काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडको खुद नाफामा गिरावट आएको छ । कम्पिनीले शुक्रबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा २.४९ प्रतिशतले घटेको छ ।
गत असार मसान्तसम्म कम्पनीले २६ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६८ लाख रुपैयाँ कम हो। अघिल्लो वर्ष कम्पनीले २७ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
विद्युत बिक्री आम्दानी घटेसँगै कम्पनीको खुद नाफा पनि घटेको हो । समीक्षा अवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी ६.५३ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले विद्युत बिक्री मार्फत ७२ करोड ४४ लाख रुपैयाँ आम्दानी गरेको छ । जबकि अघिल्लो वर्षको कम्पनीले ७७ करोड ५० लाख रुपैयाँको बिजुली बिक्री गरेको थियो ।
हाल ३ अर्ब ४० करोड ९० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको अन्य इक्विटीमा ३ अर्ब ५८ करोड २८ लाख रुपैयाँ रहेको छ।
समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी भने दोब्बरले बढेर ८ करोड ४ लाख रुपैयाँ पुगेको छ । खुद नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ६० पैसा घटेर ७.८४ रुपैयाँमा सीमित भएको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ २०५.१० रुपैयाँ र मूल्य आम्दानी अनुपात ४२.१६ गुणा रहेको छ।