धादिङमा ४१ करोड विद्युत् महसुल उठाउन बाँकी, युनाइटेड सिमेन्टले मात्रै साढे २७ करोड तिरेन

मलेखु । धादिङमा विद्युत्को बक्यौता उच्च देखिएको छ । नेपाल विद्युत् प्राधिकरण धादिङ शाखाका अनुसार जिल्लामा रु ४१ करोड ३८ लाख ४५ हजार विद्युत् महसुल उठ्न बाँकी छ ।

प्राधिकरण धादिङ शाखाका प्रमुख माधव न्यौपानेका अनुसार धुनिबेँसी नगरपालिकामा सञ्चालित युनाइटेड सिमेन्ट उद्योगले मात्र रु २७ करोड ५९ लाख ६४ हजार महसुल तिर्न बाँकी छ । महसुल नतिर्ने १ हजार ७४८ जनाको विद्युत् लाइन काटिए पनि एक सय ७७ ग्राहकले अझैसम्म महसुल तिरेका छैनन । एक सय तीन जना उपभोक्तालाई प्राधिकरणले कालोसूचीमा राखेको छ ।

लाइन काटेपछि रु ४ करोड २६ लाख ७४ हजार असुली गरेको शाखा प्रमुख न्यौपानेले जानकारी दिए । कालोसूचीमा परेका उपभोक्ताबाट रु ३७ लाख १२ हजार असुल गर्न बाँकी छ । धादिङ शाखाले गत आर्थिक वर्ष २०७९÷८० अमा एउटा ग्राहकको रकम उठाउन काठमाडौं र भक्तपुरमा समेत उनीहरुको घरमा लाइन काटेको प्रमुख न्यौपानेको भनाइ छ ।

धादिङमा विद्युत् चोरीको घटना पनि गत वर्षको तुलनामा बढेका छन् । चुहावट रोक्न बन्द मिटर फेर्ने, तारले छोएका रुख काट्ने, नाङ्गो तारलाई कालो तारमा रुपान्तरण गर्ने तथा ट्रान्सफर्मर थप गरेर विद्युत् सञ्चालन गरे पनि चोरी नियन्त्रणमा आउन सकेको छैन ।

गत आवमा विद्युत् चोरी गर्ने २९४ जनालाई कारबाही गरिएको थियो । उनीहरुबाट रु १४ लाख ८१ हजार जरिवाना असुल गरिएको उहाँले बताए । अघिल्लो आवमा १२३ जनालाई विद्युत् चोरीअन्तर्गत कारबाही गरिएको थियो । गत आवमा ११ करोड २२ लाख ९१ हजार छ सय नौ युनिट विद्युत् बिक्री गरी रु १ अर्ब २ करोड रकम सङ्कलन भएको प्राधिकरणको धादिङ शाखाले जनाएको छ । रासस

खानी खोजतलास गर्न ४३२ कम्पनीले पाए लाइसेन्स Read Previous

खानी खोजतलास गर्न ४३२ कम्पनीले पाए लाइसेन्स

भदौ १८ देखि हकप्रद सेयर बिक्री गर्दै अप्पर तामाकोशी Read Next

भदौ १८ देखि हकप्रद सेयर बिक्री गर्दै अप्पर तामाकोशी