निर्जीवन बीमा व्यवसाय : १ वर्षमा ४० अर्ब बीमाशुल्क आर्जन, शिखरलाई पछ्याउँदै सलिको

काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा निर्जीवन बीमा कम्पनीले ४० अर्ब रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार गत वर्ष १४ वटा निर्जीवन बीमा कम्पनीले कुल ४० अर्ब २१ करोड २१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् ।

अघिल्लो वर्षको तुलनामा बीमा निर्जीवन बीमा कम्पनीको व्यवसाय सामान्य वृद्धि भएको छ । प्राधिकरणका अनुसार समीक्षा अवधिमा कम्पनीहरूले औषतमा २.६६ प्रतिशतले व्यवसायी बढाएका हुन् ।

अघिल्लो वर्षको सोही अवधिमा निर्जीवन बीमा कम्पनीले ३९ अर्ब १६ करोड ९९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । गत वर्ष कम्पनीहरूले कुल २७ लाख ९२ हजार ५१६ बीमालेख जारी गरेको प्राधिकरणले जनाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा २७ लाख ८८ हजार कुल बीमालेख जारी गरेका थिए । अर्थतन्त्रमा देखिएको असर बीमा व्यवसायमा पनि देखिएको छ । गत वर्ष जीवन बीमा कम्पनीको व्यवसाय २५ प्रतिशतले घट्दा निर्जीवनको भने सामान्य बढेको देखिन्छ ।

अर्थतन्त्रको शिथिलताले मानिसको आयस्रोत कमजोर भएको छ भने बचत र खर्च क्षमता पनि सोही अनुसार घटेको छ । जसको कारण बैंक तथा वित्तीय व्यवसाय पनि प्रभावित भएको छ । अर्थतन्त्रमा देखिएको सोही समस्याको कारण बीमा पोलिसी त्याग्ने क्रम पनि व्यापक बढेको प्राधिकरणको तथ्यांकले देखाउँछ ।

तीन कम्पनीको व्यवसाय घट्यो

गत वर्ष असार मसान्तसम्म सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनी मध्ये ३ कम्पनीको व्यवसाय घटेको छ । सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनीको १२.७१ प्रतिशतले व्यवसायमा गिरावट आएको छ । यस कम्पनीले अघिल्लो वर्ष २ अर्ब ६४ करोड कुल बीमा शुल्क संकलन गरेकोमा गत वर्ष २ अर्ब २३ करोड रुपैयाँमा सीमित भएको छ ।

दोस्रोमा सिद्धार्थ प्रिमियर कम्पनीको ६.९७ प्रतिशतले बीमा शुल्क संकलन घटेको छ । अघिल्लो वर्ष ४ अर्ब ७५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको कम्पनीले गत वर्ष ४ अर्ब ४२ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ ।

यसैगरी, लुम्बिनी र सगरमाथा मर्जर भएर बनेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सको पनि व्यवसायमा सामान्य गिरावट आएको छ । यस कम्पनीको २.२३ प्रतिशतले बीमा शुल्क घटेर ४ अर्ब ५८ करोड रुपैयाँमा सीमित भएको छ ।

शिखर पहिलो, प्रभु आक्रामक

गत वर्ष निर्जीवन बीमा कम्पनीमा सबैभन्दा धेरै शिखर इन्स्योरेन्सको व्यवसायको हिस्सा रहेको छ । यस कम्पनीले समीक्षा अवधिमा ६.१३ प्रतिशतले प्रिमियम बढाएको छ भने कुल बीमा शुल्क सबैभन्दा धेरै ५ अर्ब ३१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

व्यवसायिक रूपमा धेरै हिस्सा शिखरले ओगटे पनि प्रभु इन्स्योरेन्सले सबैभन्दा धेरै प्रिमियम बढाएको छ । अघिल्लो वर्ष १ अर्ब ३५ करोड बीमा शुल्क आर्जन गरेको यस कम्पनीले गत वर्ष २२.२० प्रतिशतले वृद्धि गरेर १ अर्ब ६५ करोड रुपैयाँ पुर्याएको छ ।

दोस्रोमा सानिमा जीआइसीले १९.४८ प्रतिशतले व्यवसाय बढाएको छ । अघिल्लो वर्ष १ अर्ब ९४ करोड बीमा शुल्क संकलन गरेकोमा गत वर्ष २ अर्ब ३२ करोड रुपैयाँ पुर्याएको छ । सगरमाथा लुम्बिनीले ४ अर्ब ५८ करोड, सिद्धार्थ प्रिमियरले ४ अर्ब ४२ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

युनाइटेड अजोड, आइजीआई प्रुडेन्सियल र हिमालयन एभरेष्टले ३/३ अर्ब रुपैयाँ बढी बीमा शुल्क संकलन गरेका छन् । नेको इन्स्योरेन्स, एनएलजी एन्स्योरेन्स, सानिमा जीआइसी र राष्ट्रिय बीमा कम्पनीले २/२ अर्ब रुपैयाँ बढी प्रिमियम संकलन गरेका छन् ।

सबैभन्दा कम बीमा शुल्क संकलन गर्नेमा नेशनल इन्स्योरेन्स कम्पनीले १ अर्ब, ओरियन्टल १ अर्ब ४९ करोड, नेपाल इन्स्योरेन्स १ अर्ब ५८ करोडर प्रभु इन्स्योरेन्सले १ अर्ब ६५ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

 

२० लाख बढीको खरिदमा सबै निकायमा विद्युतीय खरिद प्रणाली अनिवार्य Read Previous

२० लाख बढीको खरिदमा सबै निकायमा विद्युतीय खरिद प्रणाली अनिवार्य

अप्पर लोहोरे खोलाको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा Read Next

अप्पर लोहोरे खोलाको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा