काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीले भदौ १९ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ)निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र कास्कीका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि सेयर बिक्रीमा ल्याउन लागेको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले १९ करोड १२ लाख ५० हजार रुपैयाँ बराबरको १९ लाख १२ हजार ५०० कित्ता सेययर निष्काशन गर्न लागेको हो ।
सो सेयरमा माछापुच्छ्रे गाउँपालिकाको वडा नं. १, २, ३, ४ र पोखरा महानगरपालिका वडा नं १९ का स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन् ।
त्यसैगरी, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले १ करोड ९१ लाख २५ हजार रुपैयाँ बराबरको १ लाख ९१ हजार २५० कित्ता साधारण सेयर निष्कासन गरिने छ ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख ८० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतम् १९ हजार १२० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।
आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन बन्द छिटोमा असोज २ गते र ढिलोमा असोज १७ गते हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने असोज २ गतेभित्र आवेदन दिनुपर्नेछ ।
स्थानीय बासिन्दाले आयोजना स्थल, मुक्तिनाथ विकास बैंक र नेपाल फाइनान्सका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरुका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । आइपीओ निष्काशनको लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई ‘आइआरएन डबल बी इस्यूअर’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ
कम्पनीले हाल कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यसको कुल अनुमानित लागत ५ अर्ब २० करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २० करोड ८० लाख रुपैयाँ रहेको छ।