जाजरकोटमा विद्युतीकरण गर्न ३ अर्बको ठेक्का

जाजरकोट । जाजरकोटलाई विद्युतीकरण गर्नका लागि रू ३ अर्बको ठेक्का गरिएको छ । जिल्लाको कुशे गाउँपालिकाको समाइला, पश्चिम जाजरकोटको वडावनलगायतका ठाउँमा नयाँ सबस्टेशन निर्माणका लागि रू ३ अर्बको नयाँ ठेक्का गरिएको हो ।

भेरी नगरपालिकाको कुदुमा नयाँ सबस्टेशन निर्माण भइसकेको छ । त्यस्तै, पूर्वी जाजरकोटसहित तल्लो डोल्पासम्म विद्युतीकरण गर्नका लागि नलगाडको चोखामा सबस्टेशन निर्माण जारी रहेको नेपाल विद्युत प्राधिकरण जाजरकोटले जनाएको छ ।

बारेकोट, कुशे गाउँपालिकामा विद्युतीकरण गर्नका लागि समाइला सबस्टेशन निर्माण गर्न ठेक्का खोली कामको तयारी भइरहेको प्राधिकरणले जनाएको छ ।

पश्चिको छेडागाड, शिवालय र जुनिचाँदेमा विद्युतीकरण गर्नका लागि वडावनको सवस्टेशनबाट काम हुने भएको छ । प्राधिकरणका प्रमुख अभिषेकराज कलवारले चौखाको सबस्टेशन छ महिनाभित्र पूरा हुने बताए । काम गर्ने जनशक्ति कम भएकाले केही प्रविधिक समस्या भएको उनको भनाइ थियो ।

उनका अनुसार कुदु सबस्टेशनबाट रुकुमपश्चिम, जाजरकोट र सल्यानमा प्रसारण लाइन लिइएको छ । ३३ केभी प्रसारण लाइन तीन जिल्लामा पुर्याएको जनाइएको छ ।

चौखाको सबस्टेशन निर्माणपछि ताक्सुगाड जलविद्युत् आयोजनासँगै डोल्पाको जगदुल्ला जलविद्युत् आयोजना १०६ मेगावाटको निर्माणले निरन्तरता पाउने प्रमुख कलवारले बताए।

उनका अनुसार १३२ केभी प्रसारण लाइन कोहलपुरबाट सिधैँ सुर्खेतको मैनतडामा आठ महिनाभित्र पुग्ने लक्ष्य राखिएको छ । ‘१३२ केभी प्रसारण लाइनलाई जाजरकोटसम्म ल्याएमा मात्र विद्युत् सेवा दिगो हुने अपेक्षा गरिएको छ,’ उनले भने ।

४०० केभी प्रसारण लाइनको लागि जाजरकोटको दानी पिपलबाट सुर्खेतको मैनतडासम्म प्रसारण तथा सबस्टेशनको काम यही आर्थिक वर्षमा गर्ने तयारी भइरहेको प्रमुख कलवारले जानकारी दिए । दुवै प्रसारण लाइन मैनतडामै जडान हुने प्राधिकरणले जनाएको छ ।

जिल्लाका सबै ठाउँमा विद्युतीकरण गर्नका लागि कुनै पनि सामग्रीको अभाव नभएको कार्यालयले जनाएको छ । जिल्लाभरी झण्डै ३० प्रतिशत विद्युतीकरण भएको छ । ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले दुई वर्षभित्र कर्णालीभरी विद्युतीकरण गरिसक्ने दाबी गरेका छन् ।

धमाधम स्तरोन्नति हुँदै नागढुंगा-मुग्लिन सडक, नौबिसे खण्डमा पिच गर्न मात्रै बाँकी Read Previous

धमाधम स्तरोन्नति हुँदै नागढुंगा-मुग्लिन सडक, नौबिसे खण्डमा पिच गर्न मात्रै बाँकी

मर्जरपछि बनेको ‘लक्ष्मी सनराइज बैंकको’को सेयर नेप्सेमा सूचीकृत, ओपनरेञ्ज कति ? Read Next

मर्जरपछि बनेको ‘लक्ष्मी सनराइज बैंकको’को सेयर नेप्सेमा सूचीकृत, ओपनरेञ्ज कति ?