काठमाडौं । डेढ वर्षदेखिको वित्तीय क्षेत्रको शिथिलताले नयाँ आर्थिक वर्षमा पनि निरन्तरता पाएको छ । बैंकिङ प्रणालीमा तरलता थुप्रिँदा समेत ऋण माग नभएपछि बैंकको व्यवसायमा धक्का लाग्ने देखिएको छ ।
गत वर्ष तरलता अभाव र ऋण माग नभएका कारण कर्जा लगानी गर्न नसकेका बैंकहरूले चालु आर्थिक वर्षमा पनि सोही समस्या भोगिरहेका छन् । अहिले बैंकिङ प्रणालीमा साढे ३ खर्ब बढी लगानी योग्य रकम भए पनि कर्जाको माग नहुँदा त्यत्तिकै थुप्रिएर बसेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार साउनमा समग्र बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ४ अर्ब रुपैयाँ बढेको छ । यो महिना समग्रमा वाणिज्य बैंकको कर्जा लगानी ५ अर्बले बढे पनि विकास बैंक, फाइनान्स कम्पनीको भने १ अर्ब रुपैयाँले घटेको तथ्यांकले देखाउँछ ।
गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको कुल ४८ खर्ब ५५ अर्ब रुपैयाँ कर्जा लगानी पुगेकोमा साउन मसान्तसम्म सामान्य वृद्धिभएर ४८ खर्ब ५९ अर्ब रुपैयाँ पुगेको छ ।
नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्री आर्थिक शिथिलताले मानिसको खर्चगर्ने क्षमता ह्रास हुँदा कर्जाको माग बढ्न नसकेको बताउँछन् । ‘विशेष कुरा भनेको अहिले आर्थिक गतिविधिमा शिथिलता आएको छ । मानिसको पर्चेजिङ क्यापासिटी घटेको छ,’ उनले भने, ‘सानोतिनो व्यवसायहरू पनि बढ्न सकेन् । यसले माग घटाएको हो ।’
मानिसले आफूसँग भएको पैसा उद्योग व्यवसायमा लगानी गर्नभन्दा बैंकमा राख्नेको संख्या बढ्दो देखिएको उनले बताए । ‘गत वर्ष ३ प्रतिशतले कर्जा वृद्धि हुँदा १२ प्रतिशतले निक्षेप बढेको थियो । यो भनेको मानिसहरूले आफूसँग भएको पैसा बैंकमा राख्ने तर, उद्योग व्यवसायमा लगानी नगर्ने देखियो,’ क्षेत्री भन्छन् ।
कर्जाको माग नहुँदा स्रोत भने बैंकमै थुप्रिएको छ । बैंकरहरूका अनुसार अहिले बैंकहरूसँग साढे तीन खर्ब रुपैयाँ बढी ऋण दिनसक्ने तरलता छ । साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाको औसत सीडी रेसीयो ८३.५७ प्रतिशत रहेको छ । संस्थाहरूले ९० प्रतिशतको अनुपातसम्म कर्जा लगानी गर्न पाउँछन् ।
लगानीको गर्न सहज अवस्थामा भए पनि माग बढ्न नसक्दा व्यवसायमै असर पर्ने देखिएको वाणिज्य बैंकका एक प्रमुख कार्यकारी अधिकृत बताउँछन् । ‘हामीले अपेक्षा गरेअनुसार ऋणको माग भइरहेको छैन । यस्तै स्थिति हो भने यो वर्ष पनि गत वर्षको जस्तै हुन्छ,’ उनले भने, ‘समग्र अर्थतन्त्रमा देखिएको असरको रिफ्लेक्सन हो यो । बैंकले मात्रै केही गर्न सक्दैनन् ।’
