एनआरएनले किनेको पाँचतारे टाइगर प्यालेस होटल २ महिनामा सञ्चालनमा आउने

लुम्बिनी । रुपन्देहीको तिलोत्तमामा रहेको पाँचतारे टाइगर प्यालेस रिसोर्ट नयाँ व्यवस्थापनसहित दुई महिनाभित्र सञ्चालनमा आउने भएको छ ।

नयाँ लगानीकर्ताका रुपमा आएको हिमालयन टाइगर इन्भेष्टमेन्ट इङ्कले दुई महिनाभित्र पूर्ण क्षमतामा सञ्चालन गर्ने योजनासहित काम अघि बढाएको जनाएको छ ।

गैरआवासीय नेपालीको समूहले स्थापना गरेको हिमालयन टाइगर इन्भेष्टमेन्ट इङ्कले अष्ट्रेलियाली कम्पनी सिल्भर हेरिटेज लिमिटेडको सम्पूर्ण सेयर स्वामित्व लिई नयाँ व्यवस्थापनका साथ टाइगर प्यालेस रिसोर्ट सञ्चालन गर्न लागेको हो ।

टाइगर इन्भेष्टमेन्ट इङ्कले सिल्भर हेरिटेजमा भएको अष्ट्रेलियन कम्पनीको सबै सेयर खरिद गरेको टाइगर प्यालेस रिसोर्टका अध्यक्ष बुद्धिसागर सुवेदीले आज रिसोर्टमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनले खरिदबापत सरकारलाई लाग्ने सम्पूर्ण कर र दायित्व तिर्न तयार रहेको समेत जानकारी दिए ।

रिसोर्टमा सुवेदीसहित दीपक गौतम, कुल आचार्य, देब भुसाल र रामजी मरासिनीलगायतको लगानी रहेको जनाइएको छ । अन्य केही लगानीकर्ताहरुले पनि जोडिने अध्यक्ष सुवेदीले जानकारी दिए ।

‘अब नयाँ व्यवस्थापनसहित टाइगर प्यालेस रिसोर्ट सञ्चालन गर्न लागेका छौँ,’ उनले भने, ‘विदेशिएका हामी नेपालीले आफ्नो जन्मभूमिप्रतिको दायित्वबोध गरी यो बन्द हुने अवस्थामा पुगेको रिसोर्टलाई खरिद गरेका छौँ ।’

यसअघि अष्ट्रेलियन कम्पनीले रिसोर्ट सञ्चालन तथा क्यासिनो व्यवसाय गर्न करिब रु ५ अर्ब लगानी गरेको थियो । रिसोर्ट र यसमा सञ्चालित क्यासिनोमा करिबएक हजार नेपालीले प्रत्यक्ष रोजगारीमा थिए ।

प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित रिसोर्ट आन्तरिक विवाद तथा अदालती मुद्दा मामिलाले बन्द अवस्थामा पुगेको थियो । विदेशमा नेपालमा वैदेशिक लगानीको वातावरण नभएको गलत सन्देश जाने सूचना पाएपछि आफूहरुले नयाँ व्यवस्थापनका साथ रिसोर्ट सञ्चालनमा ल्याउन लागेको अध्यक्ष सुवेदीले जानकारी दिए ।

बैंकहरुको ऋणको बोझ थाम्न नसक्ने अवस्थामा पुगेको अवस्थामा अष्ट्रेलियन कम्पनीले सिल्भर हेरिटेज लिमिटेडमार्फत नेपालमा गरेको लगानी र नेपालको व्यवसायसमेतलाई हेरी १५ मिलियन अमेरिकी डलरमा सेयर कारोबार भएको उनले बताए । उनका अनुसार रिसोर्ट सञ्चालनमा प्रारम्भिक अध्ययनबाट सेयर खरिद कारोबार रकम समेत जोडदा करिब रु ४अर्ब खर्च गर्नुपर्ने देखिएको छ ।

पर्यटनको प्रचुर सम्भावना भएर पनि टाइगर प्यालेस रिसोर्ट जस्ता ठूला लगानीका पर्यटन उद्योगहरू धरासायी हुने बाटोतर्फ उन्मुख हुनु राष्ट्र, पर्यटन क्षेत्र र लगानीकर्ताका लागी सुखद नभएको सञ्चालक दीपक गौतमले बताए ।

रिसोर्ट सञ्चालनसँगै गैरआवासीय नेपालीमा लगानी गर्ने विश्वास पैदा हुने र प्रत्यक्ष वैदेशिक लगानीको वातावरण समेत निर्माण हुने उनले बताए।

राष्ट्र बैंकद्वारा निफ्राका लागि ६८ बुँदे निर्देशन जारी, यस्ता छन् मुख्य व्यवस्था (पूर्णपाठ) Read Previous

राष्ट्र बैंकद्वारा निफ्राका लागि ६८ बुँदे निर्देशन जारी, यस्ता छन् मुख्य व्यवस्था (पूर्णपाठ)

पेट्रोलियम पदार्थको चोरी नियन्त्रण गर्न ‘टैंक ट्रक लकिङ’ सुरू Read Next

पेट्रोलियम पदार्थको चोरी नियन्त्रण गर्न ‘टैंक ट्रक लकिङ’ सुरू