मनिला । खाद्य तथा इन्धनको मूल्यवृद्धि र कोरोना भाइरसको महामारीले गत वर्ष विकासशील एसियाका करिब ७ करोड मानिसलाई चरम गरिबीतर्फ धकेलेको एसियाली विकास बैंक (एडीबी) ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
सन् २०१७ को मुद्रास्फीतिमा समायोजित मूल्यका आधारमा मनिलास्थित यो ऋणदाताले दैनिक २।१५ डलरभन्दा कम खर्चमा जीविका चलाउनुलाई चरम गरिबीका रूपमा परिभाषित गरेको छ ।
एडीबीका प्रमुख अर्थशास्त्री अल्बर्ट पार्कले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘एशिया र प्रशान्त क्षेत्र कोभिड–१९ को महामारीबाट निरन्तर सुधार भइरहेको छ, तर जीवनयापनको बढ्दो सङ्कटले गरिबी उन्मूलनतर्फको प्रगतिलाई कमजोर बनाइरहेको छ ।’
सन् २०२२ मा अनुमानित १५ करोड ५२ लाख मानिस अर्थात् यस क्षेत्रको जनसङ्ख्याको ३.९ प्रतिशत चरम गरिबीमा बाँचिरहेका थिए, जुन महामारी र उच्च खर्चबिनाको जीवनयापनभन्दा ६ करोड ७८ लाख बढी हो ।
विकासशील एसिया भन्नाले मध्य एसियाको कजाकिस्तानदेखि प्रशान्त महासागरको कुक टापुसम्म फैलिएको बहुपक्षीय ऋणदाताका ४६ उदीयमान सदस्य अर्थतन्त्रलाई बुझाउँछ ।
रिपोर्टमा भनिएको छ, ‘उच्च मुद्रास्फीतिका कारण गरिब जनता सबैभन्दा बढी मारमा परेका छन् । उनीहरूले आवश्यकताका लागि उच्च मूल्य तिर्न सक्दैनन् । यसले गर्दा धेरैले पैसा बचत गर्न, स्वास्थ्य सेवाको लागि भुक्तानी गर्न वा शिक्षामा लगानी गर्न सक्दैनन् ।’
एडीबीका अनुसार महामारीले सन् २०२० मा ७ करोड ५० लाखदेखि आठ करोडभन्दा बढी मानिसलाई चरम गरिबीमा धकेलेको छ ।
सन् २०२२ को ४.४ प्रतिशतरहेको मुद्रास्फीति यस वर्ष ३।६ प्रतिशतमा खुम्चिने बैंकले जनाएको छ ।
विकासशील एशियाली अर्थतन्त्रले गरिबीविरुद्ध निरन्तर प्रगति गरिरहनुपर्ने भए पनि सन् २०३० सम्ममा अनुमानित १ अर्ब २६ करोड मानिस अर्थात् यस क्षेत्रको अनुमानित जनसङ्ख्याको करिब ३० प्रतिशतलाई अझै पनि ‘आर्थिक रूपमा कमजोर’ मानिएको छ । यो शब्दले सन् २०१७ को मूल्यमा आधारित दैनिक ३।६५ देखि ६।८५ डलरमा बाँच्ने व्यक्तिलाई ‘आर्थिक रूपमा कमजोर’ जनाउँछ ।