काठमाडौं । २० वाणिज्य बैंकहरूको कुल सम्पत्ति (टोटल एसेस्ट) अर्थतन्त्रको आकार (जीडीपी)भन्दा १५ प्रतिशत धेरै पुगेको छ ।
वाणिज्य बैंकहरूले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार उनीहरूको कुल सम्पत्ति ६१ खर्ब ९२ अर्ब रुपैयाँ पुगेको छ । यो जीडीपीको तुलनामा ८ खर्ब रुपैयाँ बढी हो । वैशाखसम्म नेपालको कुल गार्हस्थ उत्पादनको आकार ५३ खर्ब ८१ अर्ब रहेको तथ्यांकले देखाएको छ ।
अर्थतन्त्रमा आएको संकुचनका कारण पछिल्लो १ वर्ष व्यवसाय विस्तारमा सुस्त देखिएका वाणिज्य बैंकहरूले खुद नाफा र सम्पत्ति भने उल्लेख्य रुपमा बढाउन सफल भएका छन् । पछिल्लो एक वर्षको अवधिमा मात्रै बैंकहरूले खुद नाफा २५ प्रतिशत बढाएर ७० अर्ब १७ करोड रुपैयाँ पुर्याएका छन् ।
त्यस्तै, यसै अवधिमा बैंकहरूको खुद सम्पत्ति २७.६७ प्रतिशतले बढेको छ । २०७९ असार मसान्तसम्म वाणिज्य बैंकहरूको खुद सम्पत्ति ४८ खर्ब ५० अर्ब रुपैयाँ रहेकोमा २०८० असार मसान्त आइपुग्दा बढेर ६१ खर्ब ९२ अर्ब रुपैयाँ पुगेको हो । १ वर्षको अवधिमा वाणिज्य बैंकहरूको सम्पत्ति १३ खर्ब ४२ अर्ब रुपैयाँले बढेको छ । यद्यपि, मर्जरमा गएर अस्तित्व मेटिएका बैंकहरूको समेत सम्पत्ति जोडिएको छ ।
बैंकहरूको सम्पत्तिभित्र चालु कर सम्पत्ति, बैंक तथा वित्तीय संस्था र ग्राहकलाई दिइएको ऋण, सहायक कम्पनीमा गरिएको लगानी, नेपाल राष्ट्र बैंक तथा अन्य संस्थामा रहेका नगद मौज्दात, डेरिभेटिभ उपकरण, अन्य व्यापारिक सम्पत्ति लगानी सुरक्षण पत्र, सम्पत्ति तथा उपकरण, अमूर्त सम्पत्ति, स्थगन कर सम्पत्ति र अन्य सम्पत्तिलाई गणना गरिन्छ ।
कुन बैंक सबैभन्दा धनी ?
गत असार मसान्तसम्मको विवरण अनुसार २० वटा वाणिज्य बैंकहरूमध्ये ग्लोबल आइएमई बैंक सबैभन्दा धनी देखिएको छ । चुक्ता पूँजीका आधारमा समेत सबैभन्दा ठूलो रहेको ग्लोबलको कुल सम्पत्ति ५ खर्ब २६ अर्ब रुपैयाँ रहेको छ । १ वर्षको अवधिमा ग्लोबलको सम्पत्ति ४५.७० अर्बले बढेको छ । गत वर्ष बैंक अफ काठमाण्डूलाई गाभेकाले बैंकको सम्पत्ति ह्वात्तै बढेको हो । अघिल्लो वर्ष ग्लोबलको कुल सम्पत्ति ३ खर्ब ६१ अर्ब रुपैयाँ थियो । समीक्षा अवधिमा ग्लोबलको दायित्व ४ खर्ब ६७ अर्ब रुपैयाँ छ ।
यस्तै, दोस्रो धनी बैंकमा नबिल रहेको छ । वासलतका अधिकांश सूचकमा नम्बर वान रहेको नबिलको खुद सम्पत्ति ४ खर्ब ८३ अर्ब रुपैयाँ रहेको छ । नबिलको सम्पत्ति ग्लोबलको भन्दा ४३ अर्ब कम छ । गत वर्ष ७ अर्ब ५२ करोड नाफा कमाएको नबिलको सम्पत्ति अघिल्लो वर्षको तुलनामा १५ प्रतिशतले बढेको छ । यस अवधिमा नबिलको दायित्व ४ खर्ब २४ अर्ब रुपैयाँ रहेको छ ।
तेस्रोमा, साविकको मेगा र नेपाल इन्भेष्टमेन्ट मर्ज भई बनेको नेपाल मेगा इन्भेष्टमेन्ट बैंकको सम्पत्ति ४ खर्ब ४८ अर्ब रुपैयाँ रहेको छ ।
यस्तै, चौथोमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको ३ खर्ब ९५ अर्ब रुपैयाँ छ । अघिल्लो वर्ष ३ खर्ब ३० अर्ब रुपैयाँ रहेको यस बैंकको सम्पत्ति १ वर्षको अवधिमा १९.६९ प्रतिशतले बढेको हो ।
यसैगरी, गत असार मसान्तसम्म कुमारीको ३ खर्ब ७९ अर्ब, एनआइसीको ३ खर्ब ६४ अर्ब, लक्ष्मी सनराइजको ३ खर्ब ६४ अर्ब, प्रभु बैंकको ३ खर्ब ५२ अर्ब, हिमालयन बैंकको ३ खर्ब ३४ अर्ब रुपैयाँ सम्पत्ति रहेको छ ।
यस्तै, समीक्षा अवधिमा नेपाल बैंकको सम्पत्ति २ खर्ब ९६ अर्ब, एनएमबी बैंकको २ खर्ब ८८ अर्ब, सिद्धार्थ बैंकको २ खर्ब ८६, कृषि विकास बैंकको २ खर्ब ६५ अर्ब, एभरेष्ट बैंकको २ खर्ब ५० अर्ब, प्राइम कमर्शियलको २ खर्ब २२ अर्ब, सानिमा बैंकको २ खर्ब १६ अर्ब, सिटिजन्स बैंकको १ खर्ब ९९ अर्ब, माछापुच्छ्रे बैंकको १ खर्ब ८७ अर्ब, नेपाल एसबीआईको १ खर्ब ८६ अर्ब रुपैयाँ रहेको छ ।
२० वटा वाणिज्य बैंकमध्ये सबैभन्दा कम सम्पत्ति विदेशी स्वामित्वको स्ट्यान्डर्ड चार्टर्ड बैंकको रहेको छ । असार मसान्तसम्म यस बैंकको कुल सम्पीत्त १ खर्ब ५२ अर्ब रुपैयाँ छ । समीक्षा अवधिमा चार्टर्डको सम्पत्ति २३.५७ प्रतिशतले बढेको छ ।