मुग्लिन-पोखरा सडकमा बन्ने दुई सिग्नेचर पुलको डिजाइन तयार, बर्खा लगत्तै निर्माण थालिने

सांकेतिक तस्वीर

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गतको मुग्लिन-पोखरा सडकखण्डमा निर्माण हुने दुई सिग्नेचर पुल (ब्रिज)को डिजाइन तयार भएको छ । सो सडकखण्डको मादी र सेती नदीमा निर्माण हुने सिग्नेचर पुलको डिजाइन सम्पन्न भएको हो ।

दुवै पुलको डिजाइन पूरा भई पुल महाशाखामा पेश गरिएको छ । सडक विभाग अन्तर्गतको पुल महाशाखाका सूचना अधिकारी विमलकुमार बस्नेत दुईमध्ये सेती नदीमा बन्ने पुलको डिजाइन स्वीकृत समेत भइसकेको जानकारी दिए ।

उनका अनुसार सेती नदी पुल डिजाइन एण्ड बिल्ड मोडलमा निर्माण हुन लागेको हो । उनले मादी नदीमा पुलको डिजाइन स्वीकृत हुन बाँकी रहेको बताए । उनले मादी पुलको डिजाइनमा त्रुटी भेटिएकाले सच्याउन समय लागे बताए ।

‘सेती पुलको डिजाइन स्वीकृत गरी पठाइसकेका छौं, मादी पुलको डिजाइनमा केही त्रुटी देखिएको छ । त्यसलाई सच्याउन पठाएका छौँ, त्रुटी सुधारेर डिजाइन आएपछि त्यसलाई स्वीकृत गर्छौं,’ बस्नेतले चाणक्य पोष्टसँग भने ।

यस्तै, एशियाली विकास बैंकका उपआयोजना निर्देशक विजयकुमार महत्तोले मादी खोलाको पुलको डिजाइन फाइनल करेक्सन गरी निर्माण व्यवसायीले बुझाइ सकेको बताए ।

उनले सेती नदीमा डिजाइनको स्वीकृती भए पनि निर्माण व्यवसायीले काम भने सुरू गरेको छैन । उनले वर्खाका कारण पुलको काम सुरू गर्न नसकेको बताए । बर्खा लगतै निर्माण व्यवसायीले पुल निर्माणको काम सेतीमा सुरू गर्ने बताए ।

सेती नदीमा सिग्नेचर पुलका लागि करिब १ अर्ब रुपैयाँ र मादी नदीमा सिग्नेचर पुल बनाउनलाई १ अर्ब २० करोड रुपैयाँ लागत अनुमान गरिएको उपनिर्देशक महत्तोले बताए । उनले दुवै पुलको डिजाइन स्वीकृतिका गत जेठमै पेश गरिएको बताए ।

उनले डिजाइन अनुसार एक मिटर सिग्नेचर पुल बनाउन करिब ७० लाख रुपैयाँ खर्च लाग्ने देखिएको बताए । मादी र सेती नदीमा डिजाइन एण्ड बिल्ड मोडलमा पुल बनाउन लागिएको हो ।

डिजाइन एन्ड बिल्ड मोडलमा डिजाइन गर्नेले नै ठेक्का प्राप्त गर्ने गर्छ । नेपालमा २०६६ सालदेखि नै डिजाइन एन्ड बिल्ड मोडलमा ठूला पुल निर्माण भइरहेका छन् । डिजाइनमा हुने प्राविधिक त्रुटी अन्त्य गर्न डिजाइन एन्ड बिल्ड मोडलमा उपयुक्त हुन्छ ।

सरकारी निकायले तयार गरेका डिजाइनका आधारमा ठेकेदारले पुल निर्माण गर्नुपर्ने अवस्था छ । यसले गर्दा डिजाइन र निर्माणमा एक रूपता कायम हुन नसक्दा निर्माणमा ढिलाई हुनका साथै विवाद पनि उत्पन्न हुने गरेको थियो ।

८१ किलोमिटर मुग्लिन-पोखरा सडकलाई दुई खण्डमा विभाजन गरी काम भइरहेको छ । दुवै खण्ड विस्तारको ठेक्का चिनियाँ कम्पनीले लिएको छ । पूर्वी खण्डको ठेक्का रु ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का रु ७ अर्ब ४० करोड ४६ लाखमा लागेको छ ।

४१.४५ किमी लामो पूर्वी खण्ड (मुग्लिन-जामुने)को ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ । पश्चिमखण्ड (जामुन-पोखरा) निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ । निर्माण सुरू भएको २ वर्ष बित्न लागे पनि काम भने सुस्त गतिमा भइरहेको छ । हालसम्म समग्रमा आयोजनाको करिब एकचौथाई काम पूरा भएको छ ।

हाल दुई लेनमा रहको यो सडकलाई ४ लेनमा विस्तार गर्न लागिएको हो । चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५र२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइन अनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौँडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ ।

ग्लोबल आइएमई लघुवित्तको नाफा आधा घट्यो, खराब कर्जा ३ गुणा बढ्यो Read Previous

ग्लोबल आइएमई लघुवित्तको नाफा आधा घट्यो, खराब कर्जा ३ गुणा बढ्यो

भक्तपुरको चाँगुमा छापिन्छ नक्कली नोट, मेसनसहित १५ लाख नक्कली नोट बरामद Read Next

भक्तपुरको चाँगुमा छापिन्छ नक्कली नोट, मेसनसहित १५ लाख नक्कली नोट बरामद