चाडपर्व नजिकिएसँगै किन सधैं बढ्छ खाद्यान्नको भाउ ?

काठमाडौं । चाडपर्वको सिजन सुरू भएसँगै बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिन थालेको छ । पछिल्लो १ महिनामा मात्रै उपभोग्य वस्तुको मूल्य १० देखि २० प्रतिशतसम्म बढेकाे छ ।

जनैपूर्णिमा, तीज, दशैं, तिहाल लगायत चाडपर्व नजिकिन थालेकोले व्यापारीहरूले अनेक बाहनामा खाद्यान्न लगायत वस्तुको भाउ बढाउन थालेका छन् । अहिले बजारमा दाल, चामल, चिनी, खानेतेल, जिरामसाला लगायत अधिकांश दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ ।

बजारमा मुख्य खाद्यान्न चामलको भाउ बोरामै डेढसयदेखि ४०० रुपैयाँसम्म महँगिएको छ । गत महिना भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएपछि व्यापारीहरूले सोही बाहनामा चामलको भाउ बढाएका छन् । व्यापारीले भारतले प्रतिबन्ध लगाउनु अघि नै ल्याएर गोदाममा राखेको चामलको भाउ आफूखुसी बढाएका हुन् ।

त्यसैगरी, खानेतेलको मूल्य लिटरमा १० देखि ३० रुपैयाँ महँगिएको छ ।गत असारमा प्रतिकार्टुन १८०० रुपैयाँमा पाइने सूर्यमुखी तेलको भाउ अहिले २ हजार पुगेको छ । त्यस्तै, २०५० रुपैयाँमा पाइने तोरीको तेल अहिले प्रतिकार्टुन २२०० रुपैयाँ पुगेको छ ।

जीराको भाउ किलोमै ३०० रुपैयाँसम्म बढेको छ । बजेटअघि प्रतिकिलो १ हजारमा पाइने जीरा अहिले १४०० रुपैयाँसम्म पुगेको छ । त्यस्तै, मास, मसुरो, मुगु लगायत दालको भाउ पनि किलोमा २० देखि ४० रुपैयाँसम्म बढेको छ । गत असारमा प्रतिकिलो ९० रुपैयाँ रहेको चिनीको भाउ अहिले १०५ रुपैयाँ पुगेको छ । यीलगायत अधिकांश दैनिक उपभोग्य वस्तुको भाउ बढेको छ । जसले अर्थतन्त्रमा आएको संकटले पिसिएका आम उपभोक्तालाई झनै थिचेको छ ।

किन बढ्यो भाउ ?

अहिले खाद्यान्नको मूल्य बढ्नु पर्ने खास कारण नभए पनि व्यापारीहरूले अनेक बाहनामा भाउ बढाएका छन् । चाडपर्वको बेला खपत धेरै हुने र उपभोक्ताले पनि जसरी पनि किन्ने भएकाले व्यापारीहरूले मनलाग्दी भाउ बढाएका हुन् ।

अहिले व्यापारीहरूले भारतले खाद्यान्नमा प्रतिबन्ध लगाएको, सरकारले बजेट मार्फत कर बढाएको, ढुवानी भाडा बढेको लगायत बाहनामा उपभोग्य वस्तुको भाउ बढाएका हुन् ।

साथै, सरकारले पनि प्रभावकारी अनुगमन गर्न नसक्दा व्यापारीहरूले मनपरी भाउ बढाउने गरेका छन् । सरकारले चाडपर्वको बेला कर्मकाण्डी बजार अनुगमन गर्ने गरेको छ । सोक्रममा एकाध व्यापारीलाई कारबाही गरे हुने भए पनि अधिकांश पसलमा अनुगमन नै नहुने भएकाले व्यापारीहरूले सकेजति भाउ बढाएर उपभोक्ता ठग्ने गरेका छन् ।

थोक बिक्रेताले नै उपभोग्य वस्तुको भाउ बढाएर पठाएकाले आफूहरुले पनि बढाउनु परेको खुद्रा व्यापारी बताउँछन् । कालोपुलस्थित अर्याल किराना पसलका सञ्चालन दुर्गामणी अर्याल चामलको मूल्य उद्योगबाटै बढेर आएको बताउँछन् । उनले चामलको मूल्य विगत १ महिनामा प्रतिबोरा १५० रुपैयाँदेखि ३०० रुपैयाँसम्म बढेको बताए । उनले दाल, चिनी र आटामा समेत मूल्य बढेको बताए । उनले खाने तेलमा प्रतिपोका १०० रुपैयाँ मूल्य बढेको छ । जिराको मूल्य हाल बजारमा १ हजार ३०० रुपैयाँ पुगेको छ ।

‘यो वर्ष सबै सामानको मूल्य बढेर आएको छ,’ अर्यालले चाणक्य पोष्टसँग भने ‘हामी सामान झार्दै बढेर आएको छ, घाटा खाएर बेच्ने कुरा पनि भएन ।’

खाद्य मूल्य नियन्त्रण तथा अनुगमनका लागि बनेको उद्योग वाणिज्य तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता होमनाथ भट्टराईले सम्बन्धीत व्यवसायीहरूलाई बोलाएर मूल्य वृद्धिको कारण सोधी उपयुक्त जवाफ माग गरिएको बताए । उनका अनुसार अधिकांशमा चामलको मूल्य वृद्धि भएका कारण भारतबाट धान महंगो आएको भन्दै व्यवसायीले चामलको मूल्य बढाएको पाएको बताए ।

उनले चामलको मूल्यमा १० रुपैयाँ र धानको मूल्य आयातका क्रममा ५ रुपैयाँ बढेको बताए । उनले अधिकांश खाद्य वस्तुको मूल्य बढ्नुमा यो वर्ष ढुवानीको कर बढेका कारण समेत सबैजसो वस्तुमा मूल्य वृद्धि भएको बताए ।

‘चामलमा भारतबाट धान ल्याउदा मूल्य बढेकोले यता मूल्य बढेको पाइएको छ, तेल, दाल, चिनीमा ढुवानी भाडा बढेकोले खर्च मूल्यमै राखिएको पाइएको छ,’ भट्टराईले चाणक्य पोष्टसँग भने ।

उनले दैनिक ३ वटा टोलीले बजार अनुगमन गरिरहेको बताए । चामलको मूल्य सुरूमा भारतले निर्यात रोक्दा ह्वातै बढे पनि हाल आएर सामान्य हुन थालेको उनको भनाइ छ ।

 

मधेसको काँचुली फेर्दै हुलाकी राजमार्ग : गाउँलाई बजार बनायो, जग्गाको भाउ उकास्यो Read Previous

मधेसको काँचुली फेर्दै हुलाकी राजमार्ग : गाउँलाई बजार बनायो, जग्गाको भाउ उकास्यो

काठमाडौं महानगरका विद्यार्थीले दैनिक ३० रुपैयाँ खाजा खर्च पाउने Read Next

काठमाडौं महानगरका विद्यार्थीले दैनिक ३० रुपैयाँ खाजा खर्च पाउने