काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा लघुवित्त वित्तीय संस्थाको खुद नाफामा उच्च गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचीकृत ५५ लघुवित्त संस्थाहरूले सार्वजनिक गरेको गत आवको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा औसतमा ४६.२ प्रतिशतले घटेको हो ।
गत आवमा लघुवित्त वित्तीय संस्थाले कुल ४ अर्ब ९८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा यी लघुवित्तहरूले ९ अर्ब २७ करोड रुपैयाँ खुद नाफा कमाएका थिए । अघिल्लो वर्षको तुलनामा गत वर्ष लघुवित्तहरूको खुदा नाफा ४ अर्ब २९ करोड रुपैयाँ कम हो ।
समग्र अर्थतन्त्रमा देखिएको असर, लघुवित्त वित्तीय संस्था विरुद्धका अराजक गतिविधिले संस्थाहरूको खराब कर्जा बढ्दा त्यसको असर नाफामा परेको छ । अर्कोतिर वाणिज्य बैंककै उच्च ब्याजदर वृद्धिले लघुवित्त वित्तीय संस्थाको पनि लागत बढेको छ ।
लघुवित्त संस्थाहरूले वाणिज्य बैंकहरूसँग सापटी लएर ग्राहकलाई ऋण लगानी गर्छन् । बैंकहरूले लिने ब्याजको सीमा नतोकिए पनि लघुवित्तहरूले १५ प्रतिशतभन्दा धेरै ब्याज लिन पाउँदैनन् । बैंकसँग महँगो ब्याजमा ऋण लिएर ग्राहकलाई १५ प्रतिशतमा लगानी गर्नुपर्दा लघुवित्तहरूले नाफा घट्न पुगेको हो । असुली र लागतको दबाबमा परेका लघुवित्तहरूको खराब कर्जा बढ्न गई प्रोभिजनिङ बढ्दा नाफा नराम्ररी प्रभावित भएको हो ।
गत वर्ष लघुवित्तहरूको औसत खराब कर्जा नै राष्ट्र बैंकको सीमा माथि अर्थात् ६ प्रतिशत पुगेको छ । ५ प्रतिशतभन्दा बढी खराब कर्जा हुने वित्तीय संस्थालाई नराम्रो मानिन्छ भने राष्ट्र बैंकले विभिन्न कारबाही समेत गर्ने गर्दछ ।
सूचीकृत ५५ लघुवित्त मध्ये गत वर्ष ८ लघुवित्तको मात्रा नाफा बढेको छ भने अरु सबैको घटेको छ । ८ वटा लघुवित्त नोक्सानीमा गएका छन् ।
गत वर्ष छिमेक लघुवित्तले सबैभन्दा धेरै १ अर्ब ६ करोड खुद नाफा कमाएको छ भने जाल्पा सामुदायिक सबैभन्दा धेरै ११ करोड घाटामा रहेको छ । गत वर्ष किसान लघुवित्तको नाफा सबैभ्न्दा धेरै १११०.६६ प्रतिशतले बढेको छ । त्यस्तै, स्वाबलम्बन २१.२८, ग्रामीण विकास १७.२२, साना किसान १६.७५, छिमेक, ११.३७ र आरएसडीसी लघुवित्तको खुद नाफा ५.७१ प्रतिशतले बढेको छ ।
गत वर्ष गुराँस, धौलागिरि, एनएमबी, वीन नेपाल, आरम्भ चौतारी, सामुदायिक, लक्ष्मी र जाल्पा लघुवित्त घाटामा गएका छन् । जसमा जाल्पा ११ करोड, लक्ष्मी लघुवित्त ८ करोड, सामुदायिक लघुवित्त ३ करोड, आरम्भ चौतारी २ करोड, वीन नेपाल २ करोड ४० लाख, एनएमबी लघुवित्त २ करोड २४ लाख, धौलागिरी १ करोड र गुँरास लघुवित्त वित्तीय संस्था ५४ लाख रुपैयाँले घाटामा छ ।
कुनले कति कमाए ?
सबैभन्दा धेरै नाफा कमाउनेमा छिमेकी लघुवित्त वित्तीय संस्था पहिलो नम्बरमा छ । यो लघुवित्तले अघिल्लो वर्ष ९४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेकोमा गत वर्ष १२.११ प्रतिशतले बढाएर १ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएको छ ।
त्यसैगरी, साना किसान लघुवित्तले ८१ करोड, जीवन विकास ४० करोड, डेप्रोक्स ३७ करोड, स्वाभिलम्बन लघुवित्त वित्तीय संस्थाले ३३ करोड, एनआइसी एसीय लघुवित्तले ३० करोड, फरवार्डले २२ करोड, नेशनल २१ करोड, फस्र्ट माइक्रोफाइनान्स १९ करोड, नेस्डो १४ करोड, ग्लोबल आइएमई १२ करोड, आरएसडीसी लघुवित्त वित्तीय संस्थाले ११ करोड रुपैयाँ खुद नाफा कमाएका छन् ।
यसैगरी, स्वरोजगार ९ करोड, सूर्योदय वोमी, महिला, मेरो माइक्रोफाइनान्सले ७/७ करोड रुपैयाँ बढी खुद नाफा कमाएका छन् । ग्रामीण विकास ६, विजय लघुवित्त, नेरुडे, माहुली र मिर्मिरे लघुवित्तले ५/५ अर्ब रुपैयाँ बढी नाफा आर्जन गरेका छन् ।
वित्तीय विरण अनुसार कालिका र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले ४/४ करोडले नाफा कमाएका छन् । आशा लघुवित्तले ३ कारोड रुपैयाँ नाफा आर्जन गरेको छ । आधा दर्जन लघुवित्तले १ करोड बढी खुद नाफा कमाएका छन् भने एक दर्जन बढीको खुद नाफा करोडभन्दा कम छ ।