लगानीको माग नहुँदा बैंकको व्यवसायमै संकट देखिएको र यही अवस्थाले नियामकीय लक्ष्यअनुसार कर्जा विस्तार नहुने उनले बताए । नेपाल राष्ट्र बैंकले चालु आवमा ११.५ प्रतिशतले निजी क्षेत्रतर्फ कर्जा विस्तार गर्ने लक्ष्य लिएको छ । जसको लागि बैंकहरूले करिब ६ खर्ब रुपैयाँ लगानी बढाउनुपर्ने हुन्छ । गत वर्ष स्रोत अभाव र माग संकुचनका कारण लक्ष्यको ३ प्रतिशत १ खर्ब ४१ अर्ब रुपैयाँ मात्रै कर्जा लगानी गर्न सकेका थिए ।
बैंकहरूले प्रकाशित गरेको गत वर्षको वित्तीय विवरण अनुसार एक वर्षमा खराब कर्जा दोब्बरले बढेको छ । नयाँ ऋण लगानीको वातावरण नहुनु र लगानी गरेको ऋण समेत ग्राहकले तिर्न नसक्दा प्रोभिजन र खराब कर्जा बढेको छ ।
साउनमा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १ खर्ब ३० अर्ब रुपैयाँले घटेको छ । गत असार मसान्तसम्म बैंकहरूले स्थानीय तहको ८० प्रतिशत रकम निक्षेपको रुपमा गणना गर्न पाएका थिए ।
सरकारले सो व्यवस्था हटाएसँगै बैंकहरूले गणना गरिरहेको ठूलो निक्षेप रकम घटेको देखिएको हो । यद्यपि, यही भदौ दोस्रो सातापछि सरकारले फेरि स्थानीय तहको ६० प्रतिशत रकम बैंकलाई निक्षेपको रुपमा गणना गर्न दिने निर्णय गरेको छ ।
बैंकको लागत महंगियो, लगानी गर्न छैन सहज
कर्जाको माग नभएपछि गत फागुन यता ब्याजदर घटाउँदै आएका बैंकहरूले फेरि बढाउन थालेका छन् । साउनमा निक्षेपको ब्याजदर आफूखुसी घटबढ गरेका बैंकहरूले भदौमा धेरैले बढाएका छन् ।
पूर्वगभर्नर क्षेत्री बैंकको ब्याजदर वृद्धिले उद्योग व्यवसायमा लगानीको लागि अवसर पर्खिरहेकालाई समस्या परेको बताउँछन् । ‘फेरि बैंकले ब्याजदर बढाउन थालेका छन् । ब्याज कम हुँदै गएपछि लगानी गरौंला भन्नेहरूलाई समस्या परेको छ,’ उनले भने ।
बैंकहरूले एउटै ब्याजदर तोक्ने भद्रसहमती तोडेसँगै अहिले निक्षेप तान्न ब्याज बढाउने प्रतिस्पर्धा गरिरहेका हुन् । भदौमा एक दर्जन बैंकले ब्याजदर बढाएका छन् । बैंकहरूले महंगो ब्याज तिरेर निक्षेप बढाए पनि कर्जाको माग नहुँदा उनीहरूको लागत बढेको छ । जसको असर केही समयपछि फेरि आधारदर बढेर बैंकको कर्जाको ब्याजदरमा देखिनेछ ।
निक्षेपको महंगो ब्याज तिरेर सस्तो ब्याजमा समेत कर्जा लगानी नहुँदा बैंकहरू दोहोरो दबाबमा परेका हुन् । बैंकले अन्य आम्दानी गर्ने भएकाले महंगो निक्षेपको दबाब नरहेको क्षेत्रीले बताए । ‘शुद्ध ब्याज आम्दानी मात्रै भए लागत बढी छ भन्ने ठीकै हो । तर, १ लाख रुपैयाँ ऋण दिँदा एक महिनाको पहिल्यै ब्याज राख्ने साहु महाजन जस्तो प्रवृत्ति बैंकहरूमा देखिएको छ,’ उनी भन्छन् ।