काठमाडौं । सरकारले एकैपटक ६५८ वटा अस्थायी दरबन्दी सिर्जना गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को साउन ३० गते र भदौ ६ गते बसेको बैठकले विभिन्न मन्त्रालय र मातहतमा सञ्चालित आयोजनाहरूका लागि उक्त दरबन्दी सिर्जना गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्ले सहरी विकास मन्त्रालयअन्तर्गत नयाँ सहरी आयोजना लगायतका निकायमा राजपत्रांकित श्रेणीका ४६९ अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।
त्यसैगरी, सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको लागि ५८ वटा, वन तथा वातावरण मन्त्रालयअन्तर्गत आर्थिक वर्ष २०८०/८१ मा संचालन हुने संरक्षित क्षेत्र र जैविक मार्गका लागि एकीकृत भुपरिधि व्यवस्थापन आयोजना लगायतका १७ वटा आयोजना तथा कार्यक्रमहरूका लागि राजपत्रांकित श्रेणीका ३८ वटा दरबन्दी सिर्जना गर्न स्वीकृति प्रदान गरेको सरकारकी प्रवाक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
त्यस्तै, कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना र आयोजना सहयोग इकाइहरुकालागि आवश्यक १९ वटा, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चिकित्सा शिक्षा आयोग मातहतका निकायमा ७४ अस्थायी दरबन्दी सिर्जना गर्ने निर्णय स्वीकृत भएको छ ।