कलंकी-वसुन्धारा सडकको ३ स्थानमा अन्डरपास बनाइने, डिजाइन हुँदै

सांकेतिक तस्वीर

काठमाडौं । चक्रपथ विस्तार आयोजना अन्तर्गत दोस्रोखण्ड (कंलकी-वसुन्धारा) सडकखण्डको ३ ठाउँमा अन्डरपास बनाइने भएको छ । चीन सरकारले निर्माण गरिदिने  यस सडकखण्डको ३ ठाउँमा अन्डरपास निर्माण गर्न चिनियाँ पक्षसँग सहमति भएको हो ।

सडक विभागका महानिर्देशक सुशिलबाबु ढकालले संरचना नबिग्रने गरी अन्डरपासको निर्माण गर्न चिनियाँ टोलीसँग हालै सहमति भएको जानकारी दिए । उनका अनुसार गाेंगबु नयाँ बसपार्क, ढुंगेधारा र वसुन्धारामा अन्डरपास बनाउने गरी सहमति भएको हो ।

उनले ढुंगेधाराबाट आउने गाडीलाई चक्रपथ प्रवेश गर्न मिल्ने गरी अन्डरपास बनाइने बताए । त्यस्तै, वसुन्धारामा पुलमाथिबाट आउने गाडीलाई अन्डरपास बनाउने सहमति भएको बताए । बसपार्कमा समेत एउटा अन्डरपास बन्ने छ ।

‘बनेका संरचना क्षति नहुने गरी अन्डरपास बन्नु पर्छ भनेका छौँ र चिनियाँ पक्ष सहमत भएको छ,’ ढकालले चाणक्य पोष्टसँग भने । उनले चिनियाँ राजदूतसहितको टोली केही दिन अघि आएर कन्फर्मेसन गरेर फर्किसकेको बताए । उनका अनुसार हाल उक्त चिनियाँ टोलीले भएको सहमति अनुसार डिजाइन निर्माण गर्दै छ ।

डिजाइन निर्माण डेढदेखि २ महिना भित्र सकिने उनले बताए । डिजाइन सकिएपछि कन्ट्रयाकटर हायरको काम गरिनेछ । उनले डिजाइन फाइनल भएपछि सम्झौता गरेर काम सुरू गर्ने गरी सहमति भएको जानकारी दिए । उनले चाँडै चक्रपथको दोस्रो खण्डमा सडक विस्तारको काम चिनियाँ टोलीले सुरू गर्ने बताए ।

चक्रपथको कलंकीदेखि नारायणगोपाल चोकसम्म ८.२ किलोमिटर सडक दोस्रो खण्डमा विस्तार गर्न लागिएको हो । चक्रपथ पहिलो खण्डमा देखिएको समस्या दोस्रो खण्डमा नदोहोरियोस् भनेर चीन सरकारले निर्माण सुरू गर्नु पहिले नै निर्माणस्थल खाली गर्न सरकारलाई भनेको थियो । चीन सरकारले निर्माणस्थल खाली भएपछि नै विस्तृत अध्ययन सहित डिजाइन गरेर सडक निर्माण सुरू गर्ने भनेअनुसार हाल अध्ययन सुरू भएको हो ।

चक्रपथ सडकको सीमा चौडाइ ६२ मिटर कायम गरिएको छ । स्वयम्भूको चैत्य भने नभत्काउन सहमति भइसककेको छ । यसअघि कलंकीदेखि–धोवी खोलासम्मको ११.६ किलोमिटर विस्तार गर्ने योजना रहेको थियो । हाल कलंकीदेखि नारायणगोपाल चोकसम्म ८.२ किलोमिटर सडक विस्तार गर्ने भएको हो । बाँकी क्षेत्र तेस्रो खण्डमा निर्माण गर्ने योजना रहेको चक्रपथ विस्तार आयोजनाले जनाएको छ ।

यो सडक चीन सरकारको अनुदानमा बनिरहेको छ । यसअघि चक्रपथ पहिलो खण्ड (कोटेश्वर-कलंकी १०.३९ किमी) ८ लेनमा विस्तार भइसकेको छ  । पहिलो खण्ड गलत डिजाइनमा बनाइएको, सहरी सडकभन्दा पनि एक्सप्रेस हाइवे बनाइएको र ढिलो काम भएको भन्दै आलोचना भएको थियो ।

दोस्रो चरणमा विस्तारका लागि संरचना हटाउने क्रम सबै सकिसकेको सडक विभागले जनाएको छ । केही भएका पोलहरू संरचना भित्रे राख्ने गरी सहमति भएको जनाइएको छ ।

निर्माण सुरू भएको ३ वर्षमा विस्तार सम्पन्न हुने अनुमान गरिएको छ । कोभिड-१९ को संक्रमणका कारण देखाउँदै ४ वर्ष पर धकेलिएको चक्रपथ सडक विस्तार चिनियाँ प्राविधिक टोली आएपछि अब भने चाँडै सुरू हुने भएको छ ।

 

बलियो बन्दै अर्थतन्त्रको बाह्य क्षेत्र, यस्ता छन् मुख्य सूचक Read Previous

बलियो बन्दै अर्थतन्त्रको बाह्य क्षेत्र, यस्ता छन् मुख्य सूचक

ग्लोबल आइएमई बैंकले बचतमा उच्च ब्याज दिँदै, रेमिट्यान्स बचतमा २% धेरै Read Next

ग्लोबल आइएमई बैंकले बचतमा उच्च ब्याज दिँदै, रेमिट्यान्स बचतमा २% धेरै