धोबीखोला करिडोर निमार्णको २० वर्ष : पौने ३ अर्ब खर्च, १२ किलोमिटर कालाेपत्रे

काठमाडौं । धोवीखोला करिडोर सुधार आयोजनामा हालसम्म पौने ३ अर्ब खर्च भइसकेको छ । सो लागत खर्च हुँदा समेत हालसम्म धोबीखोला सुधारका काम पूरा हुन सकेका छैनन् ।

 

कूल २८ किलोमिटर करिडोर सुधार आयोजनामा हालसम्म १२ किलोमिटर हाराहारीमा मात्र कालोपत्रे भएको हो । धोवीखोला करिडोर अन्तर्गत हालसम्म २ अर्ब ६९ करोड रुपैयाँ बराबर लागत खर्च भइसकेको प्राधिकरणले जनाएको छ । हालसम्म १२ किलोमिटर हाराहारीमा सडक कालोपत्रे भएको छ ।

 

चालू आवमा हालसम्म ७ करोड रुपैयाँ हाराहारीमा खर्च भएको प्राधिकरणका धोवीखोला करिडोर आयोजनाका इन्जिनीयर रन्जन सिलवालले बताए । उनले हालसम्म यस योजना अन्तर्गत २० किलोमिटर सडकको ट्रयाक खोल्ने काम पूरा भएको जानकारी दिए ।

‘हालसम्म हामीले २० किलोमिटर सडकको ट्रयाक खोलिसक्यौं, १२ किलोमिटर सडक कालोपत्रे गरिसक्यौं र १५ किलोमिटरमा फूटपाथ निर्माण कार्य सम्पन्न गरेका छाैं,’ सिलवाले चाणक्य पोष्टसँग भने ।

 

उनका अनुसार खोलामा पर्खाल लगाई नदी नियन्त्रण गर्ने कार्य २२ किलोमिटरसम्म सम्पन्न भएको छ ।

 

हाल भइरहेको काम

 

प्राधिकरणले सेतोपुलको अन्डर पास वरिपरी कालोपत्रेको काम केहि दिन अघि पूरा गरेको छ । विभागका सिभिल इन्जिनीयर सुजन कुँवरका अनुसार यही पुष महिनाभित्र धोबीखोला करिडोर अन्तर्गत खैरो पुलदेखि बैजनी पुलसम्मका सडकमा कालोपत्रे गरिसकिने छ । सो सडक दुबै तर्फ गरी ११ किलोमिटर लम्बाईको रहेको छ ।

यस्तै, प्राधिकरणका सूचना अधिकारी केशव न्यौपानेले चालू आर्थिक वर्ष भित्र धोवीखोला करिडोर अन्तर्गत सबै सडक कालोपत्रे तथा सुधारका काम पूरा गरिने बताए ।

 

‘यही चालू आवभित्र हामी धोबीखोलाको सबै सडक कालोपत्रे गरिसक्ने प्रयासमा छौँ’, न्यौपानेले भने ।

 

धोवीखोला करिडोरको लागत र काम

 

सरकारले हालसम्म धोवीखोला करिडोरमा मात्र कूल लागत ४ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । चालू आर्थिक वर्षमा ३२ करोड ५ लाख रुपैयाँ विनियोजन गरेको छ । ठेक्का कम्पनीसँग ३० करोड ९५ लाख रुपैयाँसम्ममा धोवीखोला सुधार गर्ने सम्झौता भएको छ ।

विभागका इन्जिनीयर सिलवालले सो ठेक्का कम्पनीले निलो पुलदेखि कपन भंगालसम्म ९ मिटर सडक ट्रयाक खोल्ने र ढल राख्ने कार्य सम्पन्न गरेको बताए । भंगालदेखि राम मन्दिरसम्म दुबै तर्फ ४ किलोमिटर सडकमा ढल राखि कालोपत्रे हुने काम भएको हो ।यस्तै विभिन्न स्थानमा ४ किलोमिटर सडक कालोपत्रे गर्ने कार्य समेत सम्पन्न गरेको हो ।

 

हाल धोवीखोला करिडोरको ठेक्का समान्तर/कमलजित/उमा जेभीलाई हस्तान्त्रण गरिएको छ । सो ठेक्का कम्पनीले २०७६ जेठ ८ गते ठेक्का हस्तान्त्रण गरिएको हो । ठेक्का कम्पनीले २०७८ जेठ १५ सम्म धोबीखोला करिडोर सुधारका काम पूरागर्नु पर्ने छ ।

 

धोवीखोला करिडोर कहिलेदेखि शुरु भयो ?

 

आर्थिक वर्ष २०५६/५७ मा काठमाडौं महानगरपालिकाले करिडोर निर्माण प्रक्रिया अगाडि बढाएको थियो । महानगरपालिकाले काम गर्न नसकेपछि सरकारले आव २०६६/६७ मा करिडोर निर्माणको जिम्मा तत्कालीन नगर विकास समिति (हालको काठमाडौं उपत्यका विकास प्राधिकरण)लाई दिएको थियो ।

प्राधिकरणले धोबीखोला करिडोर सुधार आयोजना गठन गरी आयोजनाले पञ्चवर्षीय योजना बनाएर आव २०७२/०७३ मा सक्ने लक्ष्य राखे पनि करिडोरको लम्बाई थपिएको भन्दै आव २०७५/०७६ सम्म सक्ने लक्ष्य बनाएको थियो ।

 

तर, विभिन्न कारण देखाउँदै काम सम्पन्न हुन नसके पछि हाल २०७८ जेठ १५ सम्मका लागि समय अवधि थप गरिएको छ ।  करिडोर आयोजनाको काम हेर्दा भने अझै ५० प्रतिशत काम बाँकी नै देखिन्छ ।

अब बिहानै विद्यालय खोले कारवाही हुने Read Previous

अब बिहानै विद्यालय खोले कारवाही हुने

हिमालय एयरलाइन्सकाे चीनको गुइयाङ् उडान शुरु Read Next

हिमालय एयरलाइन्सकाे चीनको गुइयाङ् उडान शुरु