काठमाडौं । आजदेखि अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारका व्यवसायीहरु पनि सामाजिक सुरक्षा कोषमा आबद्ध हुनसक्ने भएका छन् । बुधबार सामाजिक सुरक्षा कोषलेले आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक सुरक्षा योजना शुभारम्भ गरेका हुन् ।
वैदेशिक रोजगार र स्वरोजगारका मानिसहरूलाई सामाजिक सुरक्षामा जोड्न यो व्यवस्था गरिएको हो ।अनौपचारिक श्रमिक र स्वरोजगार व्यक्तिले सरकारले तोकेको आधारभूत पारिश्रमिकको २०.३७ प्रतिशत रकम योगदान गरेर कोषमा आबद्ध हुन सक्ने छन् ।
सरकारले औद्योगिक श्रमिकको आधारभूत पारिश्रमिक ९ हजार ३८५ रुपैयाँ तोकेको छ । त्यसको २१.३७ प्रतिशत अर्थात् २ हजार २ रुपैयाँ जम्मा गर्नुपर्छ । सो मध्ये श्रमिकले ११ प्रतिशत जम्मा गर्नुपर्छ भने सरकारले ९.३७ प्रतिशत रकम थप गरिदिन्छ ।
नेपालभर ७० देखि ८० लाख श्रमिक छन् । सामाजिक सुरक्षा कोषले ४ वर्षमा झन्डै ७ लाख औपचारिक तथा वैदेशिक रोजगारीमा गएकाहरुले समाजिक सुरक्षामा आबद्ध भइसकेका छन् ।चैतयता मात्र २ लाख ८० हजार वैदेशिक रोजगारीमा गएका सामाजिक सुरक्षा कोषमा आएका छन् ।
३ वर्षअघि स्याङ्जाको फेदीखोला गाउँपालिकामा स्वरोजगारीमा आबद्ध भएकाहरूलाई १५ प्रतिशत श्रमिक र १५ प्रतिशत पालिकाले थप्ने गरी लागू गरिएको थियो ।
यस्तै, भीमफेदी गाउँपालिका, ताराखोला गाउँपालिका, बर्दियाको बसघौं, बुढानिलकण्ठ लगायतका स्थानमा समेत यो योजना लागू गर्ने तयारी भइरहेको सामाजिक कोषका अध्यक्ष रोशन कोजुले बताए । यो योजना लागू गर्नुमा स्थानीय तहको भूमिका ठूलो रहेको उनको भनाइ छ ।
योजनाका फाइदाहरू
यस योजनामा दर्ता हुने श्रमिकले वार्षिक १ लाख रुपैयाँ बराबरको औषधि उपचार खर्च पाउने छन्। यस्तै, दुर्घटनामा परे ७ लाख रुपैयाँ बराबरको उपचार खर्च, अशक्त हुँदा ९ हजार तलबको ६० प्रतिशत जीवन भरी भत्ता पाउने व्यवस्था छ । श्रमिक मृत्यु भएमा परिवारले ४० प्रतिशत रकम पाउने छन्।
यस्तै, ६० वर्ष पुग्दा वार्षिक १४ हजार पेन्सन दिने व्यवस्था छ । ७ लाखले हालसम्म सामाजिक सुरक्षा कोषमा आबद्ध भइसकेका छन ।
हाल सामाजिक सुरक्षा कोषमा स्वरोजगार तरफ कृषि, यातायात, घरेलु र निर्माणमा आबद्ध भएकाहरूले यसमा सूचीकरण हुन पाउने छन ।
एफएनसीसीआइका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ सामाजिक सुरक्षा कोष विकासमा पनि लागू गर्दै जानु पर्ने बताए । उनेल यो राम्रो सुरुआत भएको भन्दै यस्तै तीव्रताका साथमा आफ्नो पनि लगानी हुने बताए ।