काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले एनआइयू (न्यू) ब्राण्डका विद्युतीय स्कुटर किन्न ऋण उपलब्ध गराउने भएको छ ।
बैंक र इको इन्फिनिटी प्रालीबीच द्विपक्षीय सम्झौता भएको छ । सो सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र इको इन्फिनिटी प्रालिका प्रमुख कार्यकारी अधिकृत डा. मौसम बोहराले हस्ताक्षर गरे ।
सम्झौता अनुसार अब बैंकले ‘अटो लोन’अन्तर्गत सो कम्पनीद्वारा आयातित ‘न्यू इलेक्ट्रिक’ स्कुटर खरिद गर्दा ८० प्रतिशतसम्म किस्तामा ‘लोन’ प्रवाह गर्नेछ । यस्तो लोन स्कुटरको ‘वारेन्टी’का आधारमा ४ वर्षसम्म हुने जनाइएको छ ।
नेपालमा इको इन्फिनिटीले ‘एनआइयू (न्यू) इलेक्ट्रिक’ नामक विद्युतीय स्कुटर पहिलो पटक सन् २०१७ मा भित्र्याएको थियो । सो
सम्झौता हस्ताक्षरपछि बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेले वातावरण संरक्षणका लागि नेपालमा विद्युतीय स्कुटर प्रवद्र्धन गर्दै उपभोक्तालाई यसका बानी पार्नु आवश्यक रहेको बताए ।
उनले भने, ‘बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत इको इन्फिनिटी प्रालिसँग सहकार्य गरेको हो । यो सहकार्यले विद्युतीय स्कुटर प्रयोग गर्न चाहने उपभोक्तालाई कोशेढुङ्गाको काम गर्ने मैले विश्वास लिएको छु ।’