भदौमा १ दर्जन बैंकले बढाए ब्याजदर, २ प्रतिशतसम्म फरक, कुनको कति ?

काठमाडौं । अधिकांश वाणिज्य बैंकहरूले भदौ महिनाका लागि निक्षेपको ब्याजदर बढाएका छन् । बैंकिङ प्रणालीमा पर्याप्त लगानी योग्य रकम (तरलता) बाबजूद बैंकहरूले अर्को बैंकमा रहेको निक्षेप खोस्न ब्याजदर बढाएका हुन् ।

साउनदेखि नेपाल बैंकर्स संघले बैंकहरूलाई ब्याजदर निर्धारण गर्न स्वतन्त्र छाडेसँगै बैंकहरूले आफूखुसी निक्षेपको ब्याजदर तोकेका हुन् । साउनअघि संघले ब्यादरमा हस्तक्षेप गर्दा सबै बैंकको एउटै ब्याजदर हुने गरेको थियो ।

भदौका लागि १ दर्जन बैंकले निक्षेपको ब्याजदर बढाएका छन् भने ४ बैंकले घटाएका छन् । यस्तै, केही बैंकले स्थिर राखेका छन् । भदौका लागि बैंकहरूले निक्षेपको ब्याजदर १ प्रतिशतसम्म बढाएका छन् । अधिकांश बैंकले संस्थागत मुद्दतीको ब्याजदर परिवर्तन नगरे पनि व्यक्तिगत मुद्दती निक्षेपको भने बढाएका छन् ।

नेपाल राष्ट्र बैंकको व्यवस्था अनुसार वाणिज्य बैंकहरूले अघिल्लो महिनाको ब्याजदरको तुलनामा १० प्रतिशत ब्इाजदर घटाउन÷बढाउन पाउँछन् । सोही अनुसार बैंकहरूले ब्याजदर बढाएका हुन् ।

वाणिज्य बैंकहरू बीच निक्षेपको ब्याजदर २ प्रतिशतसम्म फरक भएको छ । अधिकतम दिनले १०.८९६ र न्यूनतम दिने ८.९२ प्रतिशत ब्याजदर दिने भएका छन् ।

भदौका लागि कुमारी, ग्लोबल आइएमई, कृषि विकास बैंक, नेपाल बैंक, लक्ष्मी सनराइज, प्रभु, सिद्धार्थ, माछापुच्छे, राष्ट्रिय वाणिज्य, सिटिजन्स, सानिमा लगायत बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाएका छन् । यी बैंकहरूले अधिकतम १०.८९६ प्रतिशतसम्म ब्याजदर दिने भएका छन् ।

यस्तै, एनआईसी एशिया, स्ट्याण्डर्ड चार्टर्ड, प्राइम कमर्शियल र एनएमबी बैंकले साउनको तुलनामा भदौमा निक्षेपको ब्याजदर घटाएका छन् । यी बैंकहरूले व्यक्तिगत मुद्दतीमा अधिकतम ८.८९६ प्रतिशत ब्याजदर दिने भएका छन् ।

भदौमा सबैभन्दा कम ब्याजदर भने स्ट्याण्डर्ड चार्टर्ड बैंकको रहेको छ। सो बैंकको मुद्दति निक्षेपमा अधिकतममा ८.९२ प्रतिशत ब्याज दिने भएको छ। संस्थागत तर्फभने सो बैंकले ६.९२ प्रतिशतका दरले ब्याज दिनेछ। यस्तै, हिमालयन, नेपाल एसबीआइ, निक्षेपको ब्याजदर यथावत राखेका छन् ।

अहिले बैंकिङ प्रणालीमा साढे ३ खर्ब बढी निक्षेप थुप्रिएको छ भने कर्जाको माग एकदम न्यून छ । तत्कालै कर्जाको माग बढ्ने पनि देखिँदैन । तर, वाणिज्य बैंकहरूले अस्वस्थ्य प्रतिस्पर्धा गर्दा निक्षेपको ब्याजदर बढाएका हुन् । निक्षेपको ब्याजदर बढ्दा बैंकको लागत बढ्न गई कर्जाको ब्याजदर समेत बढ्न जान्छ ।

भएकै पैसा ऋण लगानी गर्न नसके पनि बैंकहरूले आगामी दिनमा क्रमशः कर्जाको माग बढ्ने र त्यो बेला स्रोत जुटाउन गाह्रो नपरोस भनेर अहिले होडबाजीमा निक्षेपको ब्याजदर बढाई अर्को बैंकमा भएको पैसा तान्न होडबाजी गरेका हुन् ।

फरवार्ड माइक्रोफाइनान्सको नाफामा उच्च गिरावट, लाभांश क्षमता भने ७२ प्रतिशत Read Previous

फरवार्ड माइक्रोफाइनान्सको नाफामा उच्च गिरावट, लाभांश क्षमता भने ७२ प्रतिशत

खानी खोजतलास गर्न ४३२ कम्पनीले पाए लाइसेन्स Read Next

खानी खोजतलास गर्न ४३२ कम्पनीले पाए लाइसेन्स