काठमाडौं । एनआइसी एशिया बैंकले देशका विभिन्न ठाउँमा आफ्नो नाममा रहेको घरजग्गा बेच्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न १०३ ठाउँमा रहेको घरजग्गा बिक्री गर्ने जानकारी गराएको हो ।
बैंकले विभिन्न समयमा ऋणीको धितो लिलाम हुन नसकेर आफूले सकारेको गैर बैंकिङ सम्पत्तिको रुपमा रहेका घरजग्गा बिक्री गर्न लागेको हो ।
बैंकले काठमाडौं उपत्यकासहित पोखरा, सिराहा, रौतहट, मकवानपुर, झापा, कपिलवस्तु, गुल्मी लगायतका विभिन्न स्थानमा रहेको सम्पत्ति बिक्री गर्न लागेको हो।
बैंकले ७ दिने गोप्य शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरेको छ । उक्त सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी, संघ संस्थाहरुले गोप्य शिलबन्दी पेश गर्नुपर्ने बैंकले जनाएको छ ।
ऋणीले समयमै कर्जा तिर्न नसकेपछि धितो राखिएको सम्पत्ति बैंकहरुले लिलामी गर्नुपर्ने हुन्छ । उक्त लिलामी बिक्री नभएमा आफैंले सकार्न पाउँछन् । तर, बैंकहरुले धितो सकार्दा बढीमा १५० रोपनी जग्गा मात्र आफ्नो नाममा राख्न पाउँछन् ।
