख्या धेरै हुने भएकाले सेयर मूल्य पनि प्रभावित बनेको हो । मागभन्दा आपूर्ति अधिक हुँदा बैंकको सेयर मूल्य बढ्न सकेको देखिँदैन ।

यस्तै, गत वर्ष समग्रमा वाणिज्य बैंकहरूको नाफा २५ प्रतिशतले बढे पनि आधा दर्जन बैंकको लाभांश दिन सक्ने क्षमता छैन । यस वर्ष प्रतिफल नपाउने देखेपछि लगानीकर्ताको बैंकको सेयर प्रति आकर्षण घट्दा मूल्य  झनै घटेको हो ।

समग्र सेयर बजारमा आएको गिरावटका साथै वित्तीय प्रणालीमा देखिएका समस्याहरूले पनि बैंकको सेयर मूल्यलाई प्रभावित बनाएको देखिन्छ । प्रणालीमा पर्याप्त लगानी योग्य रकम भए पनि कर्जाको माग नहुनु, महँगो ब्याजदर, बढ्दो खराब कर्जा लगायत कारणले पनि बैंकको सेयर मूल्य सस्तिँदै गएको हो ।

यस्तै, गत वर्षको वित्तीय विवरण अनुसार अधिकांश हाइड्रोपावर कम्पनीको नाफामा भारी गिरावट आएको छ भने ३ दर्जन बढी कम्पनी घाटामा छन् । बैंकिङ प्रणालीमा भएको ब्याजदर वृद्धिका कारण ब्याज खर्च ह्वात्तै बढ्दा हाइड्रोपावर कम्पनीहरूको नाफामा ठूला असर परेको हो ।

अधिकांश हाइड्रोपावर कम्पनीले गत वर्षको नाफाबाट लाभांश दिन सक्ने देखिँदैन । प्रतिफल नपाउने देखेपछि हाइड्रोपावरको सेयरमा लगानीकर्ताको आकर्षण घट्दा सेयर मूल्यमा पनि भारी गिरावट आएको हो ।

त्यस्तै, अन्य क्षेत्रका कम्पनीको तुलनामा हाइड्रोपावर कम्पनीको संख्या धेरै रहेको छ । हाल नेप्सेमा ८२ वटा हाइड्रोपावर कम्पनी सूचीकृत छन् । धेरै कम्पनी हुँदा सेयर आपूर्ति पनि धेरै हुने भएकाले मूल्यमा पनि असर परेको हो । यद्यपि, कहिल्यै प्रतिफल नदिने केही हाडड्रोपावरको सेयर संख्या थोरै भएकाले स्वार्थ समूहहरूले चलखेल गरेर मूल्य बढाउने गरेका छन् ।

यी हुन् २०० रुपैयाँभन्दा कम सेयर मूल्य भएका ३० कम्पनी

नेप्सेमा सूचीकृत कम्पनीहरूमध्ये अहिले १० प्रतिशत बढी कम्पनीको सेयर मूल्य प्रतिकित्ता २०० रुपैयाभन्दा तल झरेको छ । जबकि नेप्से ३२०० पुग्दा यी अधिकांश कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४०० रुपैयाँ माथि थियो ।

नेप्सेमा सोमबार कारोबार भएको अन्तिम मूल्य अनुसार ३० कम्पनीको सेयर मूल्य प्रतिकित्ता २०० भन्दा कम छ । जसमा ६ वटा वाणिज्य बैंक र २४ वटा हाइड्रोपावरको सेयर २०० रुपैयाँभन्दा कम छ ।

नेप्सेमा सूचीकृत १९ वाणिज्य बैंकमध्ये ६ बैंकको सेयर मूल्य २०० रुपैयाँभन्दा कम छ । कुमारी, प्रभु, नेपाल इन्भेष्टमेन्ट मेगा, लक्ष्मी सनराइज, प्राइम् कमर्शियल र सिटिजन्स बैंकको सेयर मूल्य २०० रुपैयाभन्दा तल रहेको छ । जसमा कुमारीको भाउ सबैभ्न्दा कम प्र्रतिकित्ता १५८ रुपैयाँ रहेको छ ।

यसैगरी, दुई दर्जन हाइड्रोपावरको पनि सेयर मूल्य प्रतिकित्ता २०० रुपैयाँभन्दा कम छ । जसमा हिमाल दोलखा हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा कम प्रतिकित्ता १३७ रुपैयाँ मात्रै छ ।

दिव्यश्वरी, शिव श्री, आँखुखोला, मोलुङ, युनियन, पञ्चकन्यामाई, मोदी इनर्जी, खानीखोला, अपि पावर, घलेम्दी, सिनर्जी पावर हाइड्रोपावरको सेयर भाउ प्रतिकित्ता १७५ रुपैयाँभन्दा कम रहेको छ ।

त्यसैगरी, माउन्टेन, अरुण काबेली, भूगोल इनर्जी, दोल्ती पावर, युनिभर्सल पावर, युनाइटेड मोदी, हिमालयन र मायाखोला हाइड्रोपावरको सेयर मूल्य प्रतिकित्ता २०० रुपैयाँभन्दा कम छ ।

असोज १ देखि बञ्चरेडाँडामा फोहर फाल्न सधैंका लागि राेक्ने स्थानीयको घोषणा Read Previous

असोज १ देखि बञ्चरेडाँडामा फोहर फाल्न सधैंका लागि राेक्ने स्थानीयको घोषणा

सन नेपाल लाइफको आईपीओ बाँडफाँट यसैसाता Read Next

सन नेपाल लाइफको आईपीओ बाँडफाँट यसैसाता