सुरक्षा कोषमा आबद्ध हुने अनौपचारिक क्षेत्रका श्रमिकले के-के पाउँछन् सुविधा ? यस्तो छ प्रक्रिया

काठमाडौं । सरकारले अबदेखि अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगार व्यक्ति पनि सामाजिक सुरक्षा कोषमा आबद्ध हुन सक्ने व्यवस्था गरेको छ । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक सुरक्षा योजना शुभारम्भ गर्दै यस्तो व्यवस्था गरेका हुन् ।

यसअघि सुरक्षा कोषमा औपचारिक क्षेत्रका व्यक्ति र वैदेशिक रोजगारीमा रहेका नेपाली मात्रै आबद्ध हुन पाउने व्यवस्था थियो । सामाजिक सुरक्षा कोषमा हालसम्म झन्डै ७ लाख औपचारिक तथा वैदेशिक रोजगारीमा गएकाहरुले समाजिक सुरक्षामा आबद्ध भइसकेका छन् ।

सरकारले अनौपचारिक क्षेत्रका श्रमिकलाई पनि सुरक्षा कोषमा समेट्ने व्यवस्था गरेसँगै लाखौं नेपाली लाभांवित हुने बताएको छ । हाल नेपालमा ७० देखि ८० लाख श्रमिक रहेका छन् ।

सुरक्षा कोषमा अब देशका ७५३ वटै स्थानीय निकायमा श्रमिक तथा स्वरोजगार व्यक्ति आबद्ध हुन पाउने छन् । हाल सामाजिक सुरक्षा कोषमा स्वरोजगारतर्फ कृषि, यातायात, घरेलु र निर्माण क्षेत्रमा संलग्न हुने व्यक्तिहरू सूचीकरण हुन पाउने छन ।

सामाजिक सुरक्षा कोषका अध्यक्ष रोशन कोजुले अनौपचारिक र स्वारोजगार सामाजिक सुरक्षा कोषमा आबद्ध हुन सरल व्यवस्था गरिएको बताए । उनले यो योजनामा देशभरका श्रमिक तथा व्यवसायी आबद्ध हुनसक्ने बताए ।

कोषमा आबद्ध हुन कति तिर्नुपर्छ पैसा ?

सुरक्षा कोषका अध्यक्ष कोजुका अनुसार अनौपचारिक क्षेत्रका श्रमिकले कोषमा आबद्ध हुन सरकारले तोकेको आधारभूत पारिश्रमिकको २०.३७ प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्दछ । सोमध्ये श्रमिकले ११ प्रतिशत र सरकारले ९.३७ प्रतिशत रकम व्यहोर्नुपर्दछ ।

सरकारले औद्योगिक श्रमिकको आधारभूत पारिश्रमिक ९ हजार ३८५ रुपैयाँ तोकेको छ । त्यसको २१.३७ प्रतिशत अर्थात् मासिक २ हजार ५.५७ रुपैयाँ जम्मा गर्नुपर्छ । सोमध्ये श्रमिकले ११ प्रतिशत (२ हजार १३२.३५ रुपैयाँ) र सरकारले ९.३७ प्रतिशत (८७९.३७ रुपैयाँ) जम्मा गरिदिन्छ । सरकारले व्यहोर्ने रकम प्रत्येक स्थानीय तहले आफ्नो क्षेत्रमा कार्यरत श्रमिकको खातामा जम्मा गरिदिनु पर्छ ।

स्वरोजगार व्यक्तिले भने न्यूनतम आधारभूत पारिश्रमिकको ३१ प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्नेछ । उनीहरूले अधिकतम ३१ प्रतिशतको तीनगुणा बढीसम्म योगदान गर्न सक्छन्।

यस्तो छ आफैं आबद्ध हुने प्रक्रिया

कोषका अध्यक्ष कोजुले अनौपचारिक र स्वारोजगार सामाजिक सुरक्षा कोषमा आबद्ध हुन सरल व्यवस्था गरिएको बताए । उनले इच्छुक व्यक्ति आफैंले अनलाइनबाट फारम भरी सूचीकरण हुनसक्ने बताए । उनले सेवाग्राहीको सुविधाका लागि ईसेवा, खल्ती र कनेक्ट आइपीएस मार्फत डिजिटल भुक्तानीको समेत व्यवस्था गरिएको बताए ।

अनौपचारिक क्षेत्रका लागि सम्बन्धित क्षेत्रमा कार्यरत रहेको पालिका वा वडाको सिफारिस, स्वरोजगारको लागि कम्पनी रजिष्टार कार्यलयमा दर्ता भएको प्रमाणपत्र जस्ता कागजात आवश्यक पर्दछ ।

