राजमार्गको संख्या घटाइँदै, ८० वटालाई सातमा झार्न प्रस्ताव

काठमाडौं । सरकारले राजमार्गहरूको संख्या घटाउने तयारी थालेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले देशभरका राजमार्गहरू वर्गीकरण गरी संख्या घटाउने तयारी गरेको हो ।

अहिले पालिका, प्रदेश र संघीय स्तरका सडकहरू संचालनमा रहेको छन् । पछिल्लो समय सडक सञ्जालको लम्बाइ बढ्दै जाँदा कुन निकायले निर्माण र मर्मत सम्भार गर्ने भन्ने अन्योलता पनि बढ्दै गएको छ । यस्तोमा सडक निर्माण र मर्मतलाई व्यवस्थित बनाउन सरकारले राजमार्गको वर्गीकरण गरी संख्या घटाउन लागेको हो ।

राजमार्गको संख्या घटाउन मन्त्रालयले अध्ययन समित गठन गरी काम गरिरहेको छ । मन्त्रालयले सडकहरूको वर्गीकरण गरी रागमार्गको संख्या घटाउने भएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको विकास सहायता समन्वय तथा गुणस्तर महाशाखाका सहसचिव तथा इन्जिनीयर अर्जुनजंग थापाले सडक वर्गीकरणका क्रममा राजमार्गहरू घटाउने तयारी भएको बताए । उनको संयोजकत्वमा रहेको ५ जना सदस्यको समितिले अहिले काम गरिरहेको उनले बताए ।

‘सडकको वर्गीकरण गरी राजमार्गको संख्या घटाउने तयारी हुँदै छ । मसहितको ५ जना सदस्यको समितिले काम गरिरहेको छ । प्रारम्भिक रुपमा हामीले ८० वटा रहेका राजमार्गलाई ७ वटामा झार्ने प्रस्ताव गरेका हौँ,’ थापाले चाणक्य पोष्टसँग भने ।

८० वटा राजमार्गको कुल लम्बाइ १४ हजार ९४३ किलोमिटर रहेको छ । यी सडकहरूमा संघीय सरकारले सडक विस्तार, कालोपत्र लगायतका कामहरू गर्दै आएको छ । उक्त समितिले प्रदेश र स्थानीय निकायहरूले हेर्ने सडक पनि यस पटक वर्गीकरणमा पर्ने तयारी गरेको उनले जानकारी दिए ।

स्थानीय पूर्वाधार विभागबाट सहसचिव स्तरको प्रतिनिधि माग गरेको थियो । हालसम्म कुनै पनि स्थानीय तहले आफ्नो प्रतिनीध नपठाएको उनले गुनासो गरे । ‘हामीले वर्गीकरणका लागि स्थानीय तहका विभागहरूबाट प्रतिनिधी माग गरेका हौँ, तर अहिलेसम्म कुनै प्रतिनिधी आउनु भएको छैन, बाँकी म एक जना छु, मैले इन्जिनीयरहरूसँग मिलेर एउटा खाका बनाएको छु,’ थापाले भने ।

उनले छुट्टै इन्जिनीयरहरूसँग मिलेर बनाएको खाका अनुसार अहिले रहेका ८० वटा राजमार्गलाई ७ वटासम्म झार्ने गरी खाका तयार भएको बताएका हुन् । उनले अन्तर्राष्ट्रिय सिमानादेखि अन्तर्राष्ट्रिय सिमाना जोड्ने सडक, प्रदेश राजधानीदेखि प्रदेशराजधानी जोड्ने सडक, जिल्लाका सदरमुकाम जोड्ने जस्ता मुख्य सडकलाई राजमार्गमा राख्ने गरी मस्यौदा बनाएको बताए ।

यी मध्ये अन्तर्राष्ट्रिय सिमाना जोड्ने सडक संघीय सरकारले हेर्नेछ । पालिकाकेन्द्रदेखि वडा केन्द्रसम्म जाने सडकलाई स्थानीय तहमा राखिने गरी खाका तयार भएको छ । एउटा स्थानबाट मुख्य बजार र सदरमुकाम जाने सडकलाई प्रदेश स्तर सडक भनेर वर्गीकरण गरिएको छ ।

उनले यसरी वर्गीकरण गरेर मात्र केही हुन नसक्ने बताए । स्थानीय तहको प्रतिनिधी आएर उनीहरूले यसलाई अनुमोदन गरे पछि मात्र यसलाई कार्यन्वयन गर्न सहज हुने उनले बताए ।

यस्तै, मन्त्रालयले भविष्यमा केही सडकलाई राजमार्गबाट हटाउन समेत सिफारिस गरेको छ भने केहीलाई राजमार्गमा राख्न सिफारिस गरेको छ । हालसम्म कुन राजमार्गलाई हटाउने र थप्ने भन्ने विषयमा खुलासा गरिएको छैन ।

 

भदौ २० देखि साउदीको दमाम उडान गर्दै नेपाल एयरलाइन्स, टिकट बुकिङ खुला Read Previous

भदौ २० देखि साउदीको दमाम उडान गर्दै नेपाल एयरलाइन्स, टिकट बुकिङ खुला

पहिराले बेँसीसहर–चामे सडक पुनः अवरुद्ध Read Next

पहिराले बेँसीसहर–चामे सडक पुनः अवरुद्ध