काठमाडौं । सेयर बजारमा कमब्याक भएको छ । सोमबारदेखि लगातार ओरालो लागेको नेप्से ५५ अंकको गिरावटपछि आज ८ अंकले बढेको हो ।
बिहीबार नेप्से परिसूचक ८.०१ अंकले बढेर २०३३.१३ विन्दुमा पुगेको छ । यसदिन २७१ कम्पनीको ४० लाख ९ हजार २६३ कित्ता सेयर किनबेच भएको छ ।
सूचकमा सुधार आए पनि आज कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १३ करोड घटेर १ अर्ब ६५ करोडमा सीमित भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये म्युचुअल फण्ड बाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ । व्यापार उपसमूहको परिसूचक सबैभन्दा धेरै २.५४ प्रतिशतले बढेको छ ।
आज सोल्टी होटलको सर्वाधिक कारोबार भएको छ । यसको पौने १४ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।
सामान्य अंकले बढेको बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सिद्धार्थ ग्रोथ स्कीम २ र लिबर्टी इनर्जीका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।