त्यसपछि इच्छुक व्यक्तिले सामाजिक सुरक्षा कोषको वेबसाइटमा गएर अनलाइन फारम भरी अबद्ध हुन सक्छन् । कोषको वेबसाइटमा गई आफू अनौपचारिक क्षेत्र तथा स्वरोजगार कुन क्षेत्रको हो त्यो रोज्नुपर्दछ ।

त्यसपछि नयाँ दर्ता र लग इन भन्ने अप्सन आउँछ । सूचीकरणका लागि नयाँ दर्तामा क्लिक गर्नुहोस । त्यसमा सुरूमा तपाईंको फोटो अपलोड गर्नुपर्ने हुन्छ । त्यसपछि आफ्नो नाम सम्पूर्ण व्यक्तिगत विवरण (नाम, जन्म मिति, , इमेल, बैंक खाता विवरण लगायत) भर्नुपर्छ ।

त्यसपछि कार्यक्षेत्रको विवरणको अप्सनमा थिचेर कुन प्रदेश, स्थानीय तह हो उल्लेख गर्नुपर्ने हुन्छ । त्यसमा पालिकाको ठेगाना, पालिकाको सम्पर्क नम्बर र सिफारिस मिति राख्नुपर्छ ।

सम्पूर्ण विवरण भरेपछि नागरिकता, वडाको सिफारिस अपलोड गर्नुपर्छ । त्यसपछि आफूले इच्छाएको व्यक्तिको विवरण भरी पेश गर्नुपर्दछ । फारम भर्ने सबै प्रक्रिया पूरा भएपछि कोषमा सूचीकरण भइने छ । कोषले व्यक्तिगत आइडी र पासवर्ड उपलब्ध गराउने छ ।

के-के पाइन्छ सुविधा ?

सामाजिक सुरक्षा कोषमा आबद्ध हुने योगदानकर्ताले औषधि, उपचार, स्वास्थ्य सुरक्षा तथा मातृत्व सुरक्षा सुविधा पाउँछन् । जस अन्तर्गत अस्पताल भर्ना भई तथा शल्यक्रिया बापतको शुल्क, रोग परीक्षण तथा उपचार बापतको खर्च, औषधिको बिल बमोजिम १ लाख रुपैयाँ बराबरको उपचार खर्च पाउने छन् ।

त्यस्तै, दुर्घटनामा परे ७ लाख रुपैयाँ बराबरको उपचार खर्च, अशक्त भएमा ९ हजार तलबको ६० प्रतिशत (५ हजार ६३१ रुपैयाँ) जीवन भरी भत्ता पाउने व्यवस्था छ ।

योगदानकर्ताको मृत्यु भएमा कोषले निजको आश्रित परिवारलाई आजीवन निवृत्ति भरण समेत उपलब्ध गराउने छ । कोषले योगदानकर्ताको पति वा पत्नीलाई आधारभूत पारिश्रमिकको ४० प्रतिशतर रकम आजीवन निवृत्तभरण उपलब्ध गराउँछ । यस्तै, योगदानकर्ताको अन्तिम संस्कारका लागि कोषले २५ हजार रुपैयाँ समेत उपलब्ध गराउँछ ।

योगदानकर्ताको पत्नी गर्भवती भई नियमित गर्भ परीक्षण गराउँदाको खर्च पनि कोषले उपलब्ध गराउँछ। यस्तै, योगदानकर्ता महिला भए ९८ दिनको मासिक न्यूनतम आधारभूत पारिश्रमिकको ६० प्रतिशतले हुने रकम प्रसूति सुविधा बापत उपलब्ध हुने छ भने पुरुषको हकमा पत्नी प्रसूति हुँदा शिशु स्याहारका लागि एक महिनाको न्यूनतम आधारभूत पारिश्रमिक बराबर रकम कोषले उपलब्ध गराउँछ।

यी सुविधा पाउन योगदानकर्ता घटना घट्नु अघिको १ वर्षमा कम्तीमा पनि ९ महिनाको योगदान रकम कोषमा जम्मा गरेको हुनुपर्नेछ।

गण्डकीमा मुस्ताङदेखि गोरखासम्मा स्याउखेती विस्तार, वार्षिक थप १७ करोडको फल्ने Read Previous

गण्डकीमा मुस्ताङदेखि गोरखासम्मा स्याउखेती विस्तार, वार्षिक थप १७ करोडको फल्ने

सेयर बजारले गर्‍यो कमब्याक, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Next

सेयर बजारले गर्‍यो कमब्याक, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट