नेप्सेमा सूचीकृत होटलहरूको नाफामा उछाल, कुनले कति कमाए ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत होटलहरूको नाफामा उछाल आएको छ । सूचीकृत होटलहरूले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को वार्षिक अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा औसतमा ९० प्रतिशतले बढेको हो ।

गत असार मसान्तसम्म सूचीकृत पर्यटन तथा होटल समूहका ६ कम्पनीले कुल १ अर्ब ७६ करोड ४२ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८३ करोड ५५ लाख रुपैयाँ धेरै हो । अघिल्लो वर्ष यी होटलहरूले ९२ करोड ८६ लाख ७९ हजार रुपैयाँ मात्र नाफा कमाएका थिए ।

समीक्षा अवधिका होटलहरूको आम्दानी बढ्दा खुद नाफामा उछाल आएको वित्तीय विवरणले देखाउँछ । दुई वर्षअघि कोभिडले शिथिल भएको होटल व्यवसाय पछिल्लो समय चलायमान भएको छ । आन्तरिक अर्थतन्त्रको संकुचन कायमै रहे पनि विदेशी पर्यटकको आवागमन, आन्तरिक गतिविधि वृद्धि हुँदा होटल व्यवसायमा सुधार आएको हो ।

कोभिड अवधिमा पर्यटन व्यवसाय र भौतिक कार्यक्रम ठप्प हुँदा होटलको व्यवसाय पनि धरासाय भएको थियो भने कतिपय ठूला होटलहरू खर्च धान्न नसकेर बन्द नै भए । यद्यपि, पछिल्लो समय भने स्टार होटलहरूको व्यापारमा छलाङ लागेको वित्तीय विवरणहरूले देखाउँछ ।

कुन होटलले कति कमाए ?

नेप्सेमा सूचीकृत ६ वटा होटल मध्ये ५ वटाको खुद नाफा वृद्धि भएको छ । चन्द्रागिरि हिल्स, सोल्टी होटल, तारागाउँ रिजेन्सी, ओरियन्टल र होटल कालिन्चोक दर्शनले खुद नाफा बढाएका छन् भने सिटी होटलको घाटा झनै वृद्धि भएको छ ।

अघिल्लो वर्ष १ करोड ६३ लाख रुपैयाँ नाफा कमाएको चन्द्रागिरि हिल्सको गत वर्ष खुद नाफा ९ गुणाले बढेर १५ करोड ११ लाख रुपैयाँ पुगेको छ ।

यस्तै, अघिल्लो वर्ष २९ करोड ७२ लाख नाफा कमाएको सोल्टीले पनि झण्डै दोब्बरले बढाएर ५४ करोड ५१ लाख रुपैयाँ पुर्याएको छ ।
यसैगरी, तारागाउँ रिजेन्सीले पनि दोब्बरले खुद नाफा बढाएको छ । अघिल्लो वर्ष १९ करोड कमाएको होटलले गत वर्षमा ३८ करोड रुपैयाँ आर्जन गरेको वित्तीय विवरणले देखाउँछ ।

अघिल्लो वर्ष ४५ करोड रुपैयाँ नाफा आर्जन गरेको ओरियन्टल होटलले गत वर्ष दोब्बर बढीले बढाएर ९२ करोड रुपैयाँ नाफा कमाएको छ ।

यसैगरी, अघिल्लो वर्ष १ करोड ४८ लाख रुपैयाँ नाफा आर्जन गरेको कालिन्चोक दर्शनले गत वर्ष ३ करोड रुपैयाँ कमाएको छ । र, अघिल्लो वर्ष ४ करोड रुपैयाँ घाटामा रहेको सिटी होटल गत वर्ष २७ करोड घाटामा पुगेको छ ।

कुनको कस्तो छ वित्तीय सूचक ?

वासलतमा प्रकाशन भएका अधिकांश वित्तीय सूचकहरूमा सोल्टी होटलको वर्चश्व रहेको छ । जगेगा कोष, प्रतिसेयर आम्दानी, नेटवर्थ लगायत सूचकमा सोल्टी अघि छ । सोल्टी होटलको ८८ करोड रुपैयाँ चुक्ता पूँजी छ भने जगेडा कोषको आकार १ अर्ब २१ करोड रुपैयाँ पूँजी कोष छ ।

यसैगरी ६.१६ प्रतिसेयर आम्दानी र २३.६८ प्रतिसेयर नेटवर्थ रहेको छ । यो सोल्टीको फेस भ्यालु प्रतिकित्ता १० रुपैयाँको आधारमा हो । फेस भ्याल १०० मान्ने हो भने सोल्टीको प्रतिसेयर आम्दानी ६१.६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २३६.८ रुपैयाँ हुन्छ ।

खुद नाफाको हिसाबले ओरेन्टल होटल अगाडि छ । गत वर्ष ओरेन्टलले सबैभन्दा धेरै ९२ करोड रुपैयाँ कमाएको छ । यसको प्रतिसेयर नेटवर्थ १९३.०७ रुपैयाँ रहेको छ ।

चुक्ता पूँजी तारागाउँ रिजेन्सीको सबैभन्दा धेरै १ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । यस होटलको खुद नाफा ३८ करोड रुपैयाँ, ६५ करोड रुपैयाँ पूँजी कोष रहेको छ । प्रतिसेयर आम्दानी सबैभन्दा धेरै २०.२८ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ पनि १३४.८६ रुपैयाँ रहेको छ ।

१ अर्ब ६७ करोड रुपैयाँ सिटी होटलको चुक्ता पूँजी, ६ करोड रुपैयाँ पूँजी कोष, १६.३५ रुपैयाँ ऋणात्मक प्रतिसेयर आम्दानी छ भने १०४ रुपैयाँ प्रतिसेयर नेटवर्थ छ ।

ओरियन्टलको १ अर्ब १२ करोड चुक्ता पूँजी, १ अर्ब बढी पूँजीकोष छ । चन्द्रागिरि हिल्सको १ अर्ब ५३ करोड रुपैयाँ चुक्ता पूँजी छ भने ३० करोड रुपैयाँ ऋणात्मक पूँजीकोष छ । प्रतिसेयर आम्दानी ६.७६ रुपैयाँ रहेको छ भने ७९.९३ रुपैयाँ प्रतिसेयर नेटवर्थ रहेको वित्तीय विवरणले देखाउँछ ।

६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कालिन्चोक दर्शनको १ करोड रुपैयाँले पूँजीकोष ऋणात्मक छ । ५.९६ रुपैयाँ प्रतिसेयर आम्दानी भएको यसको ९६.९९ रुपैयाँ प्रतिसेयर नेटवर्थ रहेको छ ।

 

मिटरब्याज पीडितले फिर्ता पाए ११९ बिघा जग्गा, साढे २ अर्ब दाबीको १ अर्बमा मिलापत्र Read Previous

मिटरब्याज पीडितले फिर्ता पाए ११९ बिघा जग्गा, साढे २ अर्ब दाबीको १ अर्बमा मिलापत्र

अब १ करोड माथिको कारोबारमा मासिक भ्याट विवरण बुझाउनुपर्ने, सोभन्दा कममा चौमासिक Read Next

अब १ करोड माथिको कारोबारमा मासिक भ्याट विवरण बुझाउनुपर्ने, सोभन्दा कममा चौमासिक