बलियो बन्दै अर्थतन्त्रको बाह्य क्षेत्र, यस्ता छन् मुख्य सूचक

काठमाडौं । अर्थतन्त्रको बाह्य क्षेत्र मजबुत बन्दै गएको छ । आर्थिक शिथिलताका कारण अर्थतन्त्रको आन्तरिक क्षेत्र संकटमा रहे पनि बाह्य क्षेत्र भने महिनैपिच्छे बलियो बन्दै गएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्यांक अनुसार विदेशी मुद्रा संचिति, रेमिट्यान्स आप्रवाह, भुक्तानी सन्तुलन, शोधान्तरस्थिति, चालु खाता, व्यापार घाटा लगायत सूचकमा लगातार सुधार देखिएको छ ।

विदेशी मुद्रा संचित हालसम्मकै उच्च भएको छ भने अमेरिकी डलर संचिति २२ महिना यताकै धेरै पुगेको छ । यस्तै, रेमिट्यान्स आप्रवाह हालसम्मकै धेरै भएको छ ।

अर्थतन्त्रका अधिकांश बाह्य सूचकमा सुधार आए पनि आन्तरिक सूचकहरु निराशाजनक छ । महँगी सरकारको नियन्त्रण बाहिर छ भने व्यापार, व्यवसाय संकुचित छ । सरकारको आम्दानीले खर्च धान्न नसक्ने अवस्था छ । साथै, नयाँ लगानी विस्तार हुन सकेको छैन भने माग नबढ्दा औद्योगिक उत्पादनहरु पनि बढ्न सकेको छैन् । उद्योगहरु न्यून क्षमतामा संचालनमा छन् ।

समग्रमा गत असार मसान्तसम्म यस्ताछन् अर्थतन्त्रका मुख्य सूचकहरु

रेमिट्यान्स आप्रवाह अहिलेसम्मकै धेरै

गत आवमा कुल १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो कुनै पनि वर्षमा भित्रिएको रेमिट्यान्समा इतिहासकै धेरै हो । अघिल्लो वर्षको तुलनामा रेमिट्यान्स आप्रवाह २१.२ प्रतिशतले बढेको हो । अघिल्लो आव २०७८र७९ मा कुल १० खर्ब ७ अर्ब ३१ करोड रेमिट्यान्स भित्रिएको थियो ।

गत वर्ष औसतमा हरेक महिना १ खर्ब बढी रेमिट्यान्स भित्रिएको छ । देशमा रोजगारीको अवसर नपाएर विदेशिने युवाको संख्या बढेसँगै रेमिट्यान्स आप्रवाहमा कीर्तिमानी रेकर्ड राखेको हो । गत वर्ष पौने ८ लाख युवा रोजगारीको खोजीमा विदेशिएका छन् ।

विदेशी मुद्रा संचिति हालसम्मकै धेरै

राष्ट्र बैंकको तथ्यांक अनुसार कुल विदेशी मुद्रा संचिति २६.६ प्रतिशतले बढेर हालसम्मकै धेरै १५ खर्ब ३९ अर्ब पुगेको छ । यसअघि सन् २०२० को नोभेम्बरमा १५ खर्ब ६ अर्ब रुपैयाँ राष्ट्रिय ढुकुटीमा संचिति थियो ।

यस्तै, अमेरिकी डलर संचिति पनि २२ महिना यताकै धेरै पुगेको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष डलर संचिति २३.८१ प्रतिशतले बढे असार ११ अर्ब ७३ करोड पुगेको हो ।

गत वर्षको १२ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.७ महिनाको वस्तु आयात र १० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

चालु खाता र शोधनान्तर स्थिति सुधार

गत आर्थिक वर्षको अन्तिमसम्म चालु खाता र शोधनान्तर स्थिति सुधार हुँदै गएको छ ।

२०७९/८० मा चालु खाता ७२ अर्ब १६ करोडले घाटामा रहेको राष्ट्र्र बैंकले जनाएको छ । अघिल्लो वर्ष चालु खाता ६ खर्ब २३ अर्ब ३८ करोडले घाटामा रहेको थियो ।

यस वर्ष शोधनान्तर स्थिति २ खर्ब ९० अर्ब ५२ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति २ खर्ब ५५ अर्ब
२६ करोडले घाटामा रहेको थियो ।

१५ प्रतिशत घट्यो व्यापार घाटा

गत वर्ष मुलुकको वैदेशिक व्यापार घाटा १५.५ प्रतिशतले घटेको छ । गत वर्ष मुलुकको कुल व्यापार घाटा १४ खर्ब ५४ अर्ब ५९ करोड रुपैयाँ रहेको छ ।

गत वर्ष कुल १६ खर्ब ११ अर्ब ७३ करोड रुपैयाँको वस्तु आयात हुँदा रु १ खर्ब ५७ अर्ब १४ करोडको वस्तु निर्यात भएको तथ्यांकले देखाएको छ ।

बाह्य लगानी स्थिति

२०८० असार मसान्तमा मुलुकको वैदेशिक सम्पत्ति रु.१६५४ अर्ब ५० करोड तथा दायित्व रु.१७२९ अर्ब ३९ करोड रहेको छ । फलस्वरुप, खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति रु.७४ अर्ब ९० करोडले घाटामा रहेको छ । २०७९ असारमा खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति रु.२७१ अर्ब ३४ करोडले घाटामा रहेको थियो।

पूरा भएन मूल्य मूद्रास्फीतीको लक्ष्य

गत वर्ष वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ७.७४ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ६.३२ प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकले गत वर्ष ७ प्रतिशतभित्र मूल्यवृद्धि राख्र्ने लक्ष्य लिए पनि सो सीमा कायम गर्न नसकेको तथ्यांकले देखाउँछ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा २०७९/८० मा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेण्ट तथा होटल उप–समूहको मूल्यवृद्धि १४.४२ प्रतिशत, मरमसलाको १२.५० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १०.७० प्रतिशत, सुर्तीजन्य पदार्थको ९.८८ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ९.२३ प्रतिशत रहेको छ ।

 

डलर संचिति २२ महिना यताकै धेरै, एक महिनामै थपियो ४३ करोड डलर Read Previous

डलर संचिति २२ महिना यताकै धेरै, एक महिनामै थपियो ४३ करोड डलर

कलंकी-वसुन्धारा सडकको ३ स्थानमा अन्डरपास बनाइने, डिजाइन हुँदै Read Next

कलंकी-वसुन्धारा सडकको ३ स्थानमा अन्डरपास बनाइने, डिजाइन हुँदै