काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरको सेयर मूल्य समायोजन भएको छ । कम्पनीले हकप्रद प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
कम्पनीले निष्काशन गर्ने हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत अर्थात् १:१ सेयर अनुपात हकप्रद सेयरका आधारमा नेप्सेले सेयर मूल्य समायोजन गरेको हो । नेप्सेका अनुसार समायोजनपछि तामाकोशीको नयाँ सेयर मूल्य २४३.०५ रुपैयाँ कायम भएको छ ।
अब यही समायोजित मूल्यका आधारमा आइतबार कम्पनीको दोस्रो बजारमा सेयर कारोबार खुल्ने छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १० अर्ब ५९ करोड रुपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता सेयर जारी गर्ने भएको हो । हकप्रदपछि कम्पनीको चुक्ता पूँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।
कम्पनीले हकप्रद सेयर जारी गर्न रेटिङ समेत गराइसकेको छ । कम्पनीलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी आइआर बीबी असाइन्ड’ रेटिङ दिएको हो । उक्त रेटिङले कम्पनीको समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने क्षमता मध्यम जोखिम रहेका जनाउँदछ ।
कम्पनीले हकप्रद सेयर जारी गर्नका लागि नागरिक लगानी कोषलाई बिक्री प्रबन्धक र सनराइज क्यापिटललाई बिक्री सह-प्रबन्धकमा नियुक्त गरिसकेको छ